+
+

एलओडी क्लब प्रकरणमा कर्मचारीविरुद्ध मुद्दा, सञ्चालकलाई उन्मुक्ति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १५:४५

१० साउन, काठमाडौं । ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई, कर्मचारी सपना ढुंगाना र प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठविरुद्ध बालबालिकाविरुद्धको कसूरमा मुद्दा दर्ता भएको हो ।

उनीहरुमध्ये सेढाईँ र ढुंगाना प्रहरी हिरासतमा छन् । श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा लगिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले गरेको जबरजस्ती करणीसम्बन्धी अनुसन्धानका क्रममा क्लबमा नाबालिगलाई प्रवेश गराएको खुलेपछि प्रहरीले दुई सञ्चालकलाई पक्राउ गरेको थियो ।

एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेर काठमाडौं प्रहरीको जिम्मा लगाएको थियो । तर, सरकारी वकिलले घटना भएका बेला क्लबमा उनीहरुको उपस्थिति नदेखिएको भन्दै थुनामुक्त गरिदिएको थियो ।

रुदिल र सुवाल दुवैले आफूहरु त्यसबेला क्लबमा नभएको भन्दै इन्ट्रान्स गेटमा खटिएका कर्मचारी सेढाईँ र ढुंगानालाई पीडित र उनकी साथीले झुक्याएर कसरी प्रवेश गरे भन्ने सम्बन्धित कर्मचारीबाटै बुझिपाउँ भन्दै बयान दिएका थिए । त्यसपछि काठमाडौं प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको थियो ।

रुदिलले बयानमा आफ्नो क्लब राति ८ बजेदेखि सुरु भएर बिहान ३÷४ बजेसम्म सञ्चालन हुने भन्दै क्लबमा सेवाग्राहीले आएर सुरुमा काउन्टर अगाडि परिचय पत्र देखाएर मात्र प्रवेश गराउने गरेको बताएका छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, ३१ जेठमा बिहान ३ बजे ललितपुर–४ स्थित डेरामा १५ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । त्यसबारे अनुसन्धानका गर्ने क्रममा उनलाई एलओडी क्लबबाट त्यहाँसम्म ल्याएर बलात्कार गरेको खुलेको थियो ।

त्यसक्रममा उनको उमेर १५ वर्ष ११ महिना ४ दिन देखिएपछि ललितपुर प्रहरीले नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा सञ्चालकमाथि पनि अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?