+
+

राप्रपाको पार्टी कार्यालय भत्काउने महानगरको तयारी

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन १४ गते २०:३८

१४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ ।

१३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको महानगरपालिकाले १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो । ‘भोलि सोमबारसम्मको समय दिएका छौं, हाइटेन्सन लाइनमुनि कुनै पनि घर बनाउन वा कार्यालय सञ्चालन गर्न मिल्दैन, कार्यालय नहटे हामी आफैं डोजर चलाउँछौं’ नगर प्रहरी प्रमुख राजु पाण्डेले अनलाइनखबरसँग भने ।

राप्रपाको कार्यालय भत्काउने निर्णय भइसकेको भन्दै उनले थपे, ‘हटेन भने हामी डोजर नै चलाउँछौं ।’

राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) छ । हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ भने यस्ता ठाउँमा दुर्घटनाको जोखिम पनि हुन्छ ।

तत्काल हट्नुपर्ने कुनै कारण छैन : राप्रपा

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले भने आफ्नो पार्टी कार्यालय भत्काइहाल्नुपर्ने कारण नरहेको बताए । ‘हामी हाइटेन्सनमुनिको भवनमा बसिरहेका छौं, यसको नक्सा पास छैन तर अहिले नै हटिहाल्नुपर्ने भन्ने केही छैन’ उनले भने ।

नक्सा पासको लागि निवदेन र पैसा बुझाइसकेको भन्दै उनले हाइटेन्सन लाइनमुनि धेरै संरचना रहेकाले राप्रपाको कार्यालय मात्र भत्काउनु उचित नहुने बताए । ‘महानगरको कतिपय आफ्नै कार्यालय हाइटेन्सन मुनि छ, पहिले आफ्नै घर भत्काए हुन्छ नि, तर राप्रपाकै अफिस भत्काइहाल्नुपर्छ भन्ने चाहिँ किन हो ?’ राणाले प्रश्न गरे ।

राप्रपाले सोमबार महानगरपालिकालाई चिठी लेखेर तत्काल हटाउन दबाब नदिन आग्रह गर्ने राणाले बताए । ‘हाम्रो चाबहिलमा अर्को कार्यालय हुँदा विकल्प नै नभएको त होइन तर वर्षौंदेखि बसिरहेको कार्यालय तुरुन्तै छाड्नु पर्ने कारण छैन’, उनले भने ।

दाताको असन्तुष्टि

राप्रपालाई यो पार्टी कार्यालय भवन नेता दिलविकास राजभण्डारीले दान दिएका थिए । २०६९ सालमा राजभण्डारीले पत्नी शशीकलाको स्मृतिमा राप्रपालाई ८ आना भन्दा केही बढी जग्गा दिएका थिए ।

राजभण्डारीको दुई छोरीको नाममा रहेको उक्त जग्गा राप्रपाको नाममा नामसारी पनि भएको छैन । नामसारी गर्दा १९ लाख रुपैयाँ खर्च लाग्ने भएकाले पार्टीले पैसा छैन भनेर पास नगरेको राजभण्डारीले बताए ।

आफूले जग्गा दिएपछि हाइटेन्सन लाइन हटाउने जिम्मा पार्टी अध्यक्षको भएको उनले बताए । ‘पार्टीका दुईवटै अध्यक्ष उपप्रधानमन्त्री र उर्जामन्त्री भए, हाइटेन्सनमुनि कम्तीमा १५ वटा घर छ । त्यो लाइन उनीहरुले हटाउन नसकेपछि अहिलेको अवस्था आएको हो’, राजभण्डारीले भने ।

वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनको कमजोरीका कारण महानगरपालिकाले हेपेको राजभण्डारीले बताए । ‘ऊर्जामन्त्री हुँदा किन हाइटेन्सन लाइन नहटाएकोे त ?’ उनले लिङ्देनमाथि प्रश्न गरे ।

तत्कालीन काठमाडौं महानगरपालिका–२ को वडा कार्यालयमा ३३ हजार रुपैयाँ बुझाएर भवन निर्माणको स्वीकृति लिएको उनले बताए । उनले नक्सापास भने गर्न नमानेको पनि खुलाए ।

निर्माण अवैधानिक नै हो

काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले राप्रपाको कार्यालय निर्माण अवैधानिक भएको बताएको छ ।

‘हाइटेन्सन लाइनमुनि घर निर्माण नै गर्न पाइँदैन, त्यसको नक्सा पास हुँदै हुँदैन’ विभागका उपनिर्देशक इन्जिनियर घनश्याम पौडेलले भने ।

हाइटेन्सन लाइन मुनिको जग्गामा बनेको घर हटाउनुपर्ने उनले बताए । पौडेलको अनुसार २०६९ मा भवन निर्माण गर्दा वडाबाट स्वीकृति दिने प्रावधान नै नभएको बताए । ‘हाइटेन्सन लाइनमुनि त्यो सम्भव हुने कुरा नै होइन, जग्गा भोगचलनको तिरो भने लिएको हुनसक्ला’, पौडेलले भने ।

भौतिक संरचना निर्माण गर्नु हुदैन

नेपाल विद्युत प्राधिकरणका प्रसारण विभाग प्रमुख दीर्घायूकुमार श्रेष्ठले हाइटेन्सन लाइनमुनि भौतिक संरचना निर्माण गर्न नपाइने बताए । ‘यो लाइनको आफ्नो राइट अफ वे हुन्छ, यो लाइनमुनि विद्युतीय कारणले दुर्घटना हुन सक्छ त्यसैले भौतिक संरचना निर्माण गर्न मिल्दैन’, उनले भने ।

यस्ता जग्गामा खेती गर्न भने सकिने उनले बताए । यस्ता जग्गाको २० प्रतिशतसम्म मुआब्जा दिन सकिने कानुनी व्यवस्था रहेको उनले बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?