+
+

इक्वेडरमा राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १०:०५

२५ साउन, काठमाडौं । इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ । इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो ।

बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीन गोली लागेको छ ।

इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा पूर्वपत्रकार समेत रहेका ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए । पत्रकारितामा संलग्न रहँदा उनले भ्रष्टाचार र अपराधिक गतिविधिका विरूद्ध लेख्दै आएका थिए ।

गत साता मात्रै उनले आफू र आफ्नो समूहलाई लागुऔषध ओसार प्रसारमा संलग्न गिरोहले धम्की दिएको बताएका थिए । इक्वेडरमा लागू औषध कारोबार र संगठित अपराध चिन्ताको विषय बनेको छ ।

इक्वेडरका वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले फर्नान्डोको मृत्यु भएको पुष्टि गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नलाई दण्ड दिनेसमेत बताएका छन् । लासो भने यसपटकको राष्ट्रपति निर्वाचनको उम्मेदवार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?