
२२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई घरमै मल बनाउन मिल्ने ‘कम्पोष्ट बिन’ बाँड्ने भएको छ ।
महानगरले एक सूचना निकाल्दै सहुलियत दर १ हजार ५ सय रुपैयाँमा वातावरण विभाग टेकुबाट बाँड्ने जनाएको हो ।
घरबाट निस्कने कुहिने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी घरमा कम्पोष्ट मल बनाउन महानगरले सहुलियत दरमा ‘कम्पोष्ट बिन’ उपलब्ध गराउन लागेको हो ।
महानगरपालिकाका बासिन्दाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभागको कार्यालय टेकुबाट लिनसक्ने विभागले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले गत वर्ष २०७९ साउन १ गतेपनि फोहोर वर्गीकरण भन्दै सूचना निकालेको थियो । तर ४ महिनासम्म फोहोर वर्गीकरण गर्न सकेको थिएन ।
स्रोत मै फोहोर वर्गीकरण योजना असफल भएपछि महानगरले पर्याप्त तयारी नपुगेको स्वीकार गरेको थियो ।
महानगरपालिकाका वातावरण विभागका अनुसार यो वर्ष कुहिने फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा नलैजाने गरी महानगरले तयारी गरिरहेको छ ।
‘स्थान अभावले हामीले कम्पोष्ट प्लान्ट निर्माण गर्न सकेका छैनौं । फोहोर वर्गीकरण भएर ल्याण्डफिल साइट जाने हो भने अहिलेको भन्दा ३० प्रतिशत फोहोर कम हुने थियो,’ वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले बताए ।
प्रतिक्रिया 4