+
+

सुनकाण्डमा जोकसैको संलग्नता देखिए कठघरामा उभिनुपर्छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १५:३०

२४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने बताएका छन् ।

छानबिनबाट जो कोही नेता वा व्यक्ति संलग्न भएको देखियो भने न्याय सम्पादनलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’, पुनले उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्दै पेरिसँडाडामा बुधबार भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’

पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औंल्याए ।

पुनलाई केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको बिदाई पनि कार्यक्रममा गरियो । पोखरेल मधेस प्रदेशको इन्चार्जमा सरुवा भएका छन् ।

कार्यक्रममा पोखरेलले पुनजस्तो सक्रिय र राजनीतिक कुशलता भएको नेता पाएको भन्दै विशेष प्रदेश समितिलाई बधाई दिए । पुनले आगामी निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुने बताए ।

उनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्ने सक्ने अवस्था आएको बताए ।पार्टीहरुले यसअघि नागरिकका घरघरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनको भनाइ थियो ।

‘आजको युग प्रविधिको युग हो । पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ’, उनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?