+
+

कांग्रेसमा ३० वर्षपछि सूर्यबाबुको सादर सम्झना

कांग्रेसले आफ्ना चार संस्थापकमध्ये एक सूर्यप्रसाद उपाध्यायलाई तीन दशकसम्म उपेक्षा गर्‍यो । बीपीसँग दूरीमा रहेका सूर्यप्रसादलाई संस्थापक नेताकै रुपमा सम्मान गर्ने सभापति शेरबहादुर देउवाले प्रतिवद्धता जनाएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन २४ गते २०:२८

२४ साउन, काठमाडौं । कांग्रेसका संस्थापकमध्ये दुई नेता बीपी कोइराला र सूर्यप्रसाद उपाध्यायको स्मृति दिवस एकै महिनामा पर्छ । ६ साउन बीपी स्मृति र १५ साउनमा सूर्यप्रसादको स्मृति दिवस । ‘सान्दाजु’ बीपीको सम्झना कांग्रेसमा उत्सवसरि आउँछ । ‘सूर्यबाबु’ को सम्झना भने ग्रहण लागेसरि ।

अस्ति भर्खरै त हो, साउन ६ मा वीपी स्मृति दिवस ‘रुख रोपौं’ अभियानसहित धुमधाम मनाइयो । कार्यक्रम केन्द्रीय तहबाट नै निर्देशित थियो । सबै वडा कार्यसमितिले रुख रोप्ने अभियान सञ्चालन गर्ने कार्यक्रमको प्रारुप महामन्त्रीले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक क्यालेण्डरमा उल्लेख छ ।

अर्का संस्थापक नेता ‘सूर्यबाबु’को स्मृति दिवसमा भने कांग्रेसले कुनै कार्यक्रम राखेन । यो वर्ष कुनै नयाँ कुरा भएको भने होइन । सूर्यप्रसादको उपेक्षा कांग्रेसमा तीन दशकयता हुँदै आएको छ ।

पार्टी कार्यालयका तस्वीर, अनि औपचारिक समारोहहरुमा उपाध्याय उपेक्षित रहँदै आए पनि २० साउनमा एउटा समारोह भयो, जहाँ सभापति शेरबहादुर देउवा प्रमुख पाहुना बनेर पुगेका थिए । सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले स्मृति सप्ताह अन्तर्गत राखेको कार्यक्रममा उनले सूर्यबाबुको योगदान सम्झिए ।

गलत इतिहास पढाइएकाले उपाध्याय माथि अन्याय भएको बुझाइ क्रमशः कांग्रेसमा विकसित भएको छ । त्यसै बुझाइले हुनुपर्छ, सभापति देउवाले ‘बिग फोर’ संस्थापक नेतामा एक जना नेता उपाध्याय रहेको स्वीकार गरेका छन् ।

नेपाली प्रजातन्त्र कांग्रेसलाई नेपाली राष्ट्रिय कांग्रेससँग एकीकरण गरी नेपाली कांग्रेस स्थापना गराउन भूमिका खेलेका उनै उपाध्यायलाई पार्टीले किन बेवास्ता गर्दै आएको होला ? पछिल्लो समय कांग्रेसभित्र समेत यो चासो व्यक्त हुँदै आएको छ ।

गलत इतिहास पढाइएकाले उपाध्याय माथि अन्याय भएको बुझाइ क्रमशः कांग्रेसमा विकसित भएको छ । त्यसै बुझाइले हुनुपर्छ, सभापति देउवाले ‘बिग फोर’ संस्थापक नेतामा एक जना नेता उपाध्याय रहेको स्वीकार गरेका छन् ।

‘सूर्यप्रसाद उपाध्याय हाम्रो नेता हुनुहुन्थ्यो । सूर्यबाबु, सूर्यबाबु भन्थ्यौं । अहिलेसम्म छुट्नुभएको छ’, पछिल्लो केन्द्रीय समिति बैठक अन्त्य गर्ने क्रममा देउवाले भने, ‘कहाँ राख्ने के राख्ने पछि मिलाउँला कुरा । वीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय हुने गरी निर्णय गरौं ।’

त्यसो त, ४० को दशक अघिसम्म कांग्रेसका चार खम्बाका रुपमा गणना हुँदा सूर्यप्रसादको नाम छुट्दैनथ्यो ।

पार्टीभित्र उपाध्यायलाई अन्याय हुँदै आएको नेता अर्जुननरसिंह केसीले बेला बेला भन्दै आएका छन् । केन्द्रीय समितिको अन्तिम दिनको बैठकमा (१० साउनमा) केसीले पार्टीभित्र उक्त विषय पुन उठाएका थिए ।

केसीले बोल्दाबोल्दै सभापति देउवाले संस्थापक नेता सूर्यप्रसादका बारेमा निर्णय लिने जानकारी दिए ।

राजासँगको निकटता, जेलबाट अरु नेता भन्दा छिटो रिहा हुनु, भारतसँगको सम्बन्ध लगायतमा सूर्यप्रसादलाई शंकाको दृष्टिकोणबाट हेरिएको थियो । सूर्यप्रसादका विषयमा भ्रम फैलाउने कार्य स्वयं बीपीबाट भएको समेत जानकारहरु दाबी गर्छन् ।

‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकमा नेता केसीले सूर्यप्रसादलाई कांग्रेसको दिमाग र सिद्धान्तकारका रुपमा परिभाषित गरेका छन् ।

पार्टी र कार्यकर्तालाई आर्थिक रुपमा सघाउने दुई नेता रहेको इतिहासका जानकार एवं कांग्रेस नेताहरु बताउँछन् । पार्टीलाई आर्थिक सहयोग पुर्‍याउने सुवर्ण शमशेर राणा थिए भने कार्यकर्ताका लागि सूर्यप्रसाद थिए ।

‘कार्यकर्ताहरुको संरक्षणका लागि उहाँले पुर्‍याउनुभएको योगदानको मूल्यांकन भएको छैन । पञ्चायतका ती कष्टसाध्य दिनमा कांग्रेस कार्यकर्ताका लागि संरक्षक कोही थियो भने किसुनजी र सूर्यबाबु हुनुहुन्थ्यो’, केसी भन्छन् ।

तत्कालिन राजासँगको निकटता, जेलबाट अरु नेता भन्दा छिटो रिहा हुनु, भारतसँगको सम्बन्ध लगायतमा सूर्यप्रसादलाई शंकाको दृष्टिकोणबाट हेरिएको थियो । सूर्यप्रसादका विषयमा भ्रम फैलाउने कार्य स्वयं बीपीबाट भएको समेत जानकारहरु दाबी गर्छन् ।

‘प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्वः सूर्यप्रसाद उपाध्याय’ मा प्राध्यापक लोकराज बरालले लेखेका छन्, ‘जेल जर्नल लेख्दा राजा मान्दिनँ भन्ने, आत्मवृत्तान्त लेख्दा राजासँग घाँटी जोडिएको छ भन्ने बीपीले सूर्यप्रसादलाई सधैं अर्घेलो देखे ।’

२०१५ सालको निर्वाचनमा दुई स्थानबाट उम्मेदवार बनेका उपाध्यायलाई बीपीले नै हराउन भूमिका खेलेको आरोप समेत लागेको थियो । काठमाडौं क्षेत्र नम्बर ५ र १४ नम्बर रामेछापबाट पराजित भएका उनलाई बीपीले आफ्नो मन्त्रिमण्डलमा भने सहभागी गराए ।

२०१७ पुस १ मा तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्था अपदस्थ गरेपछि उपाध्याय पनि जेल परे । आठ महिनामा उनी रिहा हुँदा अन्य संस्थापक नेतालाई महेन्द्रले छुट्न दिएनन् । शंकाको बीऊ यसबाट झनै थपियो ।

राजाको निकट भएकाले उपाध्याय रिहा भएको आशंका पार्टीभित्र फैलियो । राजा महेन्द्रले सूर्यबाबुलाई माया गरे पनि बीपीको विरुद्धमा उनी नभएको २०२२ सालमा मन्त्रिमण्डलमा रहेका नवराज सुवेदी स्मरण गर्छन् ।

उनै सुवेदी २०२५ सालमा गृह राज्यमन्त्री बने । गृहराज्य मन्त्री पद भए पनि अधिकार गृहमन्त्रीको बराबर भएको उनी दाबी गर्छन् । सूर्यप्रसादले बीपीलाई रिहा गर्न राजासँग पटक पटक आग्रह गरेको उनले सुनाए ।

सूर्यप्रसादकै कारणले बीपी छुट्न ढिलो भएको तर्क इतिहासको गलत व्याख्या भएको सुवेदी बताउँछन् ।

बीपीले आत्मवृत्तान्तमा सूर्यप्रसादबारे विभिन्न प्रसंगमा गरेका टिप्पणी नकारात्मक भएकामा जानकारहरुको गुनासो छ । जेलभित्र बस्दा समेत सूर्यप्रसादको भूमिका शंकास्पद किसिमको हुने गरेको बीपीले किताबमा उल्लेख गरेका छन् ।

राजा महेन्द्र, तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा, सूर्यप्रसाद उपाध्याय र गृहमन्त्री सुवेदी चार जनाको संयुक्त भेटबाट नै बीपी छोड्ने निर्णय भएको नवराज सुवेदी दाबी गर्छन् । तत्कालिन समयमा महेन्द्रले भनेको नवराज स्मरण गर्छन्,‘बीपीलाई छोड्ने कुुरा निर्णय भएको चार जनाबाहेक कसैलाई थाहा नहोस् ।’ २०२५ को कात्तिकमा बीपी रिहा भएका थिए ।

सूर्यप्रसाद माथि इतिहासमा भनिँदै आएको उनी राजा नजिक थिए । राजासँग सम्बन्ध बढाएकै कारण पार्टीभित्र उनी र बीपीबीच शंका पैदा भएको हो । कांग्रेसका संस्थापक नेतामध्ये सूर्यप्रसाद राजासँग नजिक भएपनि पार्टीको अहितमा काम नगरेको तत्कालिन मन्त्री सुवेदी बताउँछन् ।

सूर्यबाबु कांग्रेसप्रति समर्पित भएको सुवेदीले इतिहासको तथ्य समेत सुनाए । सूर्यबाबु नाताले सुवेदीको जेठान पर्ने हुनाले उनको आउजाउ भइरहन्थ्यो । सुवेदी सूर्यबाबुकहाँ आउने जाने गरेको राजा महेन्द्रले सुइँको पाए ।

अन्य स्वार्थ नभएको तर पारिवारिक सम्बन्ध भएकाले भेटघाट हुने गरेको सुवेदीले राजालाई स्पष्टीकरण दिए । २०२१ सालमा तुलसी गिरीलाई सत्ताबाट हटाएपछि महेन्द्रले सुवेदीलाई बोलाए ।

प्रधानमन्त्री बन्नका लागि सूर्यबाबुलाई मनाउन सुवेदीलाई निर्देशन दिए । महेन्द्रको निर्देशन अनुसार उनी सूर्यप्रसाद कहाँ गए । २०२२ सालको प्रारम्भतिरको समय थियो । महेन्द्रको प्रस्ताव मानिदिनुस् भन्न सुवेदी सूर्यबाबुकहाँ पुगे ।

सुवेदीका अनुसार सूर्यबाबुले दुई शर्त राखे । पहिलो शर्त, बीपी, गणेशमान लगायत सुन्दरीजल जेलमा जो छन्, ती छुट्न पर्‍यो । दोस्रो शर्तमा सूर्यप्रसादले निर्वासनमा रहेका नेतो कार्यकर्तालाई आम माफी हुनुपर्‍यो ।

कांग्रेसको इतिहासको तथ्यसंगत लेखनी आउन नसकेका कारणले सूर्यबाबुमाथि अन्याय भएको सूर्यप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष रमेशकुमार ढुंगेल बताउँछन् ।

सूर्यबाबुले आफूलाई भनेको तत्कालीन बोली स्मरण गर्दै सुवेदी भन्छन्, ‘यी दुई कुरा भए प्रधानमन्त्री त के सहायकमन्त्री खान पनि राजी हुन्छु ।’

बीपी रिहा भएपछि सूर्यबाबु र उनको सम्बन्ध प्रगाढ नरहेको अर्को सन्दर्भले चर्चा पायो । रिहा भएका बीपीलाई भेट्न जाँदा सूर्यबाबुतिर उनले फर्केर पनि हेरेनन् । उक्त प्रसंग इतिहासको अर्को झुट रहेको सुवेदी बताउँछन् ।

कांग्रेसले सूर्यबाबुप्रति भ्रम पालेको सुवदीको बुझाइ छ । ‘त्यस्तो व्यक्ति सूर्यप्रसादको ‘स’ पनि ३० वर्षसम्म उच्चारण गरेन कांग्रेसले । कांग्रेस बाहिर हुनेका लागि समेत यो दुःख लाग्ने कुरा हो ।’

जवाहरलाल नेहरु र इन्दिरा गान्धीको रोजाइमा सूर्यबाबु परेको हुँदा पनि उनी र बीपीबीच सम्बन्ध समधुर नभएको आशंका गरिँदै आएको छ । भारतीय स्वतन्त्रता आन्दोलनका नेता रफी अहमद किदवाइसँग भारतीय स्वतन्त्रता संग्रामका माध्यमबाट सूर्यबाबु नजिकिएका थिए । किदवाई जवाहरलाल नेहरुका विश्वासपात्र थिए ।

बीपी भने भारतको सोसलिस्ट पार्टीसँग नजिकिएका थिए । यही टाढा–नजिकका दलीय सम्बन्धका आधारमा बीपीले सूर्यबाबुलाई शंकाको दृष्टिकोणले हेरेको इतिहासका जानकार बताउँछन् ।

कांग्रेसको इतिहासको तथ्यसंगत लेखन आउन नसकेका कारणले सूर्यबाबुमाथि अन्याय भएको सूर्यप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष रमेशकुमार ढुंगेल बताउँछन् ।

‘अहिलेसम्म जे जति कांग्रेसको इतिहास हामीलाई पस्किदिएर ल्याएका थिए । राजा र भारतको नजिक भनेर लेखिएको इतिहास पढियो । त्यसको प्रभाव हामीलाई पर्‍यो’, ढुंगेल भन्छन् ।

सूर्यप्रसाद उपाध्यायका १३ सय बढी सन्दर्भ सामग्री अध्ययन गरेपछि उनीबारे गलत इतिहास लेखिएको अवगत आफूलाई भएको ढुंगेल बताउँछन् । तथ्यगत सामग्री प्राप्त नभएकाले कतिपयले तानतुन गरेर लेखेको बाध्यता आफूलाई सुनाएको ढुंगेलले बताए ।

‘उहाँहरुले लेखेको इतिहास त्यही तानतुन गरिएको कहिंकहिं बङ्याइएको भयो । सूर्यबाबुका १३ सय सन्दर्भ सामग्री नपस्केसम्म उहाँबारेको इतिहास गलत हुन्छ’ ढुंगेल भन्छन् । जेल जर्नललाई इतिहास मान्न नसकिने ढुंगेल ठोकुवा गर्छन् ।

यसरी कांग्रेस स्थापना गरेर पनि तीन दशकसम्म उपेक्षित पात्र सूर्यप्रसादलाई पछिल्लो केन्द्रीय कार्यसमिति बैठकसँगै पार्टीका संस्थापक नेताका रुपमा सम्मानपूर्वक पुनस्र्थापना गर्न नेतृत्व तयार भएको ठानिएको छ । पार्टीको दैनिक जीवन र क्यालेन्डरमा त्यसको कार्यान्वयन होला कि नहोला भन्ने जिज्ञासा भने छँदै छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?