+
+

एक्ली अभियान्ता प्रहरी हिरासतमा

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १९ गते १८:५३

१९ साउन, विराटनगर । विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक्लो आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको छ ।

सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै गत जेठदेखि महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी इन्दिरा चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको हो ।

विराटनगरका मेयर नागेश कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो ।

महानगरको मेयरबाट उजुरी आएपछि चापागाईंलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी छेदीलाल कामतीले बताए ।

चापागाईं विराटनगर महानगरपालिका– ५ की बासिन्दा हुन् । विराटनगर बरगाछीमा रहेको गोग्राहा माध्यमिक विद्यालयको सञ्चालक समितिको पूर्वअध्यक्ष समेत रहेकी उनी सोही विद्यालय सुधारका लागि भन्दै विराटनगर महानगरपालिकाको कार्यालय अगाडि धर्ना बस्ने गरेकी थिइन् । मेयर नागेश कोइरालाको तर्फबाट महानगरले उजुरी गरेपछि प्रहरीले उनलाई गत सोमबार पक्राउ गरेको थियो । उनी गत जेठदेखि महानगर अगाडि ब्यानरसहित एक्लै उभिने गरेकी थिइन् ।

गोग्राहा माध्यमिक विद्यालय सञ्चालक समितिको पूर्वअध्यक्ष चापागाईं महानगरले सोही विद्यालयमा निजी स्रोतबाट सञ्चालन भएको गोग्राहा कलेजलाई पाँच लाख रुपैयाँ बजेट निकासा गरेको भन्दै विरोधमा उत्रिएकी हुन् । उनले सो रकम फिर्ता गरी स्कुलबाट कलेज हटाउन माग गरेकी छन् ।

‘विराटनगर महानगरपालिकाको मेयर नागेश कोइराला, गोग्राहा कलेज विराटनगर नामको नाफामुखी प्राइभेट कलेजलाई सामाग्री खरिदको लागि विराटनगर महानगरपालिकाबाट ५ लाख रुपैयाँ दिने गरेको गैरकानुनी निर्णय तुरुन्त बदर गरी उक्त गोग्राहा कलेजलाई गोग्राहा मावि विराटनगर सामुदायिक विद्यालयबाट तुरुन्त हटाउनै पर्छ,’ उनले बोकेको लिखित ब्यानरमा लेखिएको छ,‘नत्र मलाई मारेर मेरो लाश संसारलाई देखाउन म चुनौती दिन्छु ।’

गोग्राह स्कुलको संरचनामा पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर गोग्राहा कलेज सञ्चालित छ । सुरुमा भने कलेज विद्यालय मातहत नै थियो । तर पछिल्लो समय भने कलेजलाई छुट्टै बनाइएको थियो । कलेजले शिक्षा संकायतर्फ बिएडको कक्षा सञ्चालन गर्दै आएको छ ।

उनी टाउकोमा रातो फोटा हातमा राष्ट्रिय झण्डा र ब्यानरमा आफ्ना माग राखेर एक्लै आन्दोलनमा उत्रिएकी थिइन् । सुशासनका लागि उनी यसअघि प्रदेशसभा सचिवालय र प्रदेशका मन्त्रालयमा पनि एक्लै धर्ना दिएकी थिइन् ।

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेयर नागेश कोइरालामाथि अभद्र रुपमा प्रस्तुत भएकाले महानगरपालिकाले जिल्ला प्रशासन कायालयमा निवेदन लेखेको भए पनि थप विषय आफूलाई जानकारीमा नआएको उनले बताए । उनले चापागाईंसँग महानगरमा आफूले छलफल गरेको बताए । महानगरपालिकाको गेट अगाडि बसेकी उनले पटक पटक मेयरविरुद्ध अभद्र शैली प्रस्तुत गरेको उनको दाबी छ । चापागाईं भने गेट बाहिर चुपचाप उभिने गरेकी थिइन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?