+
+

रमाना नलिए र नदिए कारबाही हुन्छ : मन्त्री मोदी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १८:३७

२२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरुवा भइसकेकाहरुले रमाना नलिए वा रमाना नदिएको खण्डमा कारबाही हुने चेतावनी पनि दिएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री मोदीले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरीपरी रहेका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेको बताए ।

‘कसैप्रति आग्रह र पूर्वाग्रह छैन । कसैप्रति म आग्रह र पूर्वाग्रह बोकेर हिँड्ने मान्छे म होइन । देश र जनताप्रति उत्तरदायी र हित सोचेर काम गर्न आवश्यक ,’ उनले भने,‘सुशासन कायम गर्ने कुराको सुरुवात सामान्य प्रशासन मन्त्रालयबाट हुनुपर्छ । हामी यही अभियानमा छौं ।’

उनले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने पनि बताएका छन् । देशले नतिजा खोजिरहेको भन्दै मोदीले एउटा ऐन बनाउन वर्षौंवर्ष लाग्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि पोखे । ‘यस्तो लम्बेतान प्रक्रियाले हुँदैन । जनतालाई लम्बेतान प्रक्रिया होइन, नतिजा चाहिएको छ,’ उनले भने ।

संघीय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको ढिलाइको उदाहरण दिँदै उनले कानुन र अर्थमा सहमतिका लागि पठाउने, सहमति प्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषदमा पठाउने अनि संसदमा लैजानेसहितको लम्बेतानको प्रक्रियाले चाँडो नतिजा दिन नसक्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?