+
+

फिल्म ‘बार्बी’लाई लिएर विश्व विभाजित, रुस र इस्लामिक देशले लगाए प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १३:१९

काठमाडौं । निर्देशक ग्रेटा गरविग निर्देशित हलिउड फिल्म बार्बीको चर्चा यतिबेला संसारभर छ । नेपालमा समेत यसले राम्रो कमाइ गरिरहेको छ । अमेरिका, चीन, भारत, बेलायतजस्ता ठूला अन्तर्राष्ट्रिय बजारमा सिनेमा हलहरु हाउसफुल छन् ।

यस्तोमा विरोध चर्किएपछि दक्षिण एसियाली मुलुक पाकिस्तानले भने यो हलिउड फिल्मको प्रदर्शनमा रोक लगाएको छ । संसारभर प्रशंसा कमाइरहेको फिल्मलाई पाकिस्तानी अधिकारीले भने अर्को निर्णय नभएसम्म रोक्ने निधो गरेका छन् ।

रिपोर्टका अनुसार फिल्ममा समावेश एलजीबीटीआईक्यू समुदायको थिमलाई ध्यानमा राखेर पाकिस्तानले फिल्ममा रोक लगाएको हो । सुरुमा पाकिस्तानी राज्य पञ्जाबले केही दृश्यमा आपत्ति जनाउँदै फिल्मलाई अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सेन्सर बोर्डले पुनः फिल्म हेरेर आपत्तिजनक सामग्री फिल्मबाट हटाएपछि प्रतिबन्ध हट्ने जनाइएको छ । सेन्सर बोर्डले पुनः मूल्यांकन गरेपछि फिल्मको प्रदर्शन मिति तय गरिने उल्लेख छ ।

‘बार्बी’को प्रदर्शन रोक्ने पाकिस्तान एक्लो मुलुक होइन । यूएई, इजिप्ट, कतार, इरान र साउदी अरबले पनि फिल्मको प्रदर्शनमा रोक लगाइसकेका छन् । किनभने इस्लामिक देशहरुमा एलजीबीटीआईक्यूको विषयवस्तुलाई त्यति उत्साहको साथ हेरिंदैन । लैंगिक अल्पसंख्यकको कथामा बनेका यस्ता फिल्महरु यी मुलुकमा यसअघि पनि रोकिएका छन् ।

या त उनीहरुलाई प्रतिबन्ध लगाइन्छ या त धेरै ठाउँमा कैंची चलाइन्छ । केही मुलुकले बार्बीमाथि कैंची चलाएका छन् । इरान, रुस, भियतनाम र फिलिपिन्समा प्रदर्शनमै रोक लगाइएको छ ।

रुसमा प्रतिबन्ध यसकारण

हलिउडको ठूलो बजार मानिने रुसले भने ‘बार्बी’माथि रोक लगाउनुको कारण अर्कै छ । यो फिल्मले रुसी बजारमा अस्थायी प्रतिबन्धको सामना गरेको छ । किनभने यो फिल्मले बच्चामा उपभोक्तावादी मनोवृत्तिलाई बढावा दिने रुसी सरकारको आरोप छ । यसैबीच, भियतनाम र फिलिपिन्सले विवादित नक्सा नाइस ड्यास लाइनको चित्रणको कारणले यसलाई प्रतिबन्ध लगाएका छन् ।

यी दुई मुलुकले उक्त नक्सामार्फत चीनले पूर्वी प्रशान्त महासागरमा आफ्नो सार्वभौमसत्ताको उल्लंघन गरेको दाबी गरेका छन्, किनभने यस रेखाको चित्रणले दक्षिण चीन सागरमा चीनको दाबीलाई बलियो बनाउँछ, जसमा यी मुलुकहरुले चीनको दाबीलाई ठाडै अस्वीकार गरेका छन् । फिल्मले अधिकांश समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?