+
+

फेसबुकका प्रयोगकर्ता तीन अर्ब नाघे, त्रैमासिक आम्दानी ४२ खर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:०६

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब नाघेको छ ।

पछिल्लो रिपोर्ट अनुसार फेसबुकको मातृ कम्पनी मेटाले त्रैमासिक आम्दानीमा सबै पुराना रेकर्डहरु तोडेको छ ।

गत अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मेटाले ७ अर्ब ८० करोड खुद मुनाफा कमाउन सफल भएको छ । जबकि उक्त त्रैमासिकमा कम्पनीको कूल आम्दानी चाहिँ ३२ अर्ब डलर अर्थात् ४२ अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गका अनुसार कम्पनीले अपेक्षा भन्दा अधिक मुनाफा कमाउन सफल भएको छ । रिपोर्ट अनुसार दोस्रो त्रैमासिकमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या पनि बढेर ३ अर्ब ३ करोड पुगेको छ ।

स्मरण रहोस् सन् २०२२ मेटाका लागि निकै खराब वर्ष सावित भएको थियो । एप्पलको डाटा प्राइभेसी नीतिमा भएको परिवर्तनसँगै मेटाले व्यापक नोक्सानी बेहोर्नुपरेको थियो । एप्पलको उक्त नीति मेटाको आम्दानीको बाटोमा बाधा बनेको थियो ।

मेटा कम्पनीको दोस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा पनि सात प्रतिशतको वृद्धि भएर प्रतिशेयर ३२०.३२ डलर पुगेको छ ।

मेटाको रिपोर्ट अनुसार उसका विभिन्न एपहरुमा विज्ञापनको संख्यामा पनि यो वर्ष ३४ प्रतिशत बढी देखिएको छ ।

विज्ञापनदाताहरुको पहिलो रोजाइमा फेसबुक र इन्स्टाग्रामको रील्स सबैभन्दा अगाडि देखिएका छन् । मेटाले चर्चित एप टिकटकको सिको गर्दै शर्ट भिडियो प्लाटफर्म रील्स ल्याएको थियो, जुन सफल देखिएको छ । सन् २०२० मा भारतमा टिकटक प्रतिबन्धपछि मेटाले इन्स्टाग्राम तथा फेसबुक रील्स लञ्च गरेको थियो ।

मेटाका अनुसार फेसबुक र इन्स्टाग्राममा अहिले हरेक दिन २ खर्ब पटक भिडियो हेरिन्छ ।

मेटाले यो वर्ष कर्मचारीको संख्यामा पनि भारी कटौती गरेको छ । गत जुन महिनाको अन्त्यसम्ममा कर्मचारीहरुको संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले कटौती गरी ७१ हजार ४६९ कायम गरेको छ । यसले पनि कम्पनीको खर्च कम भई मुनाफामा वृद्धि हासिल गर्न सहयोग गरेको बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?