+
+

वीरगञ्जमा पिउने पानीको हाहाकार, चापाकल सुकेपछि जमिनमुनिको तह नापिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते २०:२८

१६ साउन, काठमाडौं । खानेपानीको चरम अभाव झेल्दै आएको वीरगञ्ज महानगरपालिकाले दीर्घकालीन समाधानका विभिन्न उपायहरूको खोजी सुरु गरेको छ । महानगरले मंगलबारदेखि प्रविधिमार्फत पानीको भू–सतह पत्ता लगाउन अध्ययन अनुसन्धान सुरु गरेको छ ।

गत शुक्रबार खानेपानी मन्त्री महिन्द्रराय यादवसँग भेट गर्दै महानगरका मेयर राजेशमान सिंहले वीरगञ्जमा पानीको भू–सतह पत्ता लगाउन मेसिनसहित विज्ञको टोली पठाइदिन आग्रह गरेका थिए ।

सोही अनुरुप मन्त्रालयबाट आएको विज्ञ सहितको प्राविधिक टोलीले महानगरको विभिन्न स्थानमा पुगेर प्रविधिमार्फत पानीको भू–सतहको बारेमा अध्ययन थालेको हो ।

मंगलबार महानगरपालिकाको वडा नम्वर १ देखि १६ सम्मका वडाका विभिन्न स्थानमा ‘ग्राउण्ड एक्स-रे’ मेसिनबाट पानीको भू–सतह मापन गरिएको प्राविधिक टोलीको नेतृत्व गरेका जसपाका नगर अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए ।

‘ग्राउण्ड एक्स-रे’ मार्फत जाँच गर्दा यहाँको पानीको सतह ६० देखि ८० मिटरसम्ममा जमेको देखाएको तथा १२० देखि १३५ मिटरको सतहमा मात्रै उचित सतह भेटिएको प्राविधिक टेकराज भुषालले जानकारी दिए । टोलीले महानगरपालिकाको ३२ वटै वडामा पुगेर भू–सतहको मापन गरेर प्रतिवेदन बुझाउने छ ।

कतिपय वडामा पानीको भू–सतह एकै प्रकारको देखिएको भए पनि कतिपय वडामा फरक-फरक समेत भेटिएको अर्का प्राविधिक सुनिल खनालले जानकारी दिए ।

महानगरले अब पानीको दीर्घकालीन उपाय खोज्न प्रविधिमार्फत पानीको भू–सतहको पहिचान गर्ने कामलाई अघि बढाएको र यसै अनुरुप डिप बोरिङ तथा चापाकल लगाउने मापदण्ड तय हुने छ ।
वर्षा नहुँदा वीरगञ्ज लगायत यस क्षेत्रमा घरघरमा लगाइएका अधिकांश चापाकल सुक्दा अहिले दैनिक प्रयोग गर्ने पिउने पानीको समस्या देखिएको छ ।

ट्यांकरमार्फत घरघरमा पानी वितरण

पानीको समस्या समाधानका लागि महानगरपालिकाले विभिन्न वडामा ट्यांकरबाट पानी वितरण गर्नुका साथै अस्थायी रुपमा ट्याङ्‍की नै राखेर घरघरमा पानी पुर्‍याउने प्रयास गरिरहेको छ ।
महानगरले वडाहरुमा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेर नगरवासीको प्यास मेटाउन लागि परिरहेको छ ।

नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताए । बिहान ५ बजेदेखि राति ८ बजेसम्म विभिन्न २० वटा वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउन महानगर तयार रहेको मेयर सिंहले बताए ।

यसका साथै खानेपानी संस्थानको पाइपलाइन पुगेको विभिन्न वडाका सार्वजनिक स्थानहरुमा पनि धारा निकालेर पानी उपयोग गर्ने व्यवस्था मिलाइएको मेयर सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिए ।

अहिलेसम्म १० हजार लिटर क्षमताको १५ वटा र ५ हजार लिटर क्षमताको १६ वटा ट्याङ्कीप विभिन्न वडाका सार्वजनिक स्थानमा राखिएको आलमले बताए । खानेपानीको धारा तथा ट्याङ्की राख्ने काम अझै जारी रहेको तथा ट्यांकरबाट पानी वितरण गर्ने काम पनि सँगसँगै अघि बढाइएको उनले बताए ।

तत्कालै प्राकृतिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीन मार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो ।

यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको हो । ‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि खानेपानी संस्थानसँगको समन्वयमा सार्वजनिक स्थानमा पानीको धारा जोड्ने काम गरिरहेका छौँ,’ मेयर सिंहले भने, ‘ट्यांकर र टंकी राखेर महानगर आफैँले पानी वितरण गरिरहेको छ ।’

धारा जडानलाई तीब्रता दिइँदै

मेयर सिंहले मंगलबार खानेपानी संस्थानका अध्यक्षसहितको टोलीलाई वीरगञ्ज बोलाएर यहाँको अवस्थाबारे जानकारी गराएका छन् ।

संस्थानमा कर्मचारी अभाव रहँदा महानगरले लिएको लक्ष्य अनुरुप सार्वजनिक स्थानमा पानीको धारा जडान गर्न समय लागेको भन्दै तत्काल समस्या समाधान हुने गरी कर्मचारी थप गर्न मेयर सिंहले आग्रह गरे । जस अनुसार ६ जना मात्रै प्लम्बर रहेको संस्थानको वीरगञ्ज कार्यालयमा अब १६ जना प्लम्बर थप गरेर धारा जडानको कामलाई तिब्रता दिन लगाएको संस्थानका अध्यक्ष गुणाकर भुषालले जानकारी दिए ।

संस्थानले सार्वजनिक स्थानमा धारा जडान गर्ने कामलाई तीब्रता दिए पानीको हाहाकारबाट गुज्रिरहेका यहाँका नागरिकले राहत अनुभूति गर्ने विश्वास मेयर सिंहले बताए ।

सार्वजनिक धारा जडानका लागि महानगरले प्राविधिकको ४ वटा छुट्टा छुट्टै टोली नै खटाएको छ । महानगरको टोलीसँगै एक जना संस्थानको कर्मचारी पनि अनिवार्य हुनु पर्ने भएकाले संस्थानले आफ्नो कर्मचारी दिन नसक्दा महानगरबाट खटिएको टोलीले लक्ष्य अनुरुप काम गर्न सकेको छैन ।

मंगलबार भएको छलफलमा खानेपानी संस्थानले धारा जडान गर्न पाइप विच्छ्याउँदा महानगर क्षेत्रमा खनेको सडक र सडक पेटी यथासिघ्र छिटो मर्मत गरिदिने प्रतिबद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?