+
+

फर्पिङ जलविद्युत् केन्द्रमा १ अर्ब लगानीमा ऊर्जा संग्रहालय बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १७:३४

१६ साउन, काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रुपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ ।

ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्वार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बालउद्यान लगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्वार गरी संग्रहालयको रुपमा विकास गरिने छ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरु निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो ।

मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युत गृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका थिए ।

मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत केन्द्रलाई संरक्षण गरी जलविद्युत क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताए । उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए ।

ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने उल्लेख गरे ।

फर्पिङ जलविद्युत केन्द्र गत ९ जेठ १९६८ देखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणा परिवारलगायत विद्युत वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसदेखि आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?