+
+

सोसल मिडियामा सक्रिय छ विश्वको आधाभन्दा धेरै जनसंख्या, हरेक दिन बिताइन्छ साढे २ घण्टा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:४७

विश्वमा इन्टरनेटको फैलावटसँगै सोसल मिडियाको क्रेज पनि बढिरहेको छ । पछिल्लो एक रिपोर्ट अनुसार विश्वको आधाभन्दा धेरै जनसंख्या सोसल मिडियामा सक्रिय छ । त्यसमध्ये अधिकांश मानिसले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकजस्ता सोसल मिडिया प्लाटफर्म प्रयोग गर्दछन् ।

Kepios को रिपोर्ट अनुसार यो जुलाईसम्ममा विश्वको कूल जनसंख्याको ६०.६ प्रतिशत मानिसहरुले विभिन्न खालका सोसल मिडियामा प्रयोग गर्ने गरेका छन् । गत वर्षको तुलनामा सोसल मिडिया प्रयोगकर्ताको संख्यामा ३.७ प्रतिशत बढोत्तरी भएको पनि रिपोर्टमा उल्लेख छ । यदि १८ वर्षमाथिको जनसंख्याको मात्र हिसाब गर्ने हो भने विश्वका ७८.८ प्रतिशत बालिग मानिसहरुले सोसल मिडिया चलाउने गर्दछन् ।

सो रिपोर्ट अनुसार विश्वमा सोसल मिडिया प्रयोगकर्ताको संख्या करीब ४ अर्ब ८८ करोड छ । त्यस्तै पछिल्लो एक वर्षमा थप १७ करोड ३० लाख मानिस सोसल मिडियामा जोडिएको पनि रिपोर्टले देखाएको छ ।

छिमेकी मुलुक भारतमा ५० करोड मानिस सोसल मिडियामा सक्रिय छन् । उता पूर्वी तथा मध्यअफ्रिकामा भने हरेक ११ जनामा एक जनाले सोसल मिडिया प्रयोग गर्दछन् ।

Kepios को रिपोर्ट अनुसार विश्वमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले औसतमा हरेक दिन २ घण्टा २६ मिनेट विभिन्न सामाजिक सञ्जालमै बिताउँछन् । यदि मानिस हरेक दिन ७ देखि ८ घण्टासम्म सुत्ने हिसाब गर्ने हो भने हामीले हरेक दिन आफू जागा रहँदाको समयको १५ प्रतिशत त फेसबुक लगायतका सोसल मिडिया चलाएरै बिताउने गरेका छौँ । समग्रमा विश्वमा हरेक दिन १२ अर्ब घण्टाको समय सोसल मिडिया चलाएरै बित्ने गरेको छ

सोसल मिडियामा धेरै सक्रिय रहने हिसाबले ब्राजिल सबैभन्दा अगाडि छ । ब्राजिलमा मानिसहरुले हरेक २४ घण्टामा औसतमा ३ घण्टा ४९ मिनेट सोसल मिडियामा बिताउँछन् ।

उता जापानीहरु भने सोसल मिडियामा हरेक दिन १ घण्टा भन्दापनि कम समय मात्र व्यतित गर्दछन् ।

मानिसहरुले सोसल मिडियामा बिताउने समयमा उल्लेख्य वृद्धि भएको पनि रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार मानिसहरुले धेरै समय बिताउने शीर्ष सातवटा सोसल मिडियामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका साथै टिकटक, यसको चिनियाँ संस्करण डोइन र विच्याट रहेका छन् ।

विश्वका इन्टरनेट प्रयोगकर्तामध्ये ९३.९ प्रतिशतले कुनै न कुनै सोसल मिडिया चलाउने गरेको पनि तथ्यांकले देखाएको छ । सोसल मिडिया प्रयोगकर्तामध्ये महिलाको हिस्सा ४६.४ प्रतिशत र पुरुष ५३.६प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ ।

सोसल मिडियाको इतिहास

विश्वको सबैभन्दा पहिलो सोसल मिडिया प्लाटफर्म सिक्स डिग्री हो, जुन सन् १९९७ मा सार्वजनिक भएको थियो । एन्ड्रयू वेनरिचले उक्त प्लाटफर्म स्थापना गरेका थिए । सन् २००१ मा यो प्लाटफर्मका प्रयोगकर्ताको संख्या १० लाख  भन्दा धेरै थियो । तर सोही वर्ष उक्त साइटलाई बन्द गरियो ।

पछिल्लोपटक ट्वीटरलाई टक्कर दिनका लागि मेटा कम्पनीले ल्याएको सोसल मिडिया एप थ्रेड्स सर्वाधिक चर्चामा छ । यो एपले पहिलो पाँच दिनमै १० करोड प्रयोगकर्ता पुग्ने पहिलो एप बन्दै इतिहास रचेको छ । गत जुलाई ५ मा विभिन्न १ सय देशमा थ्रेड्स लञ्च भएको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?