+
+

पुनःनिर्माणको मोडमा माओवादी

युवराज चौलागाईं युवराज चौलागाईं
२०८० साउन २१ गते १४:३९

नेपालको सन्दर्भमा माओवादी आन्दोलनले एउटा विशिष्ट पहिचान र महत्व स्थापित गरिसकेको छ। माओवादी एउटा पार्टी मात्र नभएर आन्दोलनको रूपमा अगाडि आयो र अहिले पनि विभिन्न शाखाहरूमा त्यो आन्दोलन क्रियाशील नै छ। आजको माओवादी आन्दोलन समग्रमा उभारको चरणमा त छैन तर यो उतार अथवा तल झरेको स्थितिमा पनि छैन। यो एउटा ठहरावको स्थितिमा छ। यो विकास र पतन दुवै नभइसकेको अवस्था हो।

अहिले नेपालको कम्युनिष्ट आन्दोलन ७५ वर्षको परिपक्व चरणमा छ। माओवादी आन्दोलन नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनकै एउटा शाखा हो। यो अवधिमा यसले उतार र चढावका अनगिन्ती आरोह-अवरोहहरू पार गरेको छ। धेरै ठूला-ठूला कष्टहरू यसले खेपेको छ। धेरै ठूल्ठूला मूल्य यसले चुकाउनुपरेको छ।

विगतमा चुकाएको मूल्य र भोगेको कष्टको तुलनामा अहिलेको समस्या ठूलो होइन। विगतमा प्रतिबन्ध, विभाजन र जनतामा संगठन गर्न नजाने अभ्यास पनि थिए। त्यो भन्दा अहिलेको अवस्था विल्कुल फरक छ।

आन्दोलन र उपलब्धि

माओवादी योगदानको मूल्याङ्कन गर्दा विद्रोही भएर निर्वाह गरेको भूमिका र सरकारमा रहँदा खेलेको भूमिका, दुईवटै कोणबाट हेर्नुपर्छ। यसरी हेर्दा माओवादी धाराको औचित्य र नेतृत्वको रूपमा भोलिको संभाव्यता पुष्टि हुन्छ।

विद्रोही भएर गरेका कामहरू स्थापित नै छन्। सामाजिक न्याय, समानुपातिक समावेशिता लगायतका आजको राजनीतिक जगसहितको राजनीतिक परिवर्तन माओवादीको कारणले आएको छ। विद्रोही भएर माओवादीले देशलाई यहाँसम्म ल्याउन निर्वाह गरेको भूमिका मूलतः नेतृत्वदायी छ।

माओवादीको आजको पहिलो चुनौती भनेकै सरकारले गरिरहेका राम्रा कामहरूको सही र दिगो संगठनात्मक रूपान्तरण हो।

०६२/६३ पछि माओवादी सरकारमा पुगेपछि गरेका कामहरू पनि लरतरा छैनन्। ती कामलाई स्थापित गर्न पनि हामीले महत्वका साथ काम गर्नुपर्छ। माओवादी सत्तामा गएपछि देशमा ठूला भौतिक विकासको सुरुवात भएको छ। १५-२० वर्षअघि देश जुन अवस्थामा थियो, आज त्योभन्दा विल्कुलै फरक अवस्थामा पुगेको छ। गाउँगाउँमा पक्की बाटाहरू पुगेका छन्। खानेपानीका समस्या एक ढंगले समाधान भएका वा हुँदै गरेको स्थिति छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढेको छ।

सूचना प्रविधिमा आएको ठूलो परिवर्तनबाट नागरिक लाभान्वित हुन सकेका छन्। यी माओवादी सरकारमा गएपछि भएका परिवर्तन हुन्। विगतमा पनि सरकारहरू थिए। तर माओवादीको सरकारमा यात्रासँगै विकास निर्माणको क्षेत्रमा ठूलो परिवर्तन आएको छ। स्वाभाविक रूपमा यसको जस माओवादीलाई जान्छ।

आज काम भइरहेको मध्यपहाडी लोकमार्ग २०६५ मा प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ल्याइएको परियोजना थियो। निर्धारित समयमै सम्पन्न हुन नसके पनि यो देशको गेमचेञ्जर परियोजना हुने स्थिति छ। त्यसले पूर्व र पश्चिम जोड्ने मात्रै होइन कि उत्तर दक्षिणमा पहाडलाई शहरसँग जोड्ने र समृद्ध बनाउने काम सुरु भएको छ।

माओवादी सरकारमै आएपछि नै देशकै समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । विद्युतमा देश आत्मनिर्भर बन्दै गएको छ। साना किसानको ऋण मिनाहा, निश्चित युनिटसम्म विपन्न परिवारलाई बिजुली निःशुल्क प्रदान जस्ता काम पनि माओवादीको नेतृत्वमै भएको हो। अहिले भ्रष्टाचार विरूद्ध जेहाद छेडेर सुशासनको पक्षमा उभिएको माओवादीले देशमा आशावादको नयाँ दियो बालेको छ।

नेपालमा उत्तर दक्षिण दुवैतिरबाट रेलवे आउने सम्झौताहरूमा देश प्रवेश गर्ने काम माओवादीको नेतृत्वमा भएको छ। भारत, चीन र अमेरिकासँगको समान तहको इंगेजमेन्ट र उनीहरूलाई नेपालको विकासमा विभिन्न ढंगले समाहित गर्ने विषयमा माओवादी पार्टी नेतृत्वमा गएपछि प्रगतिहरू भएका छन्।

त्यसैले आजको समग्र परिवर्तनको जस माओवादीलाई जानुपर्ने हो। माओवादी पार्टीकै कारण यी सबै भएको हो। यति हुँदाहुँदै पनि माओवादीले त्यसलाई आम जनताको बीचमा स्थापित गर्नेगरी भूमिका निर्वाह गर्न सकेको स्थिति छैन। ठिक यही विन्दुबाट माओवादीको पुनर्निर्माणको काम तत्कालको लागि सुरु गर्नुपर्छ।

पुनःनिर्माणको मोड

अहिले आफ्नो नेतृत्वको सरकारले गरिरहेका लोकप्रिय कामहरूको व्यापक स्वामित्व लिएर माओवादीले अघि बढ्नु पर्दछ। माओवादीको आजको पहिलो चुनौती भनेकै सरकारले गरिरहेका राम्रा कामहरूको सही र दिगो संगठनात्मक रूपान्तरण हो।

०६२/६३ को आन्दोलनपछि माओवादी निरन्तर जस्तै सरकारमा छ। पहिलो, हामी लामो समयदेखि सत्ताको नेतृत्वमा छौं। दोस्रो, नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय वैधता प्राप्त भएको छ। तेस्रो, यसको नेतृत्व जनताको बीचमा, पार्टी भित्र-बाहिर, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थापित नेतृत्व छ। यी माओवादीका राम्रा पक्षहरू हुन्। जसले यसलाई राम्रो आकार र पहिचान दिएको छ। यी पक्षहरूको व्यापक सदुपयोग नगरी वा यसको गहिराइसम्म आन्तरिक पङ्क्तिमा स्थापित नगरी अघि बढ्न कठिन छ।

माओवादीका केही नकारात्मक पक्षहरू पनि छन् जसले पार्टीलाई ठहरावमा राख्न भूमिका निर्वाह गरेको छ। पहिलो, आजको माओवादी आन्दोलनसँग आवश्यकता अनुरूप स्पष्ट वैचारिकी छैन जसले यसलाई रणनैतिक रूपमा लामो समयसम्म अगाडि लैजान सकोस्। आजको कर्मलाई कहाँनेर लगेर नेपाल परिवर्तन र रूपान्तरणको आन्दोलनसँग जोड्ने भन्ने र आजकै कर्मलाई पनि हिजोकोबाट अलग कहाँबाट गर्ने भन्नेमा वैकल्पिक राजनीतिको रूपमा एउटा स्पष्ट वैचारिकी बनाउन सकेको छैन।

दोस्रो, नेतृत्व स्थापित भएको छ तर यो भित्रैबाट सुगठित छैन। यसभित्रका अवययहरू गतिशील भएको र एकअर्काको आन्तरिक स्वीकार्यता राम्रो भएको स्थिति छैन। हिजोको माओवादी पार्टी अनेकौं धाराहरूमा विभाजित भएको छ। एउटै माओवादी पार्टीभित्र पनि अनेकौं धाराहरू छन्। पार्टीले यसबाट अनेकौं समस्या भोगिरहेका छौं। यसरी सुगठित, संगठित नहुनु माओवादी पार्टीको अर्को समस्या हो।

साथसाथै, केही पुराना दागहरू छन् जसलाई हामीले राम्ररी मेटाउन सकेका छैनौं। कम्युनिष्ट आन्दोलनमा लागेका, माओवादी धारामा लागेका अनगिन्ती पुराना दागहरू छन्। जस्तै, लोकतन्त्र, हिंसा, हामीले संहालेका मन्त्रालयहरूका काम र मन्त्रीहरूको पर्फर्मेन्सका बारेमा, नेताहरूका सम्बन्ध र सञ्जालका बारेमा अनगिन्ति प्रश्नहरू छन्। पब्लिक अडिटमा उत्तीर्ण हुन नसकेर ती दागहरूसहित हामी छौं। त्यो पनि हाम्रो एउटा नकारात्मक पक्ष हो।

मा‌ओवादीसँग नयाँ अपिलिङ पावर पनि घट्दो छ। जनयुद्धले एउटा अपिल गरेको थियो। पञ्चायतकालले एउटा अपिल गरेको थियो। राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको पक्षमा लड्नको लागि आज सकारात्मक कुराहरू हुँदाहुँदै पनि यसको अपिल पावर कमजोर छ। कम्तिमा नागरिकलाई अपिल गरेको अनुभूति छैन।

यी पक्षहरूका कारण हामी राम्रो र सकारात्मक उभारका साथ नेपालको माओवादी आन्दोलन अगाडि बढाउन सकेका छैनौं। सकारात्मक र नकारात्मक कुराहरूलाई सँगसँगै बोकेर हामी ठहरावको स्थितिमा छौं।

यसरी नेपालको माओवादी आन्दोलनलाई पुनःउभारको चरणमा लैजान आजको नेतृत्वको अगाडि चुनौती खडा भएको छ। अहिले बसिरहेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले त्यो चुनौतीलाई सामना गर्न सक्नेगरी आफूलाई तयार गर्न प्रयत्न गरिरहेको छ।

हामीले नेताले अर्को नेता बनाउने कामको लेठो लिंदै आयौं। आफूलाई आइलागेको सिंगो कार्यभारलाई ध्यान दिएर ‘पर्फर्मान्स’ मार्फत् नेतृत्वमा कोही आइपुग्छ भन्ने कुराको अपेक्षा गर्ने भन्दा पनि नेताले अर्को नेता नियुक्त गर्ने कुरामा मरिहत्ते गर्ने समस्या माओवादीमा छ। तजबिजमा होइन, योग्यतामा नेतृत्व निर्माण गर्ने कुरामा माओवादीले ध्यान दिनुपर्छ। यसका लागि निर्वाचनका पनि अनेकौं मोडेलका हुनसक्छन्। यसमा पर्याप्त छलफल गरेर जानुपर्ने हो।

हामी ठूला ठूला कुरा गरेर मात्र हिंड्दैनौं, साना साना कामहरूमा पनि ध्यान दिन्छौं भनेर व्यवहारिक पुष्टि दिन माओवादीले सकेन। यस्ता विषयमा हामीले माओवादी पहिचानलाई स्थापित गर्नुपर्छ।

अहिले त पार्टीमा नेतृत्वका अनगिन्ती सहायक सम्बन्ध र सम्झौतापूर्ण सहकार्यले भूमिका निर्वाह गर्न थालेको छ । त्यो पनि राजनीतिक भन्दा अन्य प्रकारका सम्झौतापूर्ण सहकार्यले भूमिका निर्वाह गर्ने र नेतृत्वमा आवश्यक पर्ने सक्षम मान्छे कम आइपुगेर अरु अनेकौं सम्झौता हुने कारणले माओवादी पार्टीको संगठनमा समस्या परिरहेको छ।

स्वार्थ समूहलाई साथ दिने, सिनियर र सक्षम नेतालाई तल माथि दुवै तिरबाट छेक्ने संस्कार पार्टीमा बढ्दो छ। यसलाई नसच्याई माओवादी पुनःनिर्माणको प्रक्रिया सुरु नै हुँदैन।

पार्टीमा बिस्तारै डिलरसीपमा विकास भैरहेको छ। डिलरसीप अथवा निश्चित व्यक्ति वा समूहको आँखाबाट पार्टीका तल्ला कमिटीहरूलाई हेर्ने तरिका। कुनै तहको नेतृत्वलाई कुनै पात्र कुनै खास समयमा चित्त बुझ्दो भयो भने त्यसले सिंगो भूगोल वा संस्था र जनसंगठनलाई त्यही आँखाबाट हेर्ने प्रयत्न र बानी माओवादीमा विस्तारै विकास हुँदै गएको छ। यसमा ठूलो बदलाव गरेर जानुपर्छ। जारी केन्द्रीय समितिमा यसबारे छलफल भैरहेको पनि छ।

माथिदेखि तलसम्म नेतृत्वको जिम्मेवारीको सन्दर्भमा ठूलो बदलाव ल्याउन सके मात्र यसले माओवादी पार्टी पुनर्निर्माणको एउटा ठोस कामको सुरुवात हुन्छ।

माओवादीको पहिचान

विगतमा माओवादीको पहिचान जनयुद्ध थियो। अबको पहिचानबारे माओवादी बेलैमा हुनुपर्ने जति सचेत हुन सकेन। त्यसो भैदिएको भए आजको प्रतिस्पर्धाको राजनीतिमा पहिल्यै असफल भएर गन्हाएका कांग्रेस एमालेहरू फेरि आज जस्तो हावी भएर आउन सक्ने थिएनन्।

माओवादी भ्रष्टाचार विरोधी पार्टी हो। तर माओवादीका नेता कार्यकर्ताहरू भ्रष्टाचार गर्दैनन् भन्ने कुरा कर्मबाट स्थापित भएन। माओवादी नेताहरू सत्यका लागि लड्छन् र शक्तिसामु झुक्दैनन् भनेर हामीले कामद्वारा नै स्थापित गर्न सकिएन।

हामी ठूला ठूला कुरा गरेर मात्र हिंड्दैनौं, साना साना कामहरूमा पनि ध्यान दिन्छौं भनेर व्यवहारिक पुष्टि दिन माओवादीले सकेन। यस्ता विषयमा हामीले माओवादी पहिचानलाई स्थापित गर्नुपर्छ।

माओवादीको यो पहिचान हो भन्ने कुरामा साझा र संस्थागत ढंगले निर्क्यौल गर्नुपर्छ र त्यसमा सम्झौता गर्नुहुँदैन । त्यसबाहेक बाँकी कुराहरूमा आवश्यकता अनुसार लचिलो भएर जानुपर्छ। यी कुरामा नेतृत्वको ध्यान पुगेको छैन।

आजको राजनीतिमा समाजवादतर्फ जाने, राजनीति र अर्थतन्त्रलाई पुनर्संरचना गर्ने, भ्रष्टाचारको विरोध गर्ने, जनताका साना कामहरूलाई पनि सम्बोधन गर्ने र सत्यको लागि लड्ने पार्टीका रूपमा माओवादीलाई स्थापित गर्नुपर्छ। यी कामहरू गर्न सके माओवादी आगामी दिनमा नेतृत्वदायी भूमिकामा पुनः फर्केर आउने संभावना छ।

राजनीतिक नेतृत्व र उनीहरूको भूमिका बारे संसारमा अनेकौं बहस भएका छन्। हामीले तिनीहरूलाई ध्यान दिनुपर्छ। एक दशक अघि संसारका कैयौं देशहरूको तुलनात्मक अध्ययन गरेर अमेरिकी लेखकद्वयले ‘ ह्वाई नेशन्स फेल’ पुस्तक लेखे। उनीहरूको निष्कर्ष छ- जहाँ राजनीतिक नेतृत्व जनताप्रति समर्पित छ, उसको नियत सही छ, त्यहाँ साना र कमजोर देश हुँदा पनि ठूलो परिणाम दिन सक्छन्।

हाम्रो नेतृत्वको हकमा पनि यो कुरा लागु हुन्छ। हाम्रो तुलनात्मक अविकास, पछौटेपन, कुशासनको कारण के हो ? यसबारे कम्युनिष्ट पार्टीले जवाफ खोज्नुपर्छ र हाम्रा अगाडि उभिएका आगामी चुनौतीबारे तयार रहनुपर्छ।

उता हन्टिङ्टनले सभ्यताहरूको टकराव नै २१ औं शताब्दीको विशेषता भनेका थिए। हामीसँग बहुसभ्यता जोडिएका समाज छ। माओवादीले पटक-पटक पहिचानको मुद्दा उठाए पनि यसलाई कसरी लिएर जाने भन्नेबारे स्पष्टता छैन। कोशी प्रदेशको नामाकरण बारे यति ठूलो बहस भइराखेको छ।

भर्खरै एकजना महिलाले एउटा जाति बारे दिएको अभिव्यक्तिमा सडकदेखि अदालतसम्म बहस पुगेको देखेकै छौं। हामीसँग रहेका फरक फरक खालका सभ्यताहरूलाई कसरी लिएर जाने भन्ने बारेमा कम्युनिष्ट पार्टीभित्र एउटा अलग खालको बहसको आवश्यकता छ।

प्रविधिलाई एक्काइसौं शताब्दीको ठूलो चुनौती बताउने युवल नोह हरारीले २१ औं शताब्दीका प्रमुख तीन चुनौतीबारे बोलेका छन्। उनका अनुसार ती हुन्- आणविक युद्ध, पर्यावरण विनास र प्राविधिक विकास। यी तीनै विषयबाट हामी पनि प्रत्यक्ष प्रभावित हुन्छौं। हाम्रो सन्दर्भमा यी बाहेक अरु महत्वपूर्ण एजेन्डा के हुनसक्छन् ? हाम्रा भूराजनीतिक सवालहरू के हुन् ? यी सवालमा दूरदृष्टि राखेर कम्युनिष्ट पार्टीले पहलकदमी लिनुपर्छ र सिंगो समाजलाई अगाडि डोहोर्‍याउनुपर्छ।

बहसको माध्यमबाट पार्टी र आन्दोलनको पनि नेतृत्व गर्ने सवालमा हाम्रा अपुग भएका छन्। माओवादी आन्दोलनमा उल्लेखित बिषयमा खरो बहस गर्न सक्ने दिग्गज नेताहरू उल्लेख्य छन्। पार्टीले यस्तो पंक्तिलाई सही ढंगले परिचालन गरी समाजलाई माओवादी धारमा अगाडि बढाउन संभव हुन्छ।

लेखकको बारेमा
युवराज चौलागाईं

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?