+
+
एक क्विन्टल सुन तस्करी प्रकरण :

पहिलो घेरामा सफलता, दोस्रो र तेस्रो तह खोजिंदै

विभागले गरेको एक साताको अनुसन्धानमा सुन तस्करी संगठित रूपमा भएको निष्कर्ष निकालेको छ । नेपालको आन्तरिक बजारमा बिक्री गर्न र भारतसम्म सुन पुर्‍याउनका लागि तस्कर समूहले नेपालको भन्सार र सुरक्षा प्रणालीलाई प्रयोग गरेको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन १० गते २०:४३

१० साउन, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको १०० किलो बढी सुन तस्करी बरामद भएको एक साता बित्यो ।

साउन २ गते मंगलबार राजस्व अनुसन्धान विभागले विमानस्थल कार्यालयको गेटबाट मूल सडकमा पुगेको ट्याक्सीबाट १५५ किलो स्कुटरको ब्रेक प्याड बरामद गरेको थियो । त्यसमा करिब १०० किलो सुन रहेको राजस्व अनुसन्धान विभागको अनुमान छ ।

सुन सहित दुई जनालाई नियन्त्रणमा लिएर सुरु भएको सुनको अपरेसन एक साता बित्दा पहिलो घेराका सबै सदस्य पक्रिएको र अवैध वस्तु पनि नियन्त्रणमा राखेको विभागले जनाएको छ ।

नेपालमा भएका सुन तस्करीका घटनाहरूकै इतिहासमा पहिलो पटक सुन सहित तस्करीमा संलग्न पहिलो घेराका मानिसहरू पक्राउ परेको विभागको दाबी छ । त्यसो हुँदा सुन तस्करीको जरासम्मै पुगेर अनुसन्धान गर्न सहज हुने विभागको विश्वास छ । ‘एक साता अवधिमा सुन तस्करीमा संलग्न पहिलो घेराका सबैलाई नियन्त्रणमा लिएर दोस्रो र तेस्रो घेराका मानिसहरूको खोजी भइरहेको छ’, विभागले जनाएको छ ।

भन्सारबाट सुनको जाँचपास

क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट ३ साउनमै काठमाडौं आइपुगेको सुन सहितको ब्रेक शु मंगलबार मध्याह्न १२ बजे विमानस्थल भन्सारको एक्सरेमा जाँच पासका लागि आइपुगेको थियो ।

रेडी ट्रेडर्स प्रालि बूढानीलकण्ठले आयात गरेको सामान भन्सार जाँच पास गराउन राजेन्द्र राई नामक व्यक्ति भन्सार पुगेका थिए । उनैको आग्रहमा सुनको जाँच पास प्रक्रियाका लागि भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बाले उक्त वस्तुको जाँच पासका लागि प्रज्ञापन पत्र पेश गरेका थिए । एक्सरेमा ब्रेक शु जाँच गर्ने बेलामा भन्सारको टिम थियो श्रीधर टण्डनको नेतृत्वमा ।

५०० डलर भन्दा कम मूल्यको मोटर पार्टस्को रूपमा विवरण पेश भएको प्रज्ञापन पत्रमा प्रमुख भन्सार अधिकृत टण्डन (उपसचिव) ले अनलाइनबाटै प्रज्ञापन पत्र र आयात भएको वस्तुको मूल्याङ्कन स्वीकृत गरे भने एक्सरेमा नियमित ड्युटीमा थिए भन्सार कार्यालयका टेलिफोन अपरेटर सरोज श्रेष्ठ । यस्तै, सामानको मूल्याङ्कन र जाँचकीमा अधिकृत सन्तोष चन्द थिए भने खरिदार कुमार ढकाल वस्तु जाँचमा संलग्न थिए ।

भन्सारका अधिकारीहरूको दाबी अनुसार एक्सरेले सुन भन्ने यकिन गरेको थियो । त्यसपछि एक्सरे अपरेटर श्रेष्ठले ब्रेक शुको बाक्सामा अंग्रेजी अल्फाबेटमा ‘आर सी’ (रि-चेक) लेखेर पुनः परीक्षणका लागि पठाएका थिए । अपरेटरले रिचेक लेखेका केही बट्टा खोलेर अधिकृत चन्द र जाँचकी ढकालले हेरेका थिए । तर, सुन जस्तो नदेखिएको भन्दै जाँच पासका लागि क्लियरेन्स (अन्तिम) अनुमति दिएका थिए ।

जाँच पास प्रक्रियाको नेतृत्व गरेका उपसचिव टण्डन र कार्यालयको नेतृत्व गरिरहेका कामु प्रमुख नारद गौतमले जाँचपासको सो प्रक्रियाका बारेमा आफूहरूलाई रिपोर्टिङ नै नभएको बताएका छन् ।

करिब साढे ३ बजे भन्सार पासको सबै प्रक्रिया सकिएपछि राजेन्द्र राईले बाहिर सडकबाट ट्याक्सी बोलाएर ती वस्तु ट्याक्सीमा राखेका थिए । ट्याक्सीमा ब्रेक शु राखेर बाहिरिएर गेटबाट सडकमा पुग्नै लाग्दा ट्याक्सी चालक अशोक लामा र राई सुनसहित राजस्व अनुसन्धान विभागको फन्दामा परेका थिए ।

सुन तस्करीका पहिलो घेरामा सबै समातिए

पक्राउ परेका लामा र राई सहित बरामद सुनलाई आफ्नो परिसरमा ल्याएपछि राजस्व अनुसन्धान विभागले त्यही दिन सुनको परीक्षण गरेको थियो ।

पहिला सुन जाँच्ने व्यावसायिक सुनारबाट सुन भएको पुष्टि गरेपछि विभागले सुनको गुणस्तर परीक्षण भन्सार विभागको ल्याबबाट गराएको थियो । त्यसबाट बरामद सुन ९९.९ प्रतिशतको २४ क्यारेटकै भएको पुष्टि भएको थियो ।

लगत्तै पक्राउ परेका दुई जनाबाट प्राप्त सूचना र आयातकर्ता कम्पनीको विवरण खोजेर विभागले सर्च अपरेशन चलायो । सोही दिन राति विभागले रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेललाई साँखुबाट पक्राउ गरेको थियो । दिलीपलाई उनका मामा रामकुमार मार्फत सुन आयात गर्ने कम्पनी खोल्न हर्कराज राईले सघाएका थिए ।

उनीहरूको सूचनापछि विभागले हर्कलाई नियन्त्रणमा लियो । त्यसपछि विमानस्थलबाट आएको सुन लिन पर्खेका भारतीय नागरिक थुप्तेन छिरिङ लामालाई विभागले महाराजगञ्जबाट पक्राउ गरेको थियो ।

 

सुन समातिएको २४ घण्टाभित्रै विभागले विमानस्थलबाट सुन पास गराउनेदेखि गोदाममा पुर्‍याउने सम्मलाई पक्राउ गरेको थियो । अवैध रूपमा नेपाल भित्रिने सुन लुकाउन बालुवाटारमा गोदाम रहेको मंगलबार नै पत्ता लगाएको विभागले त्यो गोदाम भाडामा लिने चिनियाँलाई पक्राउ गर्न सबै उपाय लगाइसकेको थियो ।

बुधबार सुन प्रकरणबारे सूचना मिडियामा चुहिएपछि अप्रेशन थप तीव्र बनाएको विभागले बिहीबार सुन गोदामका सञ्चालक चिनियाँ नागरिक जेक्यु याङलाई अध्यागमनबाट नियन्त्रणमा लिएको थियो ।

यस्तै, सुन आयात गरेको कार्गो कम्पनीका ३ जना सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पनि बिहीबार नै पक्राउ गरेको थियो । बिहीबार नै विभागले बरामद ब्रेक शुबाट सुन छुट्याउने प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई ती वस्तु बुझाएको थियो । शुक्रबारसम्म सुन भरिया १० जनालाई नियन्त्रणमा लिएको थियो ।

संयुक्त अप्रेशनमा पहिलो चरणको कारबाही सकिएपछि विभागले अनुसन्धान अधिकृत तोकेर दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो ।

विभागको अनुसन्धान टीमले कसरी काम गर्दैछ ?

विभागका अनुसार अवैध सुन बरामद हुनु पहिलो राजस्व चुहावट ऐन विपरीतको काम हो भने विदेशी मुद्राको अपचलन पनि हो । विभागलाई यी दुवै प्रकरणमा अनुसन्धान गर्न राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (संशोधन सहित) ऐन, २०५२ र विदेशी-विनिमय-नियमित-गर्ने-ऐन-२०१९ ले अधिकार दिएको छ ।

सोही ऐन अनुसार विभागले एक क्विन्टल सुन प्रकरणमा प्रशासन र राजस्व पृष्ठभूमिका चार जना अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धान अधिकृतलाई दुई वटा ऐन अनुसार सुन प्रकरणमा खानतलासी, छापा र प्रकाउ गर्ने तथा पक्राउ परेकालाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अधिकार छ । सुन प्रकरणमा पक्राउ परेकालाई सुन तस्करी गरेर राजस्व चुहावट गरेको अभियोग र सुन तस्करीका लागि विदेशी मुलुकमा पैसा हुण्डी गरेर मुद्रा अपचलन गरेको गरी दुई वटा अभियोगमा अनुसन्धान गर्ने अधिकार छ ।

सो अनुसन्धान टोलीले ७ गते आइतबार विमानस्थलबाट सुन जाँच पासमा संलग्न भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ ।

७ साउन आइतबारसम्म १०० किलो सुन प्रकरणमा सुन सहित १६ जनालाई नियन्त्रणमा लिएर उच्च अदालत पाटनबाट विभागले ६ देखि १० दिनसम्मको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

यसैबीच सुन प्रकरणको विस्तृत अनुसन्धान गर्न प्राविधिक र थप सहयोगका लागि सहयोग माग्दै ७ साउनमा विभागले नेपाल प्रहरीलाई अनुरोध गर्‍यो । ८ साउनमा प्रहरीले एक जना प्रहरी उपरीक्षक (एसपी)लाई विभागमा खटाएको छ ।

विभागले गठन गरेको चार सदस्यीय टोलीमा एसपी थपिएपछि अहिले अनुसन्धान अधिकारीको टीम पाँच सदस्यीय बनेको छ । सो टीमले देशका सबै निकायबाट आवश्यक सहयोग लिएर सुन प्रकरणको भित्री पाटो केलाउँदैछ ।

खोजिंदैछ तस्करीको माथिल्लो घेरा !

विभागले गरेको एक साताको अनुसन्धानमा सुन तस्करी संगठित रूपमा भएको निष्कर्ष निकालेको छ । नेपालको आन्तरिक बजारमा बिक्री गर्न र भारतसम्म सुन पुर्‍याउनका लागि तस्कर समूहले नेपालको भन्सार र सुरक्षा प्रणालीलाई प्रयोग गरेको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ ।

२ साउनमा पक्राउ परेको १०० किलो सुन ल्याउनेहरूले गरेको यो नै पहिलो तस्करीको घटना नभएको विभागका अधिकारीहरू बताउँछन् । विभाग स्रोत भन्छ, ‘डमी कम्पनी तीन महिना पहिले खुल्नु, पटक-पटक उस्तै प्रकृतिको सामान आयात हुनु र ती सामान सरकारी प्रणाली पार गरेर बाहिरिनुले संगठित तस्करीलाई मलजल गर्छ ।’

अनुसन्धान टोलीले विभागले विमानस्थल भन्सारको पछिल्लो एक वर्षको जाँचपास प्रक्रियाका सबै कागजात जफत गरेको छ । त्यसबाट प्राप्त विवरणहरूले यो प्रकरणमा भन्सारको भूमिकालाई थप उजागर गर्नेछ ।

यस्तै, सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामा र सुन गोदाम भाडामा लिने चिनियाँ नागरिक जेक्यु याङको संलग्नताबारे पनि अनुसन्धान टोलीले मिहिन ढंगले केलाइरहेको छ । विमानस्थलबाट बाहिरिएको सुनको आन्तरिक र बाह्य व्यवस्थापनमा उनीहरू संलग्न रहेको हुनसक्ने विभागको अनुमान छ ।

‘एक क्विन्टल सुन तस्करी प्रकरणमा समग्रमा विभाग राम्रो सफलतामा छ । हामीले प्रमाण सहित पहिलो घेरालाई आफ्नो नियन्त्रणमा लिएका छौं’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘दोस्रो चरणको अनुसन्धानका लागि अनुसन्धान टीमले तीव्र गतिमा काम गरिरहेको छ । छिट्टै नतिजा हात लाग्नेमा विश्वस्त छौं ।’

विभागका अनुसार हालसम्मको तथ्यहरूको आधारमा सुन भारत पठाउनकै लागि तस्करी भएको भन्ने अवस्था सृजना भइसकेको छैन ।

आठौ दिन रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा

एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा बुधबार राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । त्यसक्रममा कम्तिमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको विभागका एक अधिकारीले बताए ।

बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ । सोह्रखुट्टेस्थित उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण हुने गरेको पाइएको अधिकारीहरु बताउँछन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?