+
+

बाढीले बगाएको ६ वर्षपछि बन्यो लोहन्द्रा खोलामा पुल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते २०:०२

९ साउन, विराटनगर । बाढीले बगाएको ६ वर्षपछि मोरङमा लोहन्द्रा खोलामा पुल बनेको छ । २९ साउन २०७४ मा आएको बाढीले सुनसरी-मोरङ सिँचाइ आयोजनाको लोहन्द्रा खोलामा रहेको साइफनसहितको (पुलमुनिबाट पानी पठाउने) पुल बगाएको थियो ।

६ वर्षपछि बनेको सो पुलको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका छन् ।

आयोजनाको पुल र साइफन बाढीले बगाउँदा लोहन्द्रा खोलादेखि पूर्वतर्फको १० हजार हेक्टर जमिन सिँचाइविहीन भएको थियो । पुल निर्माणपछि सो क्षेत्रका बासिन्दाले सिँचाइ र यातायातको सहज सुविधा पाउने मन्त्री मोदीले बताए ।

१५३ मिटर लामो उक्त पुल निर्माणका लागि ४७ करोड २५ लाख  बजेट विनियोजन भएको थियो । २०७५-७६  मा आशिष, स्वामी नारायण र आशिर्वाद जेभीले ३४ करोड ९ लाख रुपैयाँमा साइफनसहितको पुल निर्माण सम्पन्न गरेको सुनसरी-मोरङ सिँचाइ आयोजनाका निर्देशक भीलानन्द यादवले जानकारी दिए । २०८० भदौसम्म निर्माण सम्पन्न हुनुपर्ने पुल केही समयअघि नै निर्माण सम्पन्न भएको हो ।

यसअघि बगेको पुल एक लेनको थियो भने अहिले दुई लेनको बनेको छ । यादवका अनुसार पुलमुनिको साइफनको निर्माण भने गत वर्ष नै सकिएको थियो । पुलले बेलबारी, कानेपोखरीलगायत क्षेत्रमा  मानिसलाई यातायात सहज हुनेछ ।

सुनसरी मोरङ सिचाई आयोजनाले ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । तर पछिल्लो समय भने नहरको इन्टेकबाट पानी नै कम आएका कारण सिँचाइ सहज नभएको निर्देशक यादवले बताए  ।

‘वर्खामा त क्षमता अनुसार नै पानी आइरहेको छ, तर हिउँदमा  कोशीमा नै पानी थोरै भएकाले नहरमा आवश्यकता  अनुसार आउँदैन’, उनले भने, ‘कोशी पश्चिमतर्फ बढी सोझिएकाले इन्टेकबाट  पानी कम आउछ ।’

नेपाल-भारतबीच सन १९५४ मा कोशी सम्झौता भएपछि भारतले सन् १९६४ मा चतरामा इन्टेक बनाएर सुनसरी मोरङ सिँचाइ आयोजनाको निर्माण सुरु गरेको थियो । सन् १९७० मा निर्माण सम्पन्न भएपछि नहर सञ्चालनमा आएको थियो ।

पाँच वर्ष भारत आफैंले सञ्चालन गरेको यो नहर सन् १९७५ मा मात्रै नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

५३ किलोमिटर लामो नहरले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा दिएको थियो । पछिल्लो समय खेतीयोग्य जमिन घटेका कारण लाभान्वित क्षेत्र पनि घटेको आयोजनाले जनाएको छ ।

वाचा पूरा गरे : मन्त्री मोदी  

पुल उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले गरेको वाचा पूरा गरेको बताएका छन् । पुल निर्माणस्थल मोदीले चुनाव जितेको मोरङ क्षेत्र नम्बर ४ मा पर्छ । उनी सो क्षेत्रबाट २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

‘अघिल्लो पटक म भोट माग्न आउँदा जनताको माग पुल निर्माण गर्नुपर्ने थियो, जितेपछि बजेट व्यवस्थापन गरेर पुल निर्माणको वातावरण बनाए’, मोदीले भने, ‘पुल उद्घाटन भएपछि जनतालाई धेरै  सहज भयो ।’

उनले जीर्ण बन्दै गएको सुनसरी मोरङ सिँचाइ आयोजनाको संरचना पुनर्निर्माणका लागि आफूले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?