+
+

७ वर्षअघि ‘अपरेशन क्वाक’मा जोगिएका सुनिल शर्मा

नवराज सिलवाल ब्यूरो प्रमुख भएका बेला उनी पक्राउ परिने डरले भागेर जापान पुगेका थिए । पछि महानिरीक्षक नियुक्तिको रस्साकस्सीबीच अपरेशन क्वाकले निरन्तरता पाएन । तर, सात वर्षपछि सीआईबीले फेरि नक्कली शैक्षिक प्रमाण पत्रबाहक चिकित्सकको पुरानो फाइल खोलेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन २५ गते २२:०६
पक्राउ गरेर ल्याइएपछि सीआईबीमा सुनिल शर्मा । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

२५ साउन, काठमाडौं । सात वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १० जिल्लामा एकसाथ अपरेशन चलाएर ३६ जना नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गर्‍यो ।

‘अपरेशन क्वाक’को निरन्तरता स्वरुप प्रहरीले पछि थप २० जनालाई पक्राउ गरेर ५६ जना चिकित्सकलाई कानुनी दायरामा ल्यायो ।

त्यसबेला अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार, सीआईबीले भारतको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट जारी आइएस्सीको शैक्षिक प्रमाण–पत्र बोक्ने ९२५ जना चिकित्सकको प्रमाण–पत्र जाँच गरेको थियो । मेडिकल काउन्सिलको परीक्षामा पटकपटक अनुत्तीर्णसहितका चिकित्सकहरुको प्रमाण–पत्र छानबिन हुँदा १४१ जना चिकित्सकको प्रमाण–पत्र ‘भेरिफाइ’ भएन ।

‘नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को टोलीलाई समेत लिएर सीआईबीका अनुसन्धान अधिकृतहरु बिहारस्थित कलेजमै समेत पुगेका थिए’, एक पूर्वप्रहरी उच्च अधिकृतले भने, ‘त्यसक्रममा १४१ जनाको शैक्षिक प्रमाण–पत्र पुष्टि भएको थिएन ।’

तीमध्ये ५६ जना पक्राउ परे पनि बाँकी ८५ जनाविरुद्ध कारबाही भएको थिएन । प्रहरी कारबाहीबाट बच्नेमध्ये एक थिए नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा ।

नवराज सिलवाल ब्यूरो प्रमुख भएका बेला उनी पक्राउ परिने डरले भागेर जापान पुगेका थिए । पछि महानिरीक्षक नियुक्तिको रस्साकस्सीबीच अपरेशन क्वाकले निरन्तरता पाएन । तर, सात वर्षपछि सीआईबीले फेरि नक्कली शैक्षिक प्रमाण पत्रबाहक चिकित्सकको पुरानो फाइल खोलेको छ ।

सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित सांसद् सुनिल शर्माले १५ दिनअघि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

शर्माले १० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन प्रकरणमा भरिया मात्र पक्राउ गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संसदमै राजीनामा मागेका थिए ।

त्यसलगत्तै अनुसन्धानको राडारमा परेपछि शर्माको गिरफ्तारीमाथि प्रश्न उठेको छ । शर्माको सचिवालयले विज्ञप्ति जारी गरेर संसद्‍मा दिएको अभिव्यक्तिको प्रतिसोध साँध्न पक्राउ गरिएको दाबी गरेको छ ।

तर, सीआईबी निर्देशक एआईजी किरण बज्राचार्य उनको अभिव्यक्ति र गिरफ्तारी संयोग मात्र भएको बताउँछिन् ।

‘पुराना घटनाहरुमाथि सीआईबीले निरन्तर अनुसन्धान गरिरहेको थियो, सुनिल शर्माको हकमा पछिल्लो समय नक्कली शैक्षिक प्रमाण पत्र लिएको पुष्टि भएपछि पक्राउ गरेका हौं’, उनले भनिन्, ‘अरु विषयसँग कुनै सम्बन्ध छैन ।’

तर, गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अभिव्यक्ति आएको दुई सातापछि प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहने सीआईबीले बिहीबार उनलाई पक्राउ गरेपछि अपरेशनप्रति संशय देखिएको छ । ब्यूरोले भने शर्मासहित ५ जनालाई हिरासतमा लिएको बताउँदै अपरेशन अझै जारी भएको बताएको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार, बेलबारी–९, मोरङका शर्मा लेटाङ माध्यमिक विद्यालयबाट ‘तेस्रो श्रेणी’मा एसएलसी उत्तीर्ण भएपछि अर्को वर्ष पुन: एसएलसी दिन कालिकोट गएका थिए । ‘त्यसबेला कम अंक आएकाले उनी एक जना आफन्तको घरमा कालीकोटतिर गएका रहेछन्, त्यहाँबाट एसएलसी दिँदा प्रथम श्रेणीमा पास भएछन्’, उनीमाथि छानबिनमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसपछि उनले भारतमा गएर आइएस्सीको प्रमाण–पत्र ल्याएको देखिन्छ ।’

प्रहरीका अनुसार, भारतको बीडीबीकेएस कलेज, फरवेजगञ्जबाट उनले १९९६ मा आईएस्सी उत्तीर्ण गरेको नक्कली प्रमाण–पत्र ल्याएको सीआईबीका अधिकृतहरु बताउँछन् । तर, शर्माले भने आफूले त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाण पत्र मात्र नलिएको दाबी गर्दै आएका थिए ।

तर, शर्माको शैक्षिक प्रमाण–पत्र आफ्नो रेकर्डमा उल्लेख नभएको व्यहोराको पत्र बिहार विद्यालय परीक्षा समिति (उच्च माध्यमिक) ले पनि केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको अधिकृतहरु दाबी गर्छन् ।

‘नवराज सिलवाल सा’बकै पालामा त्यो पत्र सीआईबी आइपुगेको थियो, अहिले फेरि पत्र मगाइएको हो वा त्यही आधारमा समातिएको हो, थाहा छैन’, ब्यूरोमा काम गरेका एक पूर्वप्रहरी अधिकृतले भने, ‘त्यसबेला उनलाई राजनीतिक पहुँचले पनि साथ दिएको थियो ।’

भारतबाट ल्याएको त्यही शैक्षिक प्रमाण पत्रको आधारमा उनी २०५६ सालतिर चीनको सिन्स्याङ मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न गएका थिए । ‘एमबीबीएस पनि उनले पूरा गरे नगरेको स्पष्ट छैन’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बरु उनले त्यही कलेजमा कार्यक्रम निर्देशक पदमा जागिर खाएको देखिन्छ ।’

तर, चीन गएको सात वर्षपछि उनी एमबीबीएस उत्तीर्ण गरेको प्रमाण–पत्र लिएर फर्किएको पाइएको अधिकृतहरु बताउँछन् । ‘त्यो प्रमाण पत्रमाथि पनि छानबिन गर्नुपर्ने देखिन्छ’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

सीआईबीले बिहीबारै संघीय संसद् सचिवालयलाई पत्र लेख्दै शर्मालाई पक्राउ गरिएको जानकारी समेत दिएको छ । सीआईबीका अनुसन्धान अधिकृतहरुका अनुसार, ब्यूरोले सुरुमा १६ जना चिकित्सकलाई पक्राउ गर्ने तयारी गरेको थियो ।

तर, साँझसम्ममा अधिकृतहरुले ५ जना चिकित्सकलाई मात्र पक्राउ गर्न सफल भएका छन् । सूचना चुहिँदा केही चिकित्सकहरु फरार भएको अधिकृतहरु दाबी गर्छन् ।

हालसम्म पक्राउ पर्नेमा शर्मासहित पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ । सीआईबीले शर्मासहितका चिकित्सकलाई पक्राउ गर्न चलाएको यो अपरेशनलाई ‘फोक्सट्रोट चार्ली’ नाम दिएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?