
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ।
- केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो र उनी तत्कालीन सत्ता गठबन्धनको दबाबमा जिम्मेवारीबाट हटाइएका थिए।
- यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि सीआईबी कार्यवाहकको भरमा चलिरहेको थियो ।
५ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकारी मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।
तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका दबाबका कारण केसी जिम्मेवारीबाट हटाइएका थिए । उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो ।
त्यही कारण उनले एमाले–कांग्रेस गठबन्धनको सरकारमा समेत राम्रो पोष्टिङ पाएका थिएनन् । उनी अहिले प्रदेश समन्वय विभागमा थिए ।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।
यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि सीआईबी कार्यवाहकको भरमा चलिरहेको थियो ।
प्रतिक्रिया 4