+
+

महोत्तरीमा फिल्मी शैलीमा दिउँसै बैंक लुट्ने गिरोहका एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते ८:०८

११ साउन, जनकपुरधाम । महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।

घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा लुटेराहरुको खोजबिन गरिरहेको प्रहरीले जनाएको छ ।

बैंक लुटपाट घटनामा लुटेराहरुमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?