+
+
Shares

बिचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १६:५२

२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बिचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्ने बताएका छन् ।
आफूहरूले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको उनको भनाइ छ ।

राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफलमा पूर्वअर्थमन्त्री पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरूले बिचौलिया भन्दै आएको उनको भनाइ थियो ।

‘हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौं,’ पुनले भने, ‘कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौं । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।’

पुनले निजी क्षेत्रलाई चालक सिटमा राखेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे । रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरू आफैं खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भन्दै उनले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

पुनले कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई करका दर हेरफेरमा हुने चलखेल रोक्न पनि सुझाव दिए । अर्थमन्त्रीका रूपमा चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आफूले कसैलाई फाइदा र कसैलाई नोक्सान हुने गरी करका दरमा हेरफेर नगरेको प्रष्टीकरण पुनले दिए ।

‘चालु आर्थिक वर्षको बजेट बनाउँदै गर्दा मैले कुनै अमुक व्यापारिक घरानालाई फाइदा र कसैलाई घाटा हुने गरी करका दर हेरफेर गरिनँ । यो कुरा म आज पनि सबै व्यवसायीका अगाडि आँखामा आँखा जुधाएर भन्न सक्छु,’ उनले भने, ‘अहिलेका अर्थमन्त्रीलाई पनि म कसैको दबाबमा नपरी त्यसै गर्न सुझाव दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?