+
+

जापानका तीन सहरमा गुञ्जिंदै नेपथ्य, टोकियोमा अगस्ट ८ मा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १७:२६

काठमाडौं । नेपाली लोकरक ब्याण्ड नेपथ्यले जापानको टोकियो, फुकुओका र ओसाकामा कन्सर्ट गर्ने भएको छ । टुरको थालनी राजधानी टोकियोबाट हुने नेपथ्यले जनाएको छ । यसका लागि १४ सदस्यीय ब्याण्डको टोली अगस्ट महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्ट ८ मा पहिलो कन्सर्ट गर्नेछ । अगस्ट १२ मा ‘फुकुओका सिभिल हल’ र अन्तिम प्रस्तुति स्वरुप अगस्ट १७ तारिखमा ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने तय भएको छ ।

सन् १९९८ मा नेपथ्यले पहिलोपटक जापानमा प्रस्तुति दिएको थियो । पछिल्लोपटक सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’मा प्रस्तुति दिएको थियो । ‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसँग जोडिएका मीठा यादमध्ये केही वर्षअघि टोकियो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रो लागि अविस्मरणीय छ ।’

आफूहरु जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृतले बताए ।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रसारण गरेको थियो । त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो ।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवर्द्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ । जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?