+
+

ब्रोइलर कुखुराको मासुमा एन्टिबायोटिकको डर कति ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन २४ गते १८:२५

काठमाडौं । कुखुराको मासुलाई प्रोटिनको खजाना भनिन्छ । जिम धाउनेहरूले प्रोटिनको लागि ब्रोइलर कुखुराको मासु धेरै खाने गरेको पाइन्छ । कुखुराको मासुमा प्रोटिन, क्याल्सियम, एमिनो एसिड, भिटामिन बी ३, भिटामिन बी ६, म्याग्नेसियम र अन्य महत्त्वपूर्ण पोषक तत्त्वहरू पाइन्छ ।

तर अप्राकृतिक ढंगले उत्पादन गरिएको बोइलर कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ भन्ने विभिन्न अध्ययनले बताइरहेका छन् ।

बोइलर कुखुराहरूको रोगप्रतिरोधात्मक क्षमता अत्यन्तै कम हुन्छ । त्यसैले उनीहरूलाई एन्टिबायोटिक दिइन्छ, ताकि रोगप्रतिरोधात्मक क्षमता बढोस् । कुखुरालाई दिइएको त्यो औषधिको असर मासुमा पनि रहन सक्छ । त्यस्तो मासु खाँदा केही न केही असर मान्छेलाई गर्न सक्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउँछन् ।

‘ब्रोइलर कुखुराको मासुलाई राम्ररी स्टोर गरिएन वा राम्ररी पकाएर खाइएन भने मासुमा भएको एन्टिबायोटिकले झन् धेरै असर हुन्छ,’ उनी भन्छन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक सुरज सुवेदी कुखुरालाई रोग लाग्दा एन्टिबायोटिक दिनुपर्ने भए पनि केही दिनमै यसको असर सकिने भएकाले मानव शरीरमा नकारात्क प्रभाव पर्ने सम्भावना कम हुने बताउँछन् ।

‘ब्रोइलर कुखुराको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यसैले उनीहरूलाई रोग लागेको खण्डमा एन्टिबायोटिक त दिनैपर्छ । तर त्यो एन्टिबायोटिक खाएर पूर्ण रूपमा निको भइसकेपछि मात्र कुखुरा बजारमा बिक्रीको लागि जान्छ,’ उनी भन्छन्, ‘जसले गर्दा केही दिनमा त्यो एन्टिबायोटिकको असर सकिएको हुन्छ र मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने सम्भावना कम हुन्छ ।’

एन्टिबायोटिक चलाएर तुरुन्तै त्यो बोइलर कुखुरा बजारमा बिक्री गरियो र त्यो कुखुरालाई मानिसले सेवन गर्दा भने मानिसमा पनि त्यो एन्टिबायोटिकले असर गर्न सक्ने पशु चिकित्सक सुवेदी बताउँछन् ।

विभिन्न जिल्लामा परीक्षण गर्दा केही कुखुरामा एन्टिबायोटिकको मात्रा बढी पाइएको छ । तर भयावह रूपमा एन्टिबायोटिकको प्रयोग भने भएको नपाइएको उनले बताए ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले २०७९-८० मा  कुखुराको मासुमा औषधिको अवशेषबारे गरेको अनुसन्धान अनुसार दाङमा ६० वटा कुखुराको परिक्षण गर्दा दुईवटामा औषधिको अवशेष बढी पाइएको छ ।

एन्टिबायोटिकको असर मासु खानेलाई पनि हुन सक्छ

नियमित रूपमा एन्टिबायोटिक औषधियुक्त कुखुराको मासु सेवन गर्नाले शरीरले बिस्तारै एन्टिबायोटिक्स विरुद्धको प्रतिरोधक क्षमता विकास गर्ने खाद्य अनुसन्धान अधिकृत रायमाझी बताउँछन् । ‘औषधि खुवाइएका कुखुराको मासु खानाले मानिसको शरीर त्यस एन्टिबायोटिक प्रतिरोधी बन्न जाने र त्यसपछि रोग लागेको बेला उक्त एन्टिबायोटिक औषधि खाँदा त्यसले काम नगर्ने समस्या पैदा हुन्छ,’ उनी भन्छन् ।

बन्दकोठामा विभिन्न औषधि, हार्मोन, अशुद्ध खाना खुवाएर हुर्काइएको बोइलर कुखुरामा विषादी कलेजोमा मात्र नभई मासुमा पनि बस्ने गर्छ । त्यस्तै प्रकारका बोइलर कुखुराको कलेजो सेवन गर्दा मिर्गौला, कलेजो जस्ता मुख्य अंगहरुमा असर गर्न सक्ने रायमाझी बताउँछन् ।

एन्टिबायोटिक प्रयोग भएको मासुको सेवनले आजभोलि मोटोपनको समस्या बढी देखिनुका साथै ग्रोथ हार्मोनले बालबालिकालाई हलक्क बढाइरहेको उनी बताउँछन् । ‘बोइलर कुखुराको मासु लामो समय खाइरहँदा मासुमा भएको एन्टिबायोटिक मानिसको शरीरमा पनि पुग्ने भयो,’ रायमाझी बताउँछन् ।

एन्टिबायोटिक दिने बित्तिकै कुखुरालाई बिक्री गर्नु हुँदैन

जसरी मान्छे बिरामी हुँदा निको हुन एन्टिबायोटिक खाइन्छ, त्यसरी नै कुखुरालाई पनि बिरामी हुँदा एन्टिबायोटिक दिइन्छ । यसरी एन्टिबायोटिक दिइएको कुखुरा सबै मानव स्वास्थ्यका लागि हानिकारक नहुने पशु चिकित्सक सुवेदी बताउँछन् ।

एन्टिबायोटिकको प्रकृति हेरेर ४८ देखि ७२ घण्टासम्म त्यसको प्रभाव मासुमा रहन्छ । त्यसैले एन्टिबायोटिक दिएको ४८ देखि ७२ घण्टा पछि मात्र कुखुरा बिक्रीको लागि बजारमा पठाउनुपर्छ । यो कुरामा व्यवसायीहरू सचेत हुनुपर्ने केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाकी प्रमुख डा. शर्मिला चापागाईँ बताउँछिन् ।

बोइलर कुखुराको मासुको गुणस्तर मापन हुन जरुरी

बोइलर कुखुराको मासु प्रोटिनको राम्रो स्रोत हो । साथै यसमा क्याल्सियम, एमिनो एसिड, भिटामिन बी ३, भिटामिन बी ६, म्याग्नेसियम र अन्य महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छ । तर कुखुरामा धेरै मात्रामा प्रयोग हुने एन्टिबायोटिकले मानव स्वास्थ्यमा दीर्घकालीन रूपमा नकारात्मक असर पनि गर्न सक्ने खाद्य अनुसन्धान अधिकृत रायमाझी बताउँछन् ।

बोइलर कुखुरामा एन्टिबायोटिक लगाउँदा त्यसको स्वास्थ्य अवस्थाको पहिचान गरेर प्रयोग गर्ने तरिका, मात्रा र समयमा ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी व्यावसायीलई दिन सकियो भने मात्र यो समस्याबाट बच्न सकिने उनी बताउँछन् ।

कुखुरालाई धेरै मात्रामा एन्टिबायोटिक दिंदा त्यसको असर मानव स्वतथ्यमा पनि पर्न सक्छ भन्ने कुरालाई ध्यान दिएर सरकारले यसबारेमा बोइलर कुखुरा पालन गर्ने व्यवसायीलाई सचेत गराउनुपर्ने रायमाझी सुझाउँछन् ।

‘बोइलर कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग धेरै हुँदा त्यसको सेवनले मानव स्वास्थ्यमा असर गर्छ भन्ने कुराको अध्ययन विश्वभर भइरहेको छ,’ उनी भन्छन् ।

नेपालमा बोइलर कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग मात्रा भन्दा धेरै भएको छ कि छैन भन्ने कुराको अनुसन्धान गर्ने र व्यवसायीलाई एन्टिबायोटिकको प्रयोग मात्रा भन्दा धेरै गर्न नहुने कुरामा सचेत गराउन सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने रायमाझी बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?