+
+

कृषि र वन विज्ञानमा विद्यार्थीको आकर्षण घटेको हो ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन २० गते ८:३०

काठमाडौं । कृषि प्रधान देश हो नेपाल । तर कृषि शिक्षामा विद्यार्थीको आकर्षण निरन्तर घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने बढ्न सकेको छैन ।

कृषि, पशु विज्ञान जस्ता विषयमा विद्यार्थीहरूको आकर्षण घट्नुको कारण के हो ? कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको अवस्था कस्तो छ ? यिनै विषयमा केन्द्रित रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालय निर्देशक डा. ऋषिराम कट्टेलसँग गरिएको कुराकानी :

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको संख्या कस्तो छ ?

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि विद्यार्थीको संख्या घट्दो नै छ । कृषि तथा वन विज्ञान विषय पढ्न चितवन, हेटौंडाजस्ता सहरी क्षेत्रमा त विद्यार्थीहरूको संख्या घटेको छैन । तर दैलेख, धनकुटाका क्याम्पसहरूमा भने विद्यार्थीको संख्या कम छ ।

कृषि विषयमा विद्यार्थीको संख्या घट्नुको कारण के होला ?

नेपालमा कृषि व्यवसाय नभएका कारण पनि कृषि विषय पढ्न र कृषि गर्न युवाहरूको रुचि देखिंदैन । कृषि उद्यमी हुन सक्ने वातावरण सिर्जना भइसकेको छैन, त्यसैले पनि कृषि पशुपालन पढाइतिर युवाहरूको आकर्षण घटेको हुन सक्छ ।

यस क्षेत्रमा विद्यार्थीको रुचि कसरी बढाउन सकिन्छ ?

१५ देखि २० प्रतिशत मान्छेले कृषि उत्पादन गरेर बाँकी जनसंख्यालाई कृषिसम्बन्धी बजारीकरण र उद्योगमा रूपान्तरण गर्ने भन्ने नेपाल सरकारको नीति छ । तर व्यावहारिक रूपमा लागू भएको छैन । जसको लागि कृषिको व्यवसायीकरण हुनुपर्छ ।

कृषि तथा पशुपालन व्यवसायमा पनि प्रशस्त अवसर छ । तर व्यवसाय गर्न वित्तीय व्यवस्थापन पनि गर्नुपर्‍यो । नेपाल सरकारले कृषि पशुपालनमा दिनु भनी छुट्टाएको अनुदान बैंकहरुले भने दिन चाहँदैनन् । त्यसैले कृषि लोनलाई कसरी सहजीकरण गर्ने भन्ने कुरामा सरकारले ध्यान दियो भने कृषितर्फ आकर्षण बढ्छ ।

७५३ वटै पालिकामा कृषिको उत्पादन र उत्पादकत्व बढाउन युवालाई लक्षित नीति बन्यो भने यसको पढाइतर्फ विद्यार्थीको आकर्षण बढ्छ । ब्याचलर पढाइको लागि युवाहरू बिदेशिन थालेका छन् । उनीहरूलाई नेपालमै रोजगारी सिर्जना गर्नतर्फ सरकारले ध्यान दिनैपर्छ प्राविधिक शिक्षा मात्र होइन । जुनसुकै विषय पढेका विद्यार्थीलाई उनीहरूको क्षमताअनुसारको रोजगारी सिर्जना र व्यवसाय गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन के गरेको छ ?

११, १२ कक्षामा विज्ञान विषय पढेकाहरूले ब्याचलर र मास्टर्समा कृषि तथा वन विज्ञान पढ्न सक्छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले भने कृषिलाई व्यवसायिक बनाउन त्यहाँ पढेका ४-५ जना विद्यार्थीलाई कृषि कम्पनी खोल्न लगानी सहयोग गरेर उद्योगसँग जोडिने शिक्षा समेत सुरु गरेको छ ।

कृषि विज्ञानको पढाइ नेपालमा राम्रै छ । त्यसमा पनि कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपाल सरकारको लगानीमा खुलेको प्राविधिक विश्वविद्यालय हो । यो रामपुर चितवनमा छ । जहाँ कृषि विज्ञान, पशु विज्ञान, भेटनरी विज्ञान, वन विज्ञान लगायत पढाइ हुन्छ । यद्यपि कृषिमा विद्यार्थीको आकर्षण बढाउने खालका सुधारका योजना बनिरहेको छ ।

कृषि तथा वन विज्ञान पढ्न कति लाग्छ खर्च ?

कृषि तथा वन विज्ञान विश्वविद्यालय,  त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत धेरै विश्वविद्यालयमार्फत कृषि, वनजस्ता प्राविधिक विषयको पढाइ हुन्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चारवर्षे स्नातक कोर्स पढ्न साढे दुईदेखि तीन लाख खर्च लाग्छ । भेटनरीको लागि चारदेखि साढे चार लाख रुपैयाँ लाग्छ । निजी क्याम्पसमा भने यी विषय पढ्न ६ लाख रुपैयाँसम्म तिर्नुपर्छ ।

यस्ता प्राविधिक विषय पढेकाहरूको कामको दायरा कस्तो छ ?

कृषि तथा वन विज्ञान पढेका विद्यार्थीहरू निजामती कर्मचारीको रूपमा, नार्कमा अनुसन्धानकर्ताको रूपमा र विश्वविद्यालयमा प्राध्यापकको रूपमा काम गर्न सक्छन् ।

पशु विज्ञान पढेकाहरूले आफैं भेटनरी मेडिकल सञ्चालन गर्न सक्ने भए । दुग्ध उत्पादन क्षेत्रमा पनि काम गर्न सक्छन् । यसरी कृषि तथा वन जस्तो प्राविधिक शिक्षा पढेका विद्यार्थीहरूले सरकारी र निजी क्षेत्रमा जोडिएर काम गर्न सक्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?