+
+
गफ स्टेसनमा गायक शिव परियार :

‘म्युजिक भिडियोमा ५ लाख लिनेले ५० लाखको बिजनेस दिन सक्नुपर्छ’

खेम रिसाल खेम रिसाल
२०८० साउन ११ गते २०:३०

काठमाडौं । नेपाली संगीतमा शिव परियारको खास शैली छ । हुन त उनी ‘भर्सटाइल’ गायक हुन् । तर पनि उनको आफ्नो छुट्टै ‘शिव परियार जनरा’ छ । अर्थात् शास्त्रीय संगीत मिश्रित सुगम संगीत ।

‘फेवातालमा साँइली’ जस्तो लोक-आधुनिक शैलीको गीतबाट नेपाली सांगीतिक आकाशमा स्थापित भएका शिवले त्यसयता धेरैचोटि मरें म त, अलिकति नजर तिम्रो, कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ जस्ता शास्त्रीय शैलीका हुँदै क्या दामी भो, पिलायो साथीलेदेखि धोकेवाजसम्म हरेक शैलीका गीतमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।

अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा शिवले नेपाली संगीत, सेलिब्रिटीका सफलता र दु:ख, समाज र राजनीतिका विषयमा खुलेर कुराकानी गरे ।

भर्खरै मात्र आफ्नो १३ औं सांगीतिक एल्बम ‘तिमी र म’मा समावेश ‘तिमी हौ सबथोक मेरो’ श्रोता-दर्शकमाझ ल्याएका शिव यो गीतपछि आफू आफ्नो जनरामा फर्किएको सुनाउँछन् । ‘१२ वर्षअघि एल्बम वन्ली यु मेरो साथी निकालेको थिएँ । त्यसमा मेरो गायनका साथै एकल संगीत थियो, भीमा गुरुङको एकल शब्द,’ उनी सुनाउँछन्, ‘त्यसपछिका दिनमा म व्यावसायिक संगीत र बजारमै व्यस्त बनें । बनिबनाउ खालका गीतमा भोकल पर्फमरका रुपमा मात्रै काम गरें । तर कवि तथा गीतकार सागर फुयालसँग भेट भएपछि तिमी र म एल्बममा सहकार्य गर्ने अवसर जुर्‍यो । अनि यसमा म आफैं संगीतकारको रुपमा पनि फर्किएँ ।

शिव यसलाई आफूले गुमाएको जमातलाई फेरि आफूसँग जोड्ने अवसर भएको बताउँछन् । ‘यो गीत ल्याएपछि मसँग मन दुखाएका श्रोताहरु मसँग फेरि जोडिनुभयो,’ उनी भन्छन् ।

आफूले रुचाएको एउटा, काम गराइ अर्कै बाध्यता वा रहर कुन थियो ? गफ स्टेसनमा सोधिएको यो प्रश्नमा शिवको सटिक उत्तर छ, ‘यो सबैको समय र परिस्थितिको कुरा थियो । त्यो बेला मलाई सुन्ने श्रोता टिनएजमा हुनुहुन्थ्यो । अहिले उहाँहरु घर गृहस्थलीमा लागिसक्नुभयो । त्यो जमात संगीत सुन्ने निर्णायक तहबाट अहिले तल भयो । स्टेजमा जाँदा पुरानो पुस्तालाई देख्नै छाड्यौं । अनि नयाँका लागि नयाँ शैली नै चाहियो । त्योबेला क्या दामी भो, पाकेर खाको फलदेखि पिलायो साथीले सम्मका गीत ल्याइयो ।’

अहिले उमेरसँगै शिवलाई एउटा कुराले निकै पिरोलेको रहेछ, आफूले छाडेर गएपछि के कृति दिएर जाने भन्ने । यस्तोबेला दुई घण्टा सरर सुन्न सकिने स्तरीय गीत छाडेर जाने उनको सोच छ ।

‘आजसम्म ३०० देखि ५०० जति गीत गाएँ हुँला । मलाई के महसुस भयो भने शिव परियारले त्यत्रो संघर्ष गरेर आयो । के खायो, कस्तो घर बनायो वा गाडी चढ्यो भन्दा पनि कृति चाहिं के दिएर गयो भन्ने महत्वपूर्ण हुन्छ भन्ने महसुस भयो,’ उनी भन्छन्, ‘रुचाएको गायक वा गायिका हो भने दुई घण्टा सरर सुन्ने गीत चाहिं हुनुपर्छ भन्ने सोचें । उहाँहरुलाई बाँध्न सकिनँ भने म हिट भाको स्टेज चढेको कुनै अर्थ छैन । चार दर्जन गीत चाहिं स्किप नगरी सुन्न पाउन् भन्ने मेरो धेय छ अब, यसका लागि शब्दमा विशेष ख्याल गर्नेछु ।’

शिवले सबै खालका गीत गाए । सबै खालका संगीत सर्जकसँग काम गरे । कतिपय रहरकै लागि गरिने गीतमा पनि आवाज भरे । ‘कतिपय व्यवसायकै लागि, रहरकै लागि गरिने गीतमा एक घण्टा स्टुडियोमा उभिन पनि गाह्रो हुन्छ । तर नगरौं सम्बन्ध बिग्रिने डर, गरौं मनले पूरै स्वीकार गरेको हुँदैन,’ उनी बाध्यता पनि सुनाउँछन् ।

पछिल्लो समय संगीत क्षेत्रमा हुने ‘कन्ट्रोभर्सी’ नियमित जस्तै भइरहेको पाइन्छ । यसबाट शिव पनि टाढा रहेनन् । पछिल्लो समयको उनको हिट गीत, जसको फिमेल भर्सनमा एलिना चौहानको पनि स्वर छ- ‘धोकेवाज’ लाई लिएर केही ‘कन्ट्रोभर्सी’ भयो । यसमा कसको गीत पहिले भन्ने थियो ।

‘सामाजिक सञ्जालमा विषय नबुझी प्रतिक्रिया दिने बानीले पनि यस्ता कुरा आइरहेका छन् । धोकेवाजमाथि विवाद गर्नुपर्ने कुरै छैन,’ उनी स्पष्ट पार्छन्,’ नारी र पुरुष दुवै प्रकृतिका उपज हुन् । यसमा ओरिजिनल र कभर भन्ने नै हुँदैन । एउटै लिंगको मान्छेले फेरि गाएमा चाहिं पहिले गाएको ओरिजिनल हुन्छ । पछि अर्कै पुरुषले गाएमा त्यो कभर भनिन्छ । महिलाको हकमा पनि त्यही हो ।’

यस्ता विवादले सही कुरा बुझ्ने मौका पनि धेरैलाई मिलेको भन्दै उनी यसलाई सकारात्मक रुपमै लिन्छन् । ‘ज-जसले बुझ्नुभएको थिएन, गाली गर्दै भए पनि उहाँहरुले बुझ्ने मौका पाउनुभयो होला । तर कन्ट्रोभर्सी दुर्घटना हुने खालको चाहिं हुनुभएन । चिन्ने जान्ने प्रयासको हदसम्म ठीकै हुन सक्छ,’ उनी भन्छन् ।

शिवले अहिले म्युजिक भिडियो आवश्यक भए पनि अडियोलाई भन्दा बढी प्राथमिकतामा राख्दा समस्या भइरहेको महसुस गरेका छन् । युट्युब भ्युजका लागि गरिने तिकडमले उनलाई अरु पिरोल्छ ।

‘भिडियो गीतको संवाहक हो । सुन्ने पनि, हेर्ने पनि भयो अहिलेको समय । तर पनि म्युजिक भिडियोको पारिश्रमिक सिस्टम अव्यावहारिक छ । पाँच लाख लिनेले ५० लाखको बिजनेस दिन सक्नुपर्छ । पाँच लाख तिरेर लगानी गर्दा पाँच रुपैयाँ पनि कमाइ हुन गाह्रो छ अहिले,’ शिव सुनाउँछन् ।

अहिले युट्युबमा फेक भ्युज हाल्नेसमेत धेरै देखिएको उनको अनुभव छ । आफैं भ्युज किनेर मख्ख पर्नुको कुनै अर्थ नहुने उनी बताउँछन् । ‘भ्युज किन्न मिल्छ अहिले । आफैंले किनेको भ्युजबाट कति दिन वाह वाह भनेर हिंड्ने ? यो खोक्रो प्रतिष्ठाबाहेक केही होइन,’ उनी भन्छन् ।

हाल सांगीतिक रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’का जजसमेत शिवले जज बन्दाका अनुभव पनि गफ बाँडेका छन् । ‘भन्नुपर्ने कुरा’मा उनले देशको प्रणाली कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा पनि सुझाव दिए ।

‘लामो समयदेखि विभिन्न बहानामा अस्थिर भएर अगाडि बढिरहेका छौं । जुनसुकै वाद वा पार्टी आए पनि सिस्टमले देश चल्ने खालको नीति नियम लागू भयो भने देशको कायापलट हुन बेर लाग्दैन,’ गफ स्टेसनको बिट मार्नेबेला शिवले भने, ‘सभ्य समाज र सभ्य शासन प्रणाली बनाउनुपर्छ, यो मेरो आग्रह हो ।’

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?