+
+
ब्लग :

नागरिकता निरन्तरताका संघर्षलाई सम्झँदा

नेपालसँग हाम्रो ‘नाभिसँगको नाता’ कायम राख्दै हाम्रो सन्ततिको सीप र क्षमतालाई पनि ‘पुर्खाको पौरख’ सँग जोड्ने काममा लागौं। यस अभियानमा आइपर्ने बाधा–अड्चनहरू समयको गति सँगसँगै किनारा लाग्ने नै छन्।

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०८० साउन ७ गते १४:०५

लामो प्रयासका बाबजुद पनि हामीले हाम्रो वंशजको नागरिकता निरन्तर राख्न सफल भएनौं। विदेशको नागरिकता प्राप्त गरेपछि स्वत: नेपालको नागरिकता रद्द हुने कानुन धेरै अगाडिदेखि नै थियो।

अहिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशको नागरिकता देखाउनुपर्ने व्यवस्था छ। संविधानमा यो प्रावधान व्यवस्था भएको आठ वर्ष भयो। नागरिकता सम्बन्धी विधेयक पास गर्ने प्रक्रियामा धेरै ठूला अनावश्यक संवैधानिक प्रश्न उठ्यो।

नयाँ राष्ट्रपतिले प्रमाणित गरेको विधेयक लागू नगर्नु भन्ने अल्पकालीन आदेशलाई अदालतले पुनः अन्तरिम आदेश दिन इन्कार गरेपछि नागरिकता वितरण गर्ने काम सुचारु भएको छ। यस कानुनमा मिलाउनुपर्ने अनेक विषय छन्। गैरकानुनी ढंगले नागरिकता लिन प्रयास गर्नेहरू पक्राउ परेका पनि छन्। समयसँगै ती विषयमा सम्बोधन होला नै।

हामी विदेशमा बसोबास गर्नेहरूलाई यो नयाँ कानुनले कुनै थप रोक लगाइएको छैन। संविधान अनुसार गैरआवासीय नेपाली नागरिकता पाउनेहरूले आवश्यक प्रक्रिया पूरा गरी नागरिकता लिन पाउने भएको छ। स्पष्ट रूपमा यो नागरिकता कसरी पाइन्छ भन्नको लागि नियमावली बनाउनुपर्नेछ।

अहिले हाम्रो मुख्य ध्यान कसरी सरल र सहज नियमावली बनाउन सकिन्छ सुझावहरू दिनु नै हो। तर हामी केही अभियन्ता भन्नेहरू नै यो विषयलाई अति नै आक्रामक ढंगले उठान गर्न खोजिरहेका छौं। कुन एनआरएन आधिकारिक भन्ने प्रश्नसँग मात्र होइन गणतन्त्र कि राजतन्त्र भन्ने विवादको समेत विषय बन्न पुगेको छ हाम्रो नागरिकताको निरन्तरता सवाल।

देशमा जुन व्यवस्था भए पनि विदेशमा बस्ने नेपाली मूलका नागरिकहरूको नाता नटुटोस् भन्ने यो अहम् विषयलाई अन्य कुरासँग मिसमास गर्नुहुँदैन। यो नागरिकता विधेयक प्रमाणित भएपछि नेपाललाई सिक्किम र फिजी बनाउन बाटो प्रशस्त भएको छ भन्ने अति गैरजिम्मेवार भाषा बोलेर हाम्रो समस्या समाधान हुनेवाला छैन। त्यति मात्र होइन हुण्डी मार्फत पैसा पठाउने बेला नेपाली रुपैयाँ अलि बढी आउँदा खुशी मान्ने हामीले रेमिटेन्स ठप्प गर्ने धम्कीको भाषा बोल्नु उचित हुँदैन।

अहिले सत्तामा भएको शक्तिले वा राजनीतिक दलहरूले हाम्रो वंशजको नागरिकता निरन्तर हुने संविधान निर्माण गर्न मानेनन्। दुई तिहाइ बहुमत पुर्‍याउन सकियो भने यो प्रावधान जहिले पनि परिवर्तन हुनसक्छ। अहिले देशमा नयाँ खालको राजनीतिक सुनामी आएको देखिन्छ। अर्को निर्वाचनमा बहुमत ल्याउने भनिएको छ।

स्वतन्त्र पार्टीबाट नेपालको कायापलट हुनेछ भन्ने विश्वास राख्ने साथीहरूलाई यस विषयमा पार्टीको धारणा के होला भनेर पटक–पटक प्रश्न गरेको छु तर आजसम्म जवाफ कतैबाट पनि पाइएको छैन। आजसम्म सदनभित्र वा बाहिर यसबारे कुनै छलफल उठान गरे जस्तो पनि लाग्दैन।

पुराना नेताहरूलाई हरियो पासपोर्ट हुने गैरआवासीय नेपाली संघका नेताहरूले षड्यन्त्रमा पारेर यस प्रकारको नागरिकताको व्यवस्था गरिएको हो भन्ने किटानी भाषण सुन्न पाइएको छ। यो साबित गर्नको लागि रातो पासपोर्ट बोक्ने हामीले नयाँ नेताहरूलाई यस विषयमा सहमत गराउनुपर्दछ।

दोहोरो नागरिकतालाई मान्यता नदिने देशहरूका नागरिकले अन्य देशको नागरिकता लिएपछि पुरानो नागरिकता अमान्य हुन्छ। तर हाम्रो नेपाल सरकारले संसारको कुनै पनि देशमा नभएको यस्तो कानुन निर्माण गरेर हामीलाई अनागरिक बनायो भनिरहेका छौं। यो अतिरञ्जनाले हाम्रो तर्कलाई कमजोर बनाइदिन्छ।

नेपालमा जम्मा गरेको कालो सम्पत्ति ल्याएर विदेशबाट सेतो बनाएर पठाउनेहरूको पहिचान गरेर सम्बन्धित निकायमा कानुनी रूपमा उजुरी दिने कि यिनीहरूको मिलेमतोमा हामीले वंशजको नागरिकता गुमाउन परेको भनिरहने मात्र हो ? त्यसो त हामीलाई पूर्ण नागरिक बनायो भने सबैखाले (देश बाहिर भित्र) नेताहरूको गुणगान मात्र गाएर बस्नुपर्ने हो त ?

नेपालका एक वरिष्ठ अधिवक्ताको रिपोर्टर्स क्लबको पछिल्लो विचार सुन्दा त्यसको प्रतिवाद नगरी बस्न उचित लागेन। ‘नेपालीहरूले अहिलेसम्म विदेशको नागरिकता प्राप्त गरे कानुनी रूपमा नेपालको नागरिकता खारेज भए पनि व्यावहारिक रूपमा दोहोरो नागरिकताको प्रयोग गरिरहन पाएका थिए। अब यो नयाँ संविधान कानुनले त्यसो गर्न नपाइने भयो। आफ्नो वंशजको नागरिकता बुझाएर नाममात्रको नागरिकता लिनुपर्ने भयो’, उहाँ भन्दै हुनुहुन्थ्यो।

उहाँले अन्य नेता पार्टीहरूलाई सराप्न प्रयोग गरेका भाषा त सुनिनसक्नु नै छ। हामीले धेरै वर्ष अगाडिदेखि आफूले सकेसम्म विदेशको नागरिकता लिएको भए पनि कुनै पनि कागजमा नेपालको नागरिकता प्रयोग नगरौं, पछि समस्या हुन सक्छ भन्दै आएका छौं।

उजुरी नपरेसम्म अपराध गर्नेहरूलाई कानुनको दफाले आफैं समाउने होइन। कोही पक्राउ परेपछि मैले मात्र हो र ? अरुले पनि यस्तै काम गरेका छन् भनेर सजायबाट उम्कन पाउने पनि होइन। अहिले हामीले जुन विषय उठान गरिरहेका छौं, त्यसले गैरकानुनी ढंगबाट पुरानो नागरिकता वा पासपोर्ट प्रयोग गरे पनि हुन्छ भन्ने म्यासेज जान्छ।

गत साता नेपालबाट बेलायत आउने तीन जनालाई पक्राउ गरी अध्यागमनको कस्टडीमा राखेर कारबाही गरिरहेका छन्। उनीहरूले नेपाल जाँदा र फर्किंदा दुई देशको पासपोर्ट प्रयोग गरेका थिए।

अहिले दिने भनिएको गैरआवासीय नेपाली नागरिकता लिनै पर्छ भन्ने छैन तर ‘मैले यो लिएको छैन पुरानो नै चलाइरहन्छु’ भन्यो भने कुनै समय कानुनको फन्दामा पर्नेछौं ।

दोहोरो नागरिकताको प्रावधान नभएको देशमा बसोबास गर्नेहरूले यो नागरिकता लिन पाउने वा नपाउने भन्ने बारे पनि स्पष्ट भइसकेका छैनौं। सम्बन्धित देशले यसलाई परिचयपत्रको दर्जा मात्र दियो भने लिन सकिनेछ।

हामीले अदालतमा मुद्दा गर्दा अमेरिकाको सर्वोच्च अदालतले सन् १९६७ मा Afroyim Vs Rusk को मुद्दामा गरेको एउटा फैसलालाई पनि आधार बनाएका थियौं। यो फैसलामा नागरिकहरूको इच्छा विपरीत निश्चित समयका लागि चुनिएका केही प्रतिनिधिले आफूलाई मत दिने नागरिकहरूको नागरिकता खोसिने गरी कानुन बनाउन नपाउने व्याख्या गरेको थियो। दोहोरो नागरिकताको व्यवस्था भएको देशहरूले यही नजिरलाई अवलम्बन गरेका हुन्।

यो विषयमा धेरै कानुन व्यवसायी साथीहरूसँग सर्वोच्चको प्राङ्गणमा छलफल हुँदा प्रायः सबैले नेपालमा दोहोरो नागरिकता हुन सक्दैन भन्ने भाव देखाए। हामीले उठाएको विषयमा प्रवेश नै नगरी रिट खारेज भए पनि समयको दौरानमा केही नामुद कानुन व्यवसायी साथीहरूलाई हाम्रो पक्षमा बहस गर्न मञ्जुर गराउन सक्नुलाई पनि हामीले ठूलो उपलब्धि मानेका छौं।

अहिले प्रायः सबैले तिनै साथीहरूलाई मञ्चमा बोलाएको देख्दा खुशी लाग्छ। अमेरिकामा पनि पहिला यही प्रकृतिको मुद्दा हारेका थिए। दश वर्षपछि अर्को मुद्दामा यस्तो फैसला गरेको थियो। अब हाम्रोमा पनि यो विषयले प्रवेश पाएको छ।

धेरै साथीहरू लाग्न थालेका छन्। मेरो एउटै अनुरोध, अरुलाई दोष मात्र लगाएर आफूले जस पाउन त्यति सम्भव हुँदैन। सबै विषयमा स्वार्थ र षडयन्त्र देख्ने हाम्रो नजरमा रहेको खोट हटाउन आवश्यक छ।

दोहोरो नागरिकतालाई मान्यता नदिने देशहरूका नागरिकले अन्य देशको नागरिकता लिएपछि पुरानो नागरिकता अमान्य हुन्छ। तर हाम्रो नेपाल सरकारले संसारको कुनै पनि देशमा नभएको यस्तो कानुन निर्माण गरेर हामीलाई अनागरिक बनायो भनिरहेका छौं। यो अतिरञ्जनाले हाम्रो तर्कलाई कमजोर बनाइदिन्छ।

अझ बढी रचनात्मक कामहरू गरेर नेपालसँग हाम्रो ‘नाभिसँगको नाता’ कायम राख्दै हाम्रो सन्ततिको सीप र क्षमतालाई पनि ‘पुर्खाको पौरख’ सँग जोड्ने काममा लागौं। यस अभियानमा आइपर्ने बाधा–अड्चनहरू समयको गति सँगसँगै किनारा लाग्ने नै छन् ।

हामीले हल गर्नुपर्ने अरु धेरै विषय छन्। हामीले वंशजको नागरिकता निरन्तर भनिरहँदा कति संख्याको सरोकारको विषय हो त्यो पनि मध्यनजर राख्न आवश्यक छ। कति नेपाली विदेशमा छन् भन्नेसम्म तथ्यांक नभएको अवस्थामा कतिले दोहोरो नागरिकता पाउने देशको नागरिकता लिएका छन् भन्ने संख्या पत्ता लगाउन त्यति सहज छैन।

त्यसमा पनि हामी अरुभन्दा फरक भएकोले विशेष व्यवस्था गरिनुपर्छ भन्नेहरू पनि छौं। हिजो पनि उनीहरू आफूलाई गैरआवासीय नेपालीको परिभाषाभित्र परेकोमा खेद प्रकट गर्दथे। संसारभर फैलिएको संस्थाले एउटा विषयमा मात्र केन्द्रित रहनु उपयुक्त र तर्कसंगत पनि हुँदैन। प्रत्येक देश वा क्षेत्रमा फरक फरक समस्या छन्।

गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै दोहोरो नागरिकताको मात्र चर्चा चलाउनु अभियानको दृष्टिले पनि सही ठहरिंदैन। संस्थाभित्र विगत केही समयदेखि अलि ठूला खालका मतभेदहरू भएका छन्। सहकार्यका प्रयासहरू भएका छन् तर हाम्रा व्यक्तिगत सीमाका कारण त्यति प्रभावकारी बन्न सकेका छैनन्। यो विषयलाई निरन्तर रूपमा हामी सबैले सबैतिर उठाइरहनु भने अति आवश्यक छ।

नागरिकताको त के कुरा गैरआवासीय नेपालीसम्म हैसियत नपाएका अमेरिका लगायत अन्य देशमा बसोबास गर्ने भुटानी शरणार्थीको पीडाले पनि अलिकति छुनुपर्छ होला हामीलाई।

तीन पुस्ता भन्दा अगाडिदेखि विदेशमा बसेका नेपालीको पनि नेपालसँग कति गाढा सम्बन्ध रहेछ भन्ने यथार्थता नेपालमा संचालित अहिलेसम्मकै सबैभन्दा ठूलो रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सले प्रमाणित गरेको छ।

हामी बीस वर्षसम्म अभियान चलाउँदा पनि सधैं नपुग भएको मागमा मात्र केन्द्रित भइरहेका छौं। त्यसैले देशमा बस्नेहरूले हामीलाई बैगुनी पनि भन्ने गरेको सुनिन्छ। एउटा सानो समूहले आयोजना गरेको यस्तो प्रभावकारी कार्यक्रमले हाम्रो माग पूरा गर्न अवश्य पनि साथ पुग्छ।

अझ बढी रचनात्मक कामहरू गरेर नेपालसँग हाम्रो ‘नाभिसँगको नाता’ कायम राख्दै हाम्रो सन्ततिको सीप र क्षमतालाई पनि ‘पुर्खाको पौरख’ सँग जोड्ने काममा लागौं। यस अभियानमा आइपर्ने बाधा–अड्चनहरू समयको गति सँगसँगै किनारा लाग्ने नै छन् ।

लेखकको बारेमा
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दि’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?