+
+

विश्वविद्यालयको शैक्षिक क्यालेण्डर नहुँदा उच्च शिक्षामा समस्या : पूर्वमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १९:३७

१० साउन, काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुलाई शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा उच्च शिक्षामा समस्या देखिएको बताएका छन् ।

नेपालमा कसरी विद्यार्थी टिकाउने भन्ने विषयमा बुधबार आयोजित छलफलमा उनले विश्वविद्यालयहरुले शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा उच्च शिक्षामा समस्या देखिएको जिकिर गरे ।

‘राजनीतिक दलहरुको कारण आंशिक रुपमा बिग्रिएको हो तर कति विश्वविद्यालयले शैक्षिक क्यालेन्डर लागू गर्न सक्नुभएको छ ? त्यो नसक्दा विद्यार्थीमा कस्तो असर परिरहेको छ त्यसमा ध्यान दिनुहोस् ।’

विश्वविद्यालयले सिनेटले निर्णय गर्नुपर्ने पाठ्यक्रम परिवर्तन, परीक्षा प्रणाली सुधार जस्ता कामहरु नियमित हुुन नसकेको पूर्वमन्त्री पौडेलले बताए । विश्वविद्यालयको पढाइ सुधार भए मात्र विद्यालयको पढाइ सुधार हुने पनि उनले बताए । ‘जब विश्वविद्यालयले गुणस्तर जनशक्ति उत्पादन गर्छ तब विद्यालय तहका विद्यार्थीले गुणस्तर शिक्षा पाउँछन्’, उनले भने ।

काठमाडौं विश्वविद्यालयका रजिष्टार डा. अच्युत वाग्लेले विश्वविद्यालयबाट उत्पादित जनशक्तिले राम्रो रोजगारी पाउन नसकेको बताए । त्यही कारण नेपालमा विद्यार्थी टिकाउन नसकेको भनाइ छ । ‘राजनीतिक नेतृत्वले उच्च शिक्षा नीतिमा काम गर्नुपर्छ । नीति बनाउँदा मेरो लागि पनि हो भनेर ध्यानमा राखेर बनाउनुपर्छ’, उनले भने ।

नेपालबाट वैदेशिक अध्ययनमा जाने विद्यार्थीको पनि अध्ययन गर्नुपर्ने उनले बताए । ‘अध्ययनका लागि भनेर एनओसी लिएर गएका कत्ति प्रतिशतले अध्ययन पूरा गरे भनेर राज्यले अध्ययन गर्नुपर्छ’, उनले भने ।

नेपाल विश्वविद्यालयका संस्थापक सदस्य तथा पूर्वाधारविद डा. सुर्यराज आचार्यले नेपालको शिक्षा क्षेत्र सुधार गर्नको लागि निर्मम भएर काम गर्नुपर्ने बताए । त्रिविमा राजनीतिको आडमा प्राध्यापन गरिरहेकाहरुको योग्यता, क्षमता मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । ‘विश्वविद्यालयको पदाधिकारी मात्रै खुल्ला प्रतिस्पर्धाबाट लिएर हुँदैन । त्यहाँ कार्यरत प्राध्यापकहरु कत्ति दक्ष छन भन्ने मुख्य कुरा हो । निर्मम भएर सुधार गर्नुपर्छ’ उनले भने ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले निजी क्षेत्रको प्रयासले भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, नैनीताल पढ्न जाने विद्यार्थीलाई रोक्न सफल भएको बताए । ‘अहिले पनि प्राविधिक तर्फको शिक्षा लिन भारतमा अध्ययन गर्न जाने छन् तर हिजो जस्तो सामान्य शिक्षा लिनकै लागि दार्जिलिङ, सिक्किम, कालेम्पोङ जाने क्रम भने रोकिएको छ’ उनले भने ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले चिकित्सा शिक्षामा भने गुणस्तर कायम गर्न सकेको बताए । ‘चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाहरु निजी भन्दा सरकारी संस्थाहरु राम्रा छन् । सरकारी नपाए मात्रै निजीमा जाने विद्यार्थीको संख्या बढ्दो छ ।’

सांसद बद्री पाण्डेले राजनीतिक, शैक्षिक नेतृत्वले कमाण्ड गुमाएका कारण शिक्षा क्षेत्रमा समस्या देखिएको बताए । तर अहिले वैदेशिक अध्ययनमा गएकाको भन्दा यहाँ अध्ययनरत विद्यार्थीबारे सोच्नुपर्ने बताए । उनले भने ‘बाहिर गएकाको भन्दा यहाँ भएकाको चिन्ता गरौं । यहाँ भएकाहरुले कस्तो शिक्षा पाइरहेका छन् उनीहरुको समस्या के छन् भन्नेमा चिन्तित हौं ।’

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले भने विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर अनुसार नियमित सञ्चालन विद्यार्थीको संख्या बढाइरहेको दाबी गरे ।

त्रिवि शिक्षा संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकीले त्रिविको समस्या समाधान नभएसम्म वैदेशिक अध्ययनमा जाने विद्यार्थी रोक्न नसकिने बताए । ‘वैदेशिक अध्ययनमा जानबाट रोक्नको लागि त्रिविको समस्या समाधान हुनुपर्छ । परीक्षा प्रणाली सुधार, राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्छ तर त्यो कसले गर्ने हो, कसलाई भन्ने हो थाहा छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?