+
+

विप्लवको महाविचलन

उग्रवामपन्थी नारा दिंदै कार्यकर्ता उत्तेजित गराउँदै आएका विप्लवले एकाएक मार्क्सवादको चुरो मानिएको द्वन्द्वात्मक भौतिकवादको काम छैन भन्दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते ९:१३

९ साउन, काठमाडौं । ‘द्वन्द्वात्मक भौतिकवाद अपुरो भइसक्यो, यसले समाजवाद दियो तर रक्षा गर्न सकेन । यो आर्थिक प्रश्न मात्रै होइन, दार्शनिक प्रश्न पनि हो । यो राजनीतिक मामिला मात्रै होइन, कम्युनिस्ट आन्दोलनमा आएको दर्शनको समस्या हो ।’

यो भनाइ हो नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको । पुष्पलाल स्मृति दिवसका दिन आइतबार नेपाल एकेडेमीमा बोल्ने क्रममा उनले यी शब्दहरु राखेका हुन् ।

आफ्नै नवीन निष्कर्षसँग  अझ उत्साहित हुँदै उनी भन्छन्,  ‘द्वन्द्वात्मक भौतिकवादको कुनै नियम काम लाग्दैन । त्यो एकमा दुई विभाजन भन्ने नियम पनि काम लाग्दैन । निषेधको निषेध भन्ने नियम पनि काम लाग्दैन । समाजले त्यसलाई अस्वीकार गरिसक्यो र … ।’

सही गलतको विवेचना छुट्टै कुरा हो तर कम्युनिज्मको कखरा मात्रै पढेकाले पनि बुझेका छन्, द्वन्द्वात्मक भौतिकवाद भनेको मार्क्सवादको चुरो कुरो हो । यो छ त मार्क्सवाद छ, यो छैन त मार्क्सवाद छैन ।

माओवादीका वैचारिक गुरु भनेर चिनिएका नेता मोहन वैद्य किरणको विचारमा मार्क्सवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो ।

एकीकृत जनक्रान्तिको नारा दिएर विद्रोहमा उत्रिएका विप्लव पछिल्लो समय समाजवादी मोर्चा हुँदै शान्तिपूर्ण राजनीतिलाई रफ्तार दिन खोजिरहेका छन् । कुनैबेला प्रचण्ड संशोधनवादी भासमा जान थालेको आरोप लगाउँदै उनले ‘महापतन’ पुस्तक नै लेखे ।

उक्त पुस्तकको सार हो- ‘हिजो प्रचण्ड-बाबुरामले क्रान्तिका नाममा थालनी गरेको जनयुद्धमा त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे आखिर उनीहरूकै सामु आत्मसमर्पण गरे र वैचारिक-राजनीतिक रूपमा पतन भए ।’

माओवादीका शीर्ष नेताहरुको यही राजनीतिक बदलावलाई उनले ‘महापतन’को नाम दिए ।

पुस्तकमा उनले लेखेका छन्, ‘प्रचण्ड आफ्नो विचलनको पराकाष्ठामा पुगेर एमालेसँग एकता गरेर जीवन धान्नेमा पुगेका छन् ।’  हिजो प्रचण्डविरुद्ध यति कडा अभिव्यक्ति दिएका विप्लव आजकल प्रचण्डको प्रसंशामा समय बिताइरहेका छन् ।

यतिसम्म कि उनी पार्टी कार्यालयमा कम्युनिष्ट नामको बोर्ड झुन्ड्याएर द्वन्द्वात्मक भौतिकवाद काम छैन भन्ने अवस्थामा आइपुगेका छन् । यससँगै उनीमाथि प्रश्न उठेको छ, ‘कतै विप्लव पनि हिजो अरूमाथि प्रश्न उठाएजस्तै जीवन धान्न यतिधेरै सैद्धान्तिक क्रमभंग त गरिरहेका छैनन् ।’ कम्युनिष्टहरूकै भाषाशैली सापट लिएर भन्दा यति ठूलो विचलन विप्लवमा किन देखापरिरहेको छ भन्ने प्रश्न जन्मिएको छ ।

वैचारिक ‘टाटपल्टाइ’ 

राजनीतिक विश्लेषक झलक सुवेदी विप्लवको यो भनाइलाई वैचारिक टाट पल्टाइको संज्ञा दिन्छन् । ‘समाजवाद केवल राजनीतिक आर्थिक व्यवस्था मात्रै नभई ऐतिहासिक सांस्कृतिक धारणा पनि हो,’ उनी भन्छन्, ‘उत्पादन सम्बन्ध, साधन आदिका सैद्धान्तिक प्रस्तावनालाई अस्वीकार गर्ने गरी विप्लवले बोल्नु अनौठो छ, यो विप्लवको वैचारिक टाट पल्टाइ हो ।’

हुन पनि विप्वल कहिल्यै थिरमा देखिंदैनन् । आफ्नो राजनीतिक करिअरमा उनी उग्रवादी कम्युनिष्ट प्रतीत हुन्छन् । साम्यवादी बाटोमा पार्टी गएन भनेर पुनः हिंसात्मक विद्रोह सुरु गरेका विप्लवमा मनोवैज्ञानिक अधीरता देख्छन् राजनीतिक विश्लेषक डम्बर खतिवडा ।

‘विप्लव कुनै वैचारिक स्थिरता नभएको जस्ता देखिन्छन्’ उनी भन्छन्, ‘वास्तवमा द्वन्द्वात्मक भौतिकवाद नमान्नेहरू साम्यवादी मार्क्सवादीहरू हुन सक्दैनन् । साम्यवादको विचार मार्क्सभन्दा बाहिर गएर लागू गर्ने भन्ने हुँदैन ।’

खतिवडाको विचारमा अर्को प्रचण्ड बन्ने रहरमा विप्लव मार्क्सकै शब्दमा प्रहसनका रूपमा देखिएका छन् । कार्ल मार्क्स इतिहासको पुनरावृत्तिको कुरा गर्थे । उनका अनुसार इतिहासको पहिलो आवृत्ति त्रासदी हो भने पुनरावृत्ति चाहिँ प्रहसन हो।

‘विप्लवले अर्को प्रचण्ड हुने रहर गरे । प्रचण्ड ट्राजेडी भए भने विप्लव चाहिं प्रहसन बने,’ खतिवडा भन्छन् ।

महाविचलन

क्रान्तिमा धेरै मानिसहरूलाई आन्दोलनले तानेर ल्याएको हुन्छ । आन्दोलन सँगसँगै समाजमा उनीहरूको व्यक्तित्व र प्रभुत्व पनि निर्माण हुन्छ ।

त्यसको अर्थ आन्दोलनमा सहभागी सबै मानिस चिन्तक, विचारक र देशको लागि केही गरौं भन्ने दीर्घकालीन दृष्टिकोण भएका वास्तविक योद्धा हुन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

राजनीतिक यात्राका क्रममा आइपर्ने नयाँ जटिलता र अप्ठ्यारामा उनीहरूले के गर्ने भन्ने निर्णय गर्न सक्दैनन् । नतिजा यस्तै रिंगटा लाग्ने अस्थिरता र असंगति हात लाग्छ ।

विप्लवले महापतन माओवादीबाट विद्रोह गरेर नयाँ पार्टी बनाएको ४ वर्षपछि लेखेका थिए । उनको व्यवहारले भनेजस्तै पुस्तकको पनि सार हो- जनयुद्धलाई प्रचण्ड-बाबुरामले घात गरेको पुष्टि गर्नु ।

पुस्तकमा वैचारिक लेखनको भाषाशैली बिर्सिएर आवेग र आक्रोशात्मक भाषाशैली प्रयोग गरिएका छन् । उनको प्रश्न छ, ‘यदि प्रचण्ड-बाबुरामको विगत तर्कलाई हेर्ने हो भने आजको साम्राज्यवाद देखेर अलिकति पिसाब बाबुराम-प्रचण्डले पनि कट्टुमा तुर्क्याएका हुन् त ?’

यतिधेरै आवेग र उग्रतासहित प्रचण्डलाई दक्षिणपन्थी संशोधनवादी करार गरेर साम्यवादी कम्युनिष्ट क्रान्तिको सपना देखाउने क्रममा झण्डै एक दर्जन नेपाली नागरिकको ज्यान गयो । जनधनको त्यत्तिकै क्षति भयो ।

अहिले आएर द्वन्द्वात्मक भौतिकवाद नै बेकार भनेर सार्वजनिक अभिव्यक्ति दिने ठाउँमा विप्लव आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?