+
+

‘सगरमाथाका लास ल्याउनै पर्छ’

हामीले एजेन्सीलाई यस वर्ष ल्याउन नसके अर्को वर्ष लास लिएर आउनुपर्छ भनेका छौं । कतिपय लास त बाटोमा बाँधेर राखिएको भन्ने पनि सुनिएको छ । त्यो उनीहरूले ल्याउनै पर्छ ।

राकेश गुरुङ प्रमुख, पर्वतारोहण शाखा, पर्यटन विभाग राकेश गुरुङ प्रमुख, पर्वतारोहण शाखा, पर्यटन विभाग
२०८० साउन १९ गते १०:१६

अष्ट्रेलियन आरोही जेसनको लास व्यवस्थापनमा देखिएको समस्या के हो ?

एक जना अष्ट्रेलियन नागरिक सगरमाथा आरोहणमा थिए । आरोहणका क्रममा उनको निधन भयो । उनको ३०—३२ करोड रुपैयाँको बीमा रहेछ । बीमा योजनामा मृतक आरोहीले उनको ‘गर्लफ्रेन्ड’ लाई इच्छाएको व्यक्तिको रूपमा राखेको भन्ने छ । त्यतिबेलासम्म उनीहरूको सम्बन्ध राम्रो हुनुपर्छ । तर, पछि परिवार र इच्छाएको व्यक्ति बीचमा बीमा रकम दाबी गर्ने विषयमा विवाद भयो भन्ने छ ।

यस मामिलामा विभागको कुरा भने ती आरोही माथि नै बितिसकेपछि जसरी भए पनि उनको लास ल्याउनु पर्यो भन्ने हो । यसमा एजेन्सीले अलिकति बेवास्ता गरेको हो । त्यत्रो बीमा रकम भएपछि लास ल्याउन त बढीमा ५०–६० लाख रुपैयाँ खर्च हुने हो ।

त्यो लास ल्याउनुपर्छ भनेर हाम्रो महानिर्देशकले अडान लिनुभएको हो । नत्र भने आगामी दिनमा सगरमाथामा त लासै लासको थुप्रो हुन्छ । यसलाई अलिकति गम्भीरताका साथ लिएर ‘एक्सन’मा जान भनेर महानिर्देशकले प्रयास गर्नुभएको हो ।

तर अब अष्टे«लियन दूतावास, हाम्रो कन्सुलर विभाग र मन्त्रालयबाट समेत ‘जेसन’ को केसमा के भएको हो ? मृत्यु प्रमाणपत्र तत्कालै चाहियो भनेर दबाब भएपछि हामीले पर्यटक प्रहरीसँग पनि छलफल गर्यौं । अनि जेसनको मृत्यु भएको हो भनेर प्रमाणित गरिदियौं ।

मृत्यु प्रमाणपत्र जारी गर्ने त्यहाँको स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिका भएको हुनाले हामीले निर्देशिकामा उल्लेख भए अनुसार निजको मृत्यु भएको भनेर लेखिदियौं ।

हिमाल आरोहण गर्न आउने सबै आरोहीको बीमा गरिएको हुँदोरहेछ, नहुने शेर्पाहरूको मात्रै हो ?

शेर्पाहरूको पनि बीमा गरिएको हुन्छ । फरक के छ भने विदेशीहरूको बीमा विदेशी कम्पनीमा गर्ने भएकाले कति रकमको बीमा गरेको छ भन्ने जानकारी हामीलाई हुँदैन । त्यसो हुनाले अब उनीहरूको बीमा पनि नेपाली कम्पनीमा नै गर्नुपर्ने कानुनी व्यवस्था आवश्यक देखियो । किनकि नेपाली कम्पनीसँग बीमा गरेमा बीमा कम्पनीलाई समाउन सकिने भयो ।

नत्र मृत्यु दर्ता वा बेपत्ताको प्रमाण–पत्र हामीले दिने अनि उनीहरूले उतैबाट पैसा लैजान पाउने भएपछि बाँकी जिम्मेवारीबाट उनीहरू पन्छिने भए । त्यसैले अब नेपाली कम्पनीमै बीमाको व्यवस्था गर्न बीमा प्राधिकरणसँग हामी औपचारिक छलफल गर्दैछौं । त्यसपछि प्राधिकरणले भने अनुसारको प्याकेज नेपाली बीमा कम्पनीले बिक्री गर्न सक्छन् ।

जेसनको परिवारको चासो लास व्यवस्थापनमा हो कि मृत्यु प्रमाणपत्रमा ?

डेड बडी (लास) मा पनि उनीहरूको चासो थियो । तर, हाम्रो मूल्यांकनमा उनीहरूका आफन्तलाई लास भन्दा पनि मृत्यु प्रमाणपत्र र बीमा रकममा चासो थियो भन्ने लाग्छ ।

आरोहीले आफ्नो मृत्यु भएमा लास हिमालमै रहोस् भन्ने इच्छा व्यक्त गरेको भनेर पनि कति लास त्यहीं छोडिन्छ भनिन्छ, यसो गर्नु कानुनी हिसाबले उचित हो ?

यो त सुनेको कुरा हो, अहिलेसम्म लिखित रूपमा केही पाएको छैन । यस्तै हो भने त सगरमाथामा लासको थुप्रो हुन्छ । यदि कसैले हिमालमा मर्छु, मेरो लास नल्याउनु भन्यो भने पनि हामीले त्यो गर्न दिने कुरै भएन । त्यसलाई त रोक्नुपर्छ ।

मृत्यु भएको र हराएको भन्नुमा फरक रहेछ नि आरोहणमा हैन ?

हो मृत्यु भएको र हराएको भन्नुमा स्पष्ट भिन्नता छ । जस्तो यस वर्ष हराएका मलेसियन आरोही बहिरा थिए । आरोहण सफल भएपछि गाइडले भनेको कुरा सुनेनन् । मलाई एक्लै छोड्यो भनेर हो कि किन हो उनी चाइनातिर गए झर्ने बेलामा ।

गाइडले बस्दै गर भनेर राखेको उनी चीनतिर लागेको लाग्यै गरे । अस्ति एक जना गाइडले भने अनुसार, आरोहण पछि चिप्लिएर १०० मिटर तल गएर पनि उभिए । तर उनलाई तान्न सक्ने कुनै उपाय र दक्ष जनशक्ति नभएपछि त्यहीं नै बिते ।

त्यसैले कतिपय हराइरहेको भन्ने कुरा वास्तविक पनि हुन्छ । तर, कतिले ‘मिसिङ पोलिटिक्स’ पनि गर्छन् । किनकि ‘मिसिङ’ भनिदिएपछि लास ल्याउनुपरेन । एजेन्सीलाई पनि सजिलो भयो । त्यसैले यसलाई अलिकति कडाइ गर्नुपर्छ र हाम्रो कानुन र कार्य सम्पादनमा फोकस हुनुपर्छ भन्ने लागेको छ ।

हामीले सम्बन्धित एजेन्सीलाई यस वर्ष ल्याउन नसके अर्को वर्ष लास लिएर आउनुपर्छ भनेका छौं । कतिपय लास त बाटोमा बाँधेर राखिएको छ भन्ने पनि सुनिएको छ । यदि त्यस्तो हो भने त्यो उनीहरूले ल्याउनै पर्छ ।

के गर्यो भने सगरमाथा लासमुक्त हुन सक्छ त ?

यदि कसैले सगरमाथा आरोहणमा निस्कँदा त्यहाँ मरें भने लास नल्याउनु भन्छ वा त्यहीं मृत्युवरण गर्न चाहन्छु भन्छ भने अब हामी ब्रिफिङको बेलामै उसलाई आरोहण अनुमति नदिने भन्छौं । अब कुनै पनि आरोहीले त्यसो गर्न नपाउने स्व–घोषणा गर्नुपर्छ ।

विभाग अब यस विषयमा कडाइ गरेर जान्छ । यी यस्ता केही विषयलाई समावेश गर्न पर्वतारोहण नियमावलीमै सम्बोधन गर्नुपर्छ । अहिले विभागलाई पनि आरोही ‘हराइरहेको’ हो कि ‘लास छोडिएको’ हो भनेर ठम्याउन कठिन भइरहेको छ ।

माथिसम्म पुग्न सक्ने दक्ष कर्मचारीको अभाव छ । आफैं त्यहाँ पुग्न नसक्ने भएपछि वास्तविकता थाहा पाउने आधार भनेको आरोहण दलको लिडरलाई सोध्ने हो । त्यसैले यसमा थप छलफलको आवश्यकता छ ।

तर, सरकारले पठाएका सम्पर्क अधिकृत आधारशिविरसम्म पनि नपुगेको भनेर प्रश्न उठेको छ । हरेक वर्ष दोहोरिने यो समस्या कसरी नियन्त्रण गर्ने ?

आधारशिविरमा सम्पर्क कार्यालय राख्ने हो । धेरै सम्पर्क अधिकृत त लाइफ टाइम एक्सपेरिएन्स हो भनेर पनि जान्छन् । कोही कोही नजाने पनि हुन्छन् भन्ने सुनेको हो । म भर्खर आएकोले धेरै थाहा भएन । जसरी भए पनि आधारशिविर जानुपर्छ भनेर आगामी दिनमा सोधीखोजी गरेर कडाइ गर्नुपर्छ ।

विगतमा सगरमाथामा कुनै गैरकानुनी गतिविधि भए तुरुन्त कारबाही गरेर देश निकाला गर्ने र नेपाल प्रवेशमा केही वर्षका लागि निषेध गर्ने गरिएको थियो । तर यस वर्ष त अनुमति नलिई तेस्रो शिविरबाट पाराग्लाइडिङ गरेका अमेरिकी नागरिकलाई पुनः आरोहण अनुमति दिएर पठाइयो । यसले त सगरमाथालाई हामी आफैंले झनै सस्तो बनाएको देखिएन र ?

अमेरिकी नागरिकलाई कारबाही गरेकै हो । उनको त्यतिखेरको आरोहण अनुमति खारेज गरियो । तर, फेरि पछि अर्को आरोहण अनुमति लिएर सगरमाथा चढ्न दिइएको हो ।

अब लास व्यवस्थापनमा नयाँ के गर्दै हुनुहुन्छ ?

कतिपय स्थापित कम्पनीहरूलाई आफ्नो प्रतिष्ठाको लागि पनि लास छोड्ने चाहना नहुने रहेछ । त्यस्ता कम्पनीहरूले टोली नेता र शेर्पाहरूबाट जसरी भए पनि लास लिएर आउनुपर्छ भन्ने प्रतिबद्धता खोज्ने रहेछन् । तर, साना कम्पनीहरूमा चाहिं सकेसम्म लास ल्याउन नपरे हुन्थ्यो, यसो गर्न सके हाम्रो खर्च जोगिन्थ्यो भन्ने हुँदोरहेछ ।

हामीले सम्बन्धित एजेन्सीलाई यस वर्ष ल्याउन नसके अर्को वर्ष लास लिएर आउनुपर्छ भनेका छौं । कतिपय लास त बाटोमा बाँधेर राखिएको छ भन्ने पनि सुनिएको छ । यदि त्यस्तो हो भने त्यो उनीहरूले ल्याउनै पर्छ । अघिल्ला वर्षहरूमा के भएको छ बुझ्नुपर्छ । यो वर्ष मृत्यु भएका १७ जना सबैको लास ल्याउनै पर्छ ।

हरेक वर्ष सगरमाथा सफाइ अभियान चलिरहेको छ । फोहोर ल्याए पनि पुराना लास ल्याउन सकिएको छैन किन होला ?

बाटोमा भएका लास त्यतिकै छोडेको जस्तो लाग्दैन । भेटेको जति उनीहरूले ल्याएका पनि छन् । तर, कतिपय लास ठूलो हिउँले छोपेर राखेको हुने भएकाले छोडेको होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?