+
+

काठमाडौं केन्द्रीत आन्दोलन गर्ने गौर हत्याकाण्ड पीडितहरुको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते ११:४०

१८ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्दि्रत बनाउने चेतावनी दिएको छ ।

बुधबार बसेको संघर्ष समितिको बैठकले घोषति आन्दोलनाई थप व्यापक बनाउने निर्णय गरेको हो ।

बुधबार साँझ संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले विज्ञप्ति जारी गर्दै राज्य उदासिन रहेको भन्दै आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउन बाध्य हुने चेतावनी दिएकी हुन् ।

‘…सरकारको भूमिकामा सुधार नआए हाम्रो रौतहटमा जारी धर्ना कार्यक्रमलाई सङ्घीय राजधानी काठमाडौंमा केन्द्रित गर्न बाध्य हुने विषय पनि यसै पत्रमार्फत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

रौतहटमा जारी आन्दोलनलाई मधेशका थप जिल्लाहरुमा उठान गर्ने निर्णय समेत बैठकले गरेको छ । संघर्ष समितिलाई सहयोग गरिरहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज पीडितले मधेश प्रदेशको आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै छन् ।

१७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई घटनाको मुख्य अभियुक्त बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।

दोषीहरुलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै संघर्ष समितिले साउन १२ गतेदेखि अनिश्चितकालीन आन्दोलन थालेको छ ।

साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् ।

साउन १५ गते उनीहरुले रौतहटमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए । साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्दको घोषणा गरेको थियो । तर जसपाको प्रतिकार गर्ने चेतावनीपछि मुठभेटको अवस्था आउन सक्ने कुरालाई मध्यनजर गर्दै संघर्ष समितिले बन्दको कार्यक्रम स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?