
काठमाडौं । मिस नेपाल नर्थ अमेरिका-२०२३ को उपाधि जुवली शेर्पाले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनले १७ प्रतिस्पर्धीलाई पछि पारिन् ।
रजिना बाँस्तोला पहिलो उपविजेता र ईशा सुवेदी द्वतीय उपविजेता घोषित भए । यो प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका सुन्दरीले सहभागिता जनाएका थिए ।
न्युयोर्कको प्रसिद्ध मेलरोज बलरुममा आयोजित फिनालेमा नेपाली सेलिब्रिटीको पनि उपस्थिति थियो । ‘अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाको सशक्तीकरण’ नारा दिइएको कार्यक्रमलाई ड्रिम्स युनिभर्सल एलएलसीले आयोजना गरेको हो ।
‘कार्यक्रमको सफलतालाई लिएर उत्साहित छौं,’ मिस नेपाल नर्थ अमेरिकाका आयोजक प्रमुख शैलेश श्रेष्ठले भने । फिनालेमा सहभागी हुन नेपालबाट मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज कर्णिकार, अभिनेत्री प्रियंका कार्की तथा उनका श्रीमान आयुष्मान जोशी, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ लगायत न्युयोर्क पुगेका थिए ।
उनीहरुसहित ११ जनाले फिनालेमा निर्णायकको भूमिका समेत निर्वाह गरे । विजेताले मिस नेपाल २०२४ को प्रतिस्पर्धामा सीधै प्रतिस्पर्धा गर्न पाउनेछिन् । यसबारे यसअघि ड्रिम्स युनिभर्सल एलएलसी र हिडन ट्रेजरबीच सम्झौता भइसकेको छ । सोहीअनुसार शेर्पा आगामी मिस नेपाल प्रतिस्पर्धामा छानिने पहिलो प्रतिस्पर्धी समेत बनेकी छन् ।
प्रतिक्रिया 4