+
+

एकीकृत समाजवादीमा सांसदको भूमिकालाई लिएर उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १६:०५

२१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार सुरु भएको स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकामा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

‘संसदलाई संसद जस्तो गरिमामय बनाउने हिसाबले विषयबस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्‍यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन्’, उनले भने ।

एकीकृत समाजवादीका नेताहरुले एमालेले संसद बैठक नै बस्न नदिएको भन्दै आलोचना पनि गरेका छन् । ‘जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन’ तुलाधरले भने, ‘सदनको एक मिनेटको बिजनेस भनेको पनि असाध्य महत्वपूर्ण कुरा हुन्छ । अब त्यो चाहिँ प्रतिपक्षले जे गरिरहेको छ । त्यो चाहिँ बेठीक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन् ।’

शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।

एकीकृत समाजवादीले पार्टीको १० औं महाधिवेशन आगामी माघमा गर्ने तयारी गरेको छ । उपमहासचिव तुलाधरका अनुसार अब भदौ पहिलो साता बस्ने पोलिटब्यूरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?