+
+
अग्रपथ :

वैकल्पिक राजनीतिको यात्रा कहाँ चुक्यो ? कहाँ पुग्यो ?

डेढ दशकको ‘वैकल्पिक राजनीति’ धेरै ठाउँमा चुकेको छ तर खुशीको कुरा- रोकिएर कुनै एउटै बिन्दुमा बसेको छैन, कहीं न कहीं पुगेको पनि छ । कम्तीमा यसले एउटा नयाँ भाष्य र फरक राजनीतिक स्पेस स्थापित गरेको छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० साउन १४ गते १५:३०

‘आफू ताक्यो मूढो, बञ्चरो ताक्छ घुँडो’ वैकल्पिक राजनीतिको एक अभियन्ता र पैरवीकर्ताको हैसियतमा मलाई यो उखान बारम्बार सम्झना आउँछ । यस्ता उखान त्यतिकै, सजिलै पक्कै बनेको हुँदैनन् । मान्छेका भोगाइ, अनुभूति र ज्ञानको लामो र सामूहिक शृङ्खलाबाट उत्पन्न हुन्छन् । देशको वैकल्पिक राजनीतिको अभियान र यात्राक्रमसँग पनि यो उखान मिल्दोजुल्दो छ ।

‘वैकल्पिक राजनीति’ शब्दावली ‘क्वाइन’ भएरै यसको ब्यानरमा राजनीतिक गतिविधि हुन थालेको करिब डेढ दशक भएछ । २०६४ मा निर्वाचित पहिलो संविधानसभा संविधान बनाउन नसकी विघटित भएको परिप्रेक्ष्यमा २०६६ सालको अन्त्यतिरबाट ‘वैकल्पिक राजनीति’ को विचार-विमर्श, चर्चा-परिचर्चा र पैरवी हुन थालेको थियो ।

‘वैकल्पिक विचार मञ्च’ यसको वैचारिक पैरवीकर्ता थियो । राजनीतिक दलका रूपमा उज्ज्वल थापा नेतृत्वको ‘विवेकशील नेपाली दल’ ले ‘वैकल्पिक राजनीति’ को झण्डा पहिलो पटक औपचारिक रूपमै उठाएको थियो ।

यी प्रयत्नहरू साना थिए । कतिले ‘नोटिस’ मा लिए, लिएनन् त्यो भिन्नै कुरा हो । कत्रो प्रभाव परेको थियो वा थिएन, त्यो पनि भिन्नै कुरा हो । कम्तीमा यी प्रयत्नमा पवित्रता, शुद्धता थियो ।

सत्ता र भोट राजनीतिको दाउपेचभन्दा बाहिर यिनले विचार र व्यवहारको तहमा नयाँपन दिन खोजेका थिए । इमान र पारदर्शी प्रक्रियालाई राजनीतिको आधार बनाउन खोजेका थिए । यी प्रयत्न पहाडको कुनै निर्जन क्षेत्रमा बग्ने सानो नदीको छङ्छङ् आवाज जत्तिकै सुमधुर थिए ।

त्यसपछि ‘वैकल्पिक राजनीति’ राजनीतिको एउटा भिन्नैै र नयाँ स्पेस बन्यो भन्ने लाग्यो धेरैलाई । छिटो एकीकृत हुन र परिणाम दिन आन्तरिक र बाहृय दबाब बढ्न थाले । त्यसपछि अलिक ठूलो आकार र गर्जन बोकेर ‘नयाँ शक्ति पार्टी’ र ‘साझा पार्टी’ आए । यी जति ठूलो गर्जन र भेल सहित आए, उत्तिकै धेरै भ्रम, अन्योल, अस्पष्टता, अस्थिरता र अनावश्यक आन्तरिक विवाद पनि बोकेर आए ।

बाबुराम भट्टराईले साम्यवादी विचार, पुराना दल र सहकर्मीप्रतिको मोह त्याग गरी बिल्कुुल नयाँ ढंगले नयाँ शताब्दीको लोकतान्त्रिक पार्टी बनाउन एउटा अर्काे प्रयत्न गर्छु भन्दा धेरैले पत्याएका थिए । धेरैले साथ दिएका थिए र दिने मनस्थिति बनाएका थिए । तर, त्यसपछिको दिनमा त्यो कुरा पुष्टि भएन ।

नामले ‘नयाँ शक्ति’ भने पनि त्यो ‘पुरानै शक्ति’ को ‘छायाँ समूह’ भएर निस्कियो । कहिले यता, कहिले उता ढुलमुल र लैबरु हुँदै गयो । पुरानै सहकर्मीहरूको सिन्डिकेटभित्र चुनावैपिच्चे दुई-चार सिटको ‘भाग’ खोजेर, तिनैसँग तालमेल, गठबन्धन, एकता, विभाजन, सत्ता सहकार्य र घुर्कीको राजनीति गरेर नयाँ र वैकल्पिक दल बन्न सम्भव थिएन । भएन पनि ।

‘वैकल्पिक राजनीति’ को कुरा गर्नेहरूले अब हिजोका नयाँ शक्ति, विवेकशील र साझाका असफलताका कथा सम्झेर, नेतृत्वबाट भएका कमजोरी र धोकाबाट प्रताडित मानसिकताले गन्गन गरेर बसेर हुँदैन

जसका विरुद्ध निर्णायक संघर्ष गर्न भनेर जुन शक्ति बनेको हुन्छ- तिनैसँग टाँसिएर त्यस्तो शक्तिको निर्माण भट्टराईका लागि मात्रै हैन, संसारमा जस-कसैका लागि र जहाँसुकै पनि असंभव कुुरा हो । ‘नयाँ शक्ति’ वैकल्पिक राजनीतिको महाकाव्यमा एक दुःखान्त अध्याय मात्र हैन, परिहास नै सिद्ध भयो ।

२०७४ सालको स्थानीय चुनावमा ‘विवेकशील नेपाली दल’ र ‘साझा’ पार्टीले काठमाडौंको मेयर पदमा ल्याएको भोट देखेर धेरैले ती दुई पार्टीलाई एक हुन अनुरोध गरे । सार्वजनिक दबाब दिए । धेरैलाई के लागेको थियो भने रञ्जु दर्शना र किशोर थापाले ल्याएको भोट एकठाउँमा हुने वित्तिकै त्यो पार्टी निर्णायक हुन्छ । यी दुई दलको एकताले २०७४ को आम चुनावमा राम्रै काम गरेको हो । तर, त्यसपछिका दिनमा त्यसको आन्तरिक तत्व सुदृढ हुन सकेन । राजनीति अंकगणित हुन्थ्यो त त्यो सूत्र लागू हुन्थ्यो होला ।

राजनीतिकको व्यूह र विन्यास बीजगणितको पनि जटिल समीकरण जस्तो हो, अंकगणितका सामान्य सूत्रले काम नगर्नु अस्वाभाविक थिएन । त्यो जटिलतालई बुझेर फुकाउने प्रयत्न गर्नुको साटो मूल नेताले नै ‘मार्ग परिवर्तन’ को प्रस्ताव ल्याएर राप्रपा प्रवेश गरेपछि त्यो सकिन अनिवार्य थियो, सकियो पनि । ‘विवेकशील साझा’ को झमेला, शिथिलता र विघटन वैकल्पिक राजनीतिको महाकाव्यमा अर्को दुःखान्त अध्याय हो ।

‘नयाँ शक्ति’ र ‘विवेकशील साझा’ बीचको अप्रत्यक्ष र मनोवैज्ञानिक प्रतिस्पर्धाको अवधिमा एउटा प्रखर भाष्य क्रियाशील थियो भित्रभित्रै । त्यो के भने नयाँ शक्तिमा ‘पुरानो नेतृत्व’ छ र ‘विवेकशील साझा’ मा नयाँ नेतृत्व छ । वैकल्पिक राजनीतिमा नयाँ नेतृत्व बढी स्वीकार्य र प्रभावकारी हुन सक्दछ ।

तसर्थ नयाँ शक्ति असफल हुने र विवेकशील साझा सफल हुने संभावना बढी छ । कतिपय मित्रहरू यही भाष्यमा विश्वास गरेर नयाँ शक्ति छोडेर विवेकशील साझातिर लागेका थिए । तर, व्यवहारले यो भाष्यलाई पनि पुष्टि गरेन ।

प्रश्न नयाँ मान्छे वा पुरानो मान्छेको नभएर ‘वैकल्पिक राजनीति’ को मूल्य, मान्यता, मर्म र भावनालाई आत्मसात् गर्ने नेतृत्व समूह र संस्थागत प्रक्रियाको थियो । ‘वैकल्पिक राजनीति’ नयाँ पुस्ता र युवाहरूको, उमेर समूहलाई प्रमुख मुद्दा ठान्नेहरूको हिरोइज्म र पि्रयतावादको राजनीति हो भन्ने कतिपयलाई अहिले पनि भ्रम छ ।

नयाँ शक्ति र विवेकशील साझा दुवैले सामूहिक नेतृत्व, संस्थागत प्रक्रिया र मूल्य प्रणालीमा विश्वास गर्न सकेका थिएनन् । न त भित्र त्यस्तो अभ्यास नै भयो । राजनीतिमा ‘क्राउड पुलर’ पनि चाहिन्छ भन्ने नाममा खास व्यक्तिको अतिरञ्जित गुणगान र नायकत्वको प्रचारबाट पार्टी निर्माण गर्ने रणनीतिमा ती समूह हिंडे । आधुनिक लोकतान्त्रिक समाजमा त्यस्तो तरिका धेरै परसम्म जान नसक्नु स्वाभाविक थियो ।

अहिले पनि कसैले त्यही तरिका अपनाइरहेको छ भने निश्चित छ, त्यो ढिलो-चाँडो असफल नै हुन्छ । नायकत्व र पि्रयतावादको राजनीति प्रारम्भिक चरणमा कामकाजी जस्तो लाग्दछ । तसर्थ समर्थक आफ्ना नेताप्रति फुरुङ्ग पर्छन् । थोरै परिणाम आए जस्तो पनि देखिन्छ । जस्तो कि नयाँ शक्तिको स्थापनाकालको हल्ली-खल्ली र विवेकशील साझाले २०७४ को आम निर्वाचनमा गरेको प्रदर्शन त्यस्तै थियो । तर त्यसको दीर्घजीवन हुँदैन ।

कुनै पनि विचार र आन्दोलनको दीर्घजीवन निश्चित मानक सहितका आदर्श, सामूहिकता, मूल्यप्रणाली, संस्थागत प्रक्रिया र त्यसको अविच्छिन्न उत्तराधिकारको चाहनामा निहित हुन्छ । यो अकाट्य सत्य हो, यसको विकल्प चाहे जतिसुकै लोकपि्रय व्यक्ति किन नहोस्, बन्न सक्दैन । कुनै व्यक्तिको लोकपि्रयतामा टिकाउन खोजिएको पार्टी एक पिलरको घर जस्तो हो ।

कतिपयलाई के लाग्यो भने ‘वैकल्पिक राजनीति’ भनेको अवैचारिक, सत्योत्तर र केवल ‘डेलिभरी’ को मात्र राजनीति हो । यो अर्को भ्रम थियो । ‘वैकल्पिक राजनीति’ भनेको लोक सेवा आयोगले निकाल्ने परीक्षाफलको वैकल्पिक उम्मेद्वार जस्तो थिएन, हैन । कसैले नियुक्ति नलिए वैकल्पिक उम्मेद्वारले मौका पाउने भने जस्तो पुराना दलहरूले ठाउँ छोडिदिए नयाँले ‘चान्स’ पाउने भने जस्तो कुरा यो हैन ।

‘वैकल्पिक राजनीति’ शब्दावली एक सरलीकृत र सहज ‘क्वाइन’ मात्र थिएन, यसभित्र नयाँ वैचारिकी, सैद्धान्तीकरण, मूल्यप्रणाली र विश्वासको स्थापना गर्ने हुटहुटी र चाहना पनि थियो । मूलतः ‘वैकल्पिक’ भनिए पनि यसको उद्देश्य ‘नयाँ मूलधार’ स्थापित गर्ने हो । छेउकुनाको साक्षी बन्ने वा इतिहासको ‘फुटनोट’ बन्ने हैन ।

नेपालमा वैकल्पिक राजनीतिको अर्थ आजसम्मका तथाकथित मूलधार भनिएका सम्बर्धनवादी, साम्यवादी र नवउदारवादी विचारधारालाई अस्वीकार गर्नु थियो । यिनैमध्ये कुनैको सहकर्मी हुनु, यिनैसँग सहकार्य, गठबन्धन र तालमेल गर्नु हैन ।

यी तीन विचार र शक्तिले देश बनाउन सकेनन् भन्ने अर्थमा मात्र हैन, वैश्विक विकासक्रममै यी समग्र मानव जातिका लागि असान्दर्भिक भए भन्ने चेतना र निष्कर्षबाट एक निर्णायक  वैचारिक संघर्षलाई संगठित गरेर आफूलाई नयाँ मूलधारका रूपमा स्थापित गर्नु ‘वैकल्पिक राजनीति’ को मूल उद्देश्य थियो ।

दुर्भाग्यको कुरा हो- कि यसको नेतृत्व गर्छु भन्नेहरूसँग यो तहको बुझाइ र विश्वास नै कहिल्यै बनेन ।

‘वैकल्पिक राजनीति’ को विमर्शले अझ व्यापक स्तरमा गरेको छ । हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने वा रास्वपा जस्ता शक्तिको उदयमा कहीं न कहीं ‘वैकल्पिक राजनीति’ को विमर्शले प्रत्यक्ष, अप्रत्यक्ष काम गरेको छ

राजनीति तहमा यसको उद्देश्य लोकतन्त्रको एक नयाँ प्रारूप र संस्कृति विकास गर्नु थियो । त्यो थियो- प्रत्यक्ष, सहभागितामूलक, समानुपातिक-समावेशी, पदसोपानक्रमहीन, सुसंस्कृत र शुद्ध लोकतन्त्र स्थापित गर्नु ।

आर्थिक नीतिमा यसले आजसम्मका सबै विकास प्रारूपलाई अपर्याप्त मान्दै ‘सामाजिक बजार अर्थतन्त्र’ को प्रारूप अघि सार्न चाहेको थियो । लोककल्याणकारी राज्य, समावेशी विकास, तीव्र आर्थिक वृद्धि, समतामूलक समृद्धि, समन्यायिक वितरण, गुणस्तरीय सार्वजनिक सेवा-सुविधाको पूर्ण प्रत्याभूति, वातावरणीय दिगोपन र खुशीशास्त्र यस अर्थनीतिका आधारस्तम्भ थिए ।

समग्रमा भन्नु पर्दा ‘वैकल्पिक राजनीति’ एक वैचारिक अभियान नै थियो । एक महान् लक्ष्य थियो यसको- राज्यको चरित्र बदल्ने र नयाँ आधारमा राष्ट्र-निर्माण गर्ने । राष्ट्रको पुनर्जागरण र प्रबोधन गर्ने । बहुसांस्कृतिकवादको आधारमा मौलिक भाषा, संस्कृति र सभ्यताहरूको पुनरुत्थान गर्ने ।

प्राचीनताको पवित्रता र आधुनिकताको वैज्ञानिकतालाई जोड्ने र मध्ययुगीन बर्बरताहरू वंशवाद, दैवी शक्तिको सिद्धान्त, जातिवाद, वर्णव्यवस्था, पितृसत्ता र सबै प्रकारका सामाजिक विभेदको अन्त्य गरी सामाजिक न्याय स्थापित गर्ने ।

यति ठूलो उद्देश्य भएको विचार र आन्दोलनलाई ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङग्राको नाश’ भने जस्तो सस्तो र ‘हल्का रमाइलो’ को विषय बनाइदिएपछि ‘वैकल्पिक राजनीति’ को बर्बादी र सत्यानाश त हुने नै भयो ।

तथापि ‘वैकल्पिक राजनीति’ पूर्णतः असफल भएको चाहिं हैन । प्रयासहरू पर्याप्त संगठित, योजनाबद्ध र परिणाममुखी हुन नसकेका मात्रै हुन् । बजारशास्त्रमा एउटा नियम हुन्छ- कुनै पनि ब्राण्डको बजार बनाउनु अघि त्यस्ता वस्तुका उपभोक्ता बनाउनुपर्छ । जस्तो कि- चिया पिउने मान्छे छन् भने मात्र कुन चिया पिउने ? टोकला, लेकाली, मुना वा अरू कुनै ब्राण्ड स्थापित गर्ने भन्ने हुन्छ । चिया पिउने मानिस नै छैनन् भने चियाको ब्राण्डको कुनै अर्थ हुँदैन ।

करिब डेढ दशकको वैकल्पिक राजनीतिक विमर्शको सबैभन्दा ठूलो सफलता के हो भने यसले चिया पिउने आदत चाहिं बनायो अर्थात् शास्त्रीय मूलधार दलहरूभन्दा बाहिर पनि भोट हाल्न सकिन्छ, राजनीति गर्न सकिन्छ, चुनाव लड्न र जित्न सकिन्छ, यो स्पेसमा पनि राजनीतिक करिअर, सहकर्मी वृत्त र पर्याप्त जनमत छ भन्ने मनोविज्ञान र आत्मविश्वासलाई स्थापित गर्‍यो ।

हिजो यो आत्मविश्वास जनता, मतदाता र राजनीतिक कार्यकर्तामा थिएन । कि राजावादी, कि कांग्रेस, कि कम्युनिष्ट मात्र राजनीति हो, अरू त को छ र ? अरू त राजनीति नै हैन भन्ने बुझाइ थियो । यो बुझाइलाई एक हदसम्म मधेश विद्रोह र जनजाति आन्दोलनले भत्काएको थियो ।

मधेशमा आज पनि चार वटा ठूलो आकारका पार्टी छन्- जसपा, लोसपा, नागरिक उन्मुक्ति र जनमत । तिनका अरू कमजोरी होलान्, छन् तर मधेशमा कांग्रेस, कम्युनिष्ट र राजावादी नभए पनि राजनीति हुन्छ, राजनीति चल्छ भन्ने स्थापित भइसकेको छ ।

असफल विरासतहरूको मोह र समूहगत स्वार्थको सीमाबाट साहसिक ढंगले बाहिर निस्केर नयाँ आयाम र उचाइबाट बृहत् सोच, संगठन र अभियानको प्रक्रिया प्रारम्भ गरेर नै ‘वैकल्पिक राजनीति’ का पैरवीकर्ता र अभियन्ताहरूले आफ्नो धर्म निर्वाह गर्न सक्ने छन्

ठीक यही काम ‘वैकल्पिक राजनीति’ को विमर्शले अझ व्यापक स्तरमा गरेको छ । हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने वा रास्वपा जस्ता शक्तिको उदयमा कहीं न कहीं ‘वैकल्पिक राजनीति’ को विमर्शले प्रत्यक्ष, अप्रत्यक्ष काम गरेको छ ।

मूलतः काठमाडौं उपत्यकाको राजनीति हेर्ने हो भने ‘वैकल्पिक राजनीति’ र पछिल्ला विकासक्रम प्रत्यक्ष जोडिएका छन् । आज रास्वपाबाट जित्ने केही सांसदहरू हिजोका विवेकशील आन्दोलनकै उत्पादनहरू छन् । मेयर बालेन शाहका अधिकांश मतदाताले वैकल्पिक राजनीतिप्रति नै रुझान राख्दछन् ।

अब यो स्पेशमा पनि ब्राण्डको प्रतिस्पर्धा त हुन्छ नै । हुनुपर्दछ । किनकि लोकतन्त्रमा कुनै एउटा दल राम्रो भएर मात्र हुँदैन । लोकतन्त्र सफल हुन कम्तीमा ३ देखि ५ वटासम्म राम्रा दल चाहिन्छ ।

अनि मात्र राम्रो र राम्रो बीचको स्वच्छ प्रतिस्पर्धा हुन्छ र लोकतन्त्रले ‘डेलिभर’ गर्ने क्षमता विकास गर्दछ । यदि हामी गहिरो लोकतन्त्रमा विश्वास गर्दछौं भने कुनै १-२ दलले नै समाजको सबै पक्ष र मनोविज्ञानको विविधतालाई समेट्छ, प्रतिनिधित्व र न्याय गर्छ भन्नु बेकारको कुरा हो ।

अहिलेसम्मको स्थिति हेर्दा रास्वपाले ‘सेन्टर टु राइट’ स्पेस लिने निश्चित जस्तो देखिएको छ । यसबीच संसदमा यो दलले राखेका केही अडानबाट पनि त्यो प्रष्ट हुन्छ । तर, अन्तरपार्टी लोकतन्त्र, प्राइमरी र ल्याट्रल इन्ट्रीमा उसको जुुन जोड देखिन्छ, त्यो सकारात्मक हो । यद्यपि त्यस दलभित्रै थुप्रै अस्पष्टता छन् । नायकत्व र पि्रयतावादबाट बाहिर निस्केर संस्थागत प्रक्रियाको राजनीति गर्ला कि नगर्ला भन्ने आधारभूत प्रश्न नै अनुत्तरित छ ।

तसर्थ ‘वैकल्पिक राजनीति’ को स्पेसमा मात्र हैन, समग्र राजनीतिको ‘स्पेक्ट्रम’ मै ‘सेन्टर-टु लेफ्ट’ वा ‘अग्रपथ’ (फ्रान्टिज्म) मा विश्वास गर्ने एक ‘प्रगतिशील लोकतान्त्रिक विकल्प’ को स्थान अझै खाली छ । यसको आवश्यकता र औचित्य झन्-झन् अपरिहार्य हुँदै गएको छ ।

स्वशासन र सुशासन मार्फत स्वाभिमान र समृद्धिको लक्ष्य हासिल गर्ने अवरुद्ध प्रक्रियालाई गति दिन त्यस्तो एउटा दलको जन्म नभइकन हुँदैहुँदैन । यदि त्यसो हुन सकेन भने देश दशकौं लामो गतिरोधमा फस्ने छ । आम निराशा झनै बढ्ने छ । राष्ट्रको गरिमा, राज्यको औचित्य र देशको अस्तित्व नै संकटमा जान सक्दछ । जाँदैछ पनि !

तसर्थ, ‘वैकल्पिक राजनीति’ को कुरा गर्नेहरूले अब हिजोका नयाँ शक्ति, विवेकशील र साझाका असफलताका कथा सम्झेर, नेतृत्वबाट भएका कमजोरी र धोकाबाट प्रताडित मानसिकताले गन्गन गरेर बसेर हुँदैन ।

राजनीति भनेको गुनासोको पोको फुकाइ बस्ने, हीनता पाल्ने, आत्मनिन्दा गर्ने वा हातखुट्टा लल्याकलुकुल पारेर गति छोड्ने निम्छरो विषय हैन, न त स-साना गुट र समूहको मोहमा अल्भिmएर गरिने आत्मरति हो न त गल्तीलाई अहंकारको बर्कोले ढाकछोप र आत्म प्रतिरक्षा गरेर नयाँ-नयाँ गल्ती गर्दै हिंड्ने मूर्खता नै हो ।

भनिन्छ- कुनै पनि वैचारिकी र आन्दोलन सफल र प्रभावकारी हुन साध्य, साधन र साधकबीच तादाम्यता चाहिन्छ । अनि मात्र ‘इनर्जी’ लाई ‘सिनर्जी’ बनाउन सकिन्छ । सायद हुन नसकेको यही हो । आज पनि ‘वैकल्पिक राजनीति’ धेरैका लागि धीत नमरेको विषय हो । इतिहासको लामो यात्रामा डेढ दशक त्यति धेरै समय पनि हैन । इतिहासका लागि एउटा मान्छेको जीवन वा केही पुस्ता मान्छेको जीवन पनि खासै लामो मानिन्न ।

असफल विरासतहरूको मोह र समूहगत स्वार्थको सीमाबाट साहसिक ढंगले बाहिर निस्केर नयाँ आयाम र उचाइबाट बृहत् सोच, संगठन र अभियानको प्रक्रिया प्रारम्भ गरेर नै ‘वैकल्पिक राजनीति’ का पैरवीकर्ता र अभियन्ताहरूले आफ्नो धर्म निर्वाह गर्न सक्ने छन् । उनीहरूको वैचारिकीको सान्दर्भिकता र राजनीतिक जीवनको सार्थकता पनि त्यस्तै बृहत् प्रयत्नबाट मात्र पुनर्स्थापित हुन सक्दछ ।

डेढ दशकको ‘वैकल्पिक राजनीति’ धेरै ठाउँमा चुकेको छ तर खुशीको कुरा- रोकिएर कुनै एउटै बिन्दुमा बसेको छैन, कहीं न कहीं पुगेको पनि छ । कम्तीमा यसले एउटा नयाँ भाष्य र फरक राजनीतिक स्पेस स्थापित गरेको छ, यो आफैंमा धेरै महत्वपूर्ण कुरा हो ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?