+
+

अमेरिकी दूतावासको समर मूभी सिरिजअन्तर्गत ‘राया एण्ड द लास्ट ड्रागन’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १६:११

काठमाडौं । अमेरिकी दूतावासको समर मूभी सिरिजअन्तर्गत बिहीवार वाल्ट डिज्नी पिक्चर्सले निर्माण गरेको फिल्म ‘राया एण्ड द लास्ट ड्रागन’ प्रदर्शन गरिएको छ । क्यूएफएक्सको लाबिम हलमा आयोजित समारोहमा अतिथि र दर्शकको उपस्थिती खचाखच रह्यो ।

एनिमेटेड, फेन्टासी, एड्भेन्चर, एक्सन जनरामा राखिएको यो फिल्मलाई डन हल र कार्लोस लोपेज एस्ट्राडाले संयुक्तरुपमा निर्देशन गरेका हुन् । महिलाको नेतृत्वमा रहेको रचनात्मक र सिर्जनशिल समूहले यो फिल्मलाई निर्माण गरेको हो ।

यो फिल्म एक काल्पनिक कुमन्द्रा राज्यको कथा हो जहाँकी राजकुमारी राया घरलाई जोगाउन साहसिक यात्रामा निस्किन्छिन् । यो लक्ष्य प्राप्तिका लागि उनले राक्षसहरुसँग लड्नुपर्छ । राजकुमारीले बुबा (डे किम) लाई फिर्ता ल्याउन र कुमन्द्राको भूमिबाट द्रुन भनेर चिनिने दुष्ट आत्मालाई परास्त गर्दै चमत्कारी मणिलाई पुनस्र्थापित गर्ने आशामा युद्ध लड्छिन् ।

अन्तिम ड्रयागन (अक्वाफिना)ले रायालाई यो लडाइमा साथ दिन्छिन् । फिल्ममा मित्रता, सहकार्य, विश्वासजस्ता नैतिक मूल्य मान्यतालाई पनि दर्शाइएको छ । यो आत्मपरक फिल्मले दर्शकलाई भावनात्मकरुपमा उद्देलित पनि तुल्याउँछ । फिल्म हेरिसकेपछि दर्शकले मन्त्रमुग्ध हुँदै ताली पनि बजाएका थिए ।

यो फिल्मको कथावस्तु दक्षिणपूर्वी एसियाली संस्कृतिबाट प्रेरित छ । सन् २०२१ मा हलमा समेत रिलिज भएको यो फिल्म उक्त वर्षमा डिज्नी प्लसमा तेस्रो सर्वाधिक स्ट्रिमिङ हुने फिल्म समेत बनेको थियो । यसले विश्वब्यापी हल प्रदर्शनबाट समेत १३० मिलियन डलर कमाएको छ ।

यसले समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । खासगरि, एनिमेसन, महिला सशक्तीकरणको पक्ष, शिल्प कौशल, दृश्य, विश्व निर्माण, पात्र र आवाजको अभिनयलाई समीक्षकले रुचाएका छन् ।

समर मूभी सिरिजअन्तर्गतको यो तेस्रो फिल्म हो । यसअघि तिमोथी चालमेट र जेन्डाया स्टारर साइन्स फिक्सन फिल्म ‘ड्युन’ र अल्पसंख्यक लैंगिक समूहको कथावस्तुमा आधारित फिल्म ‘लभ सायमन्स’ पनि प्रदर्शन भैसकेका छन् । अमेरिकी दूतावासले प्रत्येक अंग्रेजी महिनाको अन्तिम बिहीवार मूभी सिरिज आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?