+
+

खडेरी समाधानका लागि मधेशमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:२२

१९ साउन, जनकपुरधाम । मधेशमा देखा परेको सुख्खाको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारी र उच्चपदस्थ अधिकारीहरुले छलफल गरेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी  र पिउने पानीको समस्या समाधानबारे  छलफल गरेका हुन्।

छलफलमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले शुक्रबार आयोजना गरेको  सुख्खा क्षेत्रको समस्या सम्बन्धी छलफलमा प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले यस पटक ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेकोमा चासो व्‍यक्त गरेका छन् ।

उनीहरूले वर्षाको अभावमा रोपेको धानवाली मर्न लागेकोले केन्द्रसँग समन्वय गरी अविलम्ब अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिएका छन्।

प्रमुख जिल्ला अधिकारीहरुले चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न जरुरी रहेको साथै अव हिउँदेबालीको लागि जोड दिनुपर्ने सुझाव समेत दिएका छन्।

यस्तै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराईले यसबेला सधैं विपद आउने भएको हुँदा त्यसको लागि तयारी गरे पनि यसपटक सुख्खा र पिउने पानीको समस्या आइपरेको बताए ।

उनले भने, ‘ यसबेला सधैं विपद आउने भएको हुँदा त्यसको लागि तयारी गर्‍यौ। तर यसबेला सुख्खा र पिउने पानीको समस्या आइपर्‍यो ।’

उनले अहिले देखा परेको समस्याको तत्काल  निराकरण गर्न गम्भीर नभए भयावह आउन सक्‍ने चिन्ता व्यक्त गरे ।

उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले सुनकोशी कमला मरिन डाइभर्सन परियोजनाबारे एउटा राम्रो विकल्प हुनसक्ने बताए । उनले भने, ‘  सुनकोशी कमला मरिन डाइभर्सनतर्फ लागे रिचार्ज पनि हुन्छ र खानेपानीको समस्या समेत समाधान हुन्छ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले संकट अवसर र चुनौती भएको भन्‍दै सुख्खामा लगाउने बालीको विकल्प खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?