+
+

भारतले भियतनामलाई दियो युद्धपोत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १०:२०

९ साउन, काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ ।

गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो ।

भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत हस्तान्तरणको प्रक्रिया पूरा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भारतका नेभी प्रमुख एडमिरल आर हरि कुमारले भारतको इतिहासमै पहिलोपटक लडाकु जहाज कुनै मित्र देशलाई दिइएको यो क्षण ऐतिहासिक भएको बताए ।

उनले भारतीय नौसेनाको सबैभन्दा राम्रो र सबैभन्दा लामो समयसम्म सेवा दिएको युद्धपोतमध्येको एक कृपाण भियतनाम पिपुल्स नेभीलाई हस्तान्तरण समारोहमा सहभागी हुन पाउनु आफ्नो लागि पनि निकै सम्मानको विषय भएको बताए ।

आईएनएस कृपाणको विशेषता के छ ?

आईएनएस कृपाण भारतमै बनेको युद्धपोत हो । यसबाट मिसाइल प्रहार गर्न सकिन्छ । यसलाई सन् १९९१ मा भारतको सामुदि्रक सेना -नौसेना)मा सामेल गरिएको थियो । यो भारतीय नौसेनाको इस्टर्न फि्लटको एक महत्वपूर्ण हिस्साको रुपमा रह्यो ।

३२ वर्षको सेवा पछि यसलाई हटाइयो र भियतनाम सेनालाई हतियारसहित हस्तान्तरण गरियो ।

यो युद्धयोतमा १२ अधिकारीहरुसहित १०० सैनिकले काम गर्दै आएका थिए । ९० मिटर लामो र १०.४५ मिटर चौडाइको यो युद्धपोत सबै हातहतियारसहित १ हजार ४५० टन वजनको छ ।

चीनसँग जोड्नु कति उचित ?

चीन र भियतनामबीच समुद्री सिमानाको विवाद कायम छ । चीन र भारतबीच पनि सीमा समस्या लगायतका कारण राम्रो सम्बन्ध छैन । अर्कोतर्फ भारतले भियतनामलाई पटक-पटक रक्षा सहयोग उपलब्ध गराउँदै आएको छ ।

भारत र भियतनाम दुवैको आ-आफ्ना छिमेकी देशसँग जटिल समीकरण छ । भियतनामसँग कुनै देशको सैन्य साझेदारीलाई चीनले दक्षिण चीन सागरमा आफ्नो सम्प्रभूताको दाबीविरुद्धको कदम ठान्दछ । यस्तो पृष्ठभूमिमा आईएनएस कृपाण युद्धपोत भारतले भियतनामलाई दिनुलाई कतिपयले चीनविरुद्ध भारतको रणनीतिक कदम भन्ने गरेका छन् ।

विदेश मामिलाका जानकार रबिन्दर सचदेवाका अनुसार भारतले भियतनामलाई युद्धपोत दिनु दुई देशबीचको सम्बन्धमा ठूलो कदम हो । किनभने चीनसँग दुवै देशको सम्बन्ध राम्रो छैन । दक्षिण चीन सागरमा दुवै देशको स्वार्थ जोडिएको छ । त्यसैले यसलाई चीनसँग जोडेर हेर्दा गलत हुँदैन ।

यद्यपि भारतले धेरै पटक भन्दै आएको छ कि भारत-भियतनाम रक्षा सहयोगको चीन नीतिसँग कुनै लेनादेना छैन ।

भियतनाम आसियान (दक्षिणपूर्व एशियाली देशहरुको संगठन)को एक महत्वपूर्ण सदस्य हो र दक्षिण चीन सागर क्षेत्रमा चीनसँग यसको विवाद छ । भारतले दक्षिण चीन सागरको भियतनामी जल क्षेत्रमा तेल खोज्ने परियोजना चलाइरहेको छ ।

भारत र भियतनाम पछिल्लो केही वर्षयता साझा हित रक्षाका लागि समुद्री सुरक्षा सहयोग बढाइरहेका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जुलाई २००७ मा भियतनामका तत्कालीन प्रधानमन्त्री गुयेन ट्यान डंगले भारत भ्रमणको क्रममा दुवै देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको स्तरसम्म बढेको थियो ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भियतनाम भ्रमणको क्रममा द्वीपक्षीय सम्बन्ध व्यापक रणनीतिक साझेदारीसम्म बढेको थियो । त्यसपछि भियतनाम भारतको एक्ट इस्ट नीति र इन्डो प्यासिफिक भिजनको एक महत्वपूर्ण साझेदार बन्यो । र, केबल भारत मात्र नभई अन्य देश पनि भियतनामसँग सम्बन्ध सुमधुर बनाउन कोसिसमा छन् ।

विदेश मामिलाका जानकार रविन्दर सचदेव भन्छन्- यहाँसम्म कि विगतमा भियतनामसँग सम्बन्ध बिगि्रएको अमेरिका पनि अब नजिकिने कोसिसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?