 
																			२६ साउन, काठमाडौं । संघीय संसदको दुवै सदनमा शुक्रबार नयाँ दृश्य देखा परेको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दल दुवै अवरोधको शैलीमा प्रस्तुत भए । एमालेका सांसदहरूले उठेर अवरोध गरिरहेको बेला सत्तारुढ सांसदले पनि उठेर विरोध गरे ।
बिहान ११ बजे बसेको राष्ट्रिय सभाको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरूले समसामयिक विषयमा धारणा राखे । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजेपछि एमालेले अवरोध ग¥यो । त्यसपछि अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । लगत्तै सत्तारुढ दलका सांसदहरूले पनि उठेर विरोध गरे ।
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले समय नलिएर ‘तय भएको कार्यसूची अगाडि बढाउन आग्रह गरे ।’ अध्यक्ष तिमिल्सिनाले ‘कार्यसूची अगाडि बढाउन खोज्दा ढ्याप ढ्याप भएकाले के भन्न खोजेको त्यो सुन्न’ का लागि एमाले सांसदलाई समय उपलब्ध गराएको जवाफ फर्काए ।
एमाले सांसद श्रेष्ठले आफूले समय पाएकाले बोल्ने अनुमति मागे । अध्यक्ष तिमिल्सिनाले ‘सबै उठेर त के बोलाइ हुन्छ ? त्यो त भएन । उठी–उठी संसदको मर्यादा, हाम्रो प्रक्रियाहरूले उठेको बेलामा बोल्दा त्यो रेकर्डमा नरहने’ जवाफ दिए ।
‘सत्तापक्ष उठेपछि कमसेकम प्रतिपक्ष बस्नुस् । यस्तो पनि भएको छ भने, हाम्रो इतिहासमा राम्रै हुन्छ’ सत्तारुढ सांसदहरू उठेकोमा अध्यक्ष तिमिल्सिनाले व्यङ्ग्य गरे, ‘सत्तापक्षका माननीयहरूलाई प्रतिपक्षप्रति कति सद्भाव रहेछ उहाँहरू मात्रै किन उठ्ने भनेर उठ्नुभएको छ ।’ सबै उठेपछि कोही बोल्न नपाएको कारण थाहा नपाएको भन्दै उनले प्रश्न गरे, ‘उठी–उठी हाउस चलाउने नयाँ अभ्यास गरौं ?’
करिब १५ मिनेटसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदहरू उभिइरहेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा भएका सबै विषय हटाइदिए र बैठक स्थगित गरे ।
तल्लो हाउसमा उस्तै दृश्य
राष्ट्रिय सभाको जस्तै दृश्य दिउँसो १ बजे बसेको प्रतिनिधिसभाको बैठकमा दोहोरियो । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले उठेर अवरोध गरे । सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिए । लगत्तै सत्तारुढ दलका सांसदहरूले उठेर विरोध गरे । एमाले सांसद बोल्न थालेपछि ढ्याप ढ्याप गरेर डिस्टर्ब गरे ।
आफूले समय दिएको सांसदले बोल्न थालेपछि सत्तापक्षबाट उठेर विरोध, ढ्याप ढ्याप गर्दै बोलेर होहल्ला गरेपछि सभामुख देवराज घिमिरे केही कड्किए । सभा संचालनको जिम्मेवारी आफूमा रहेको भन्दै आफ्नो नियमको पालना गर्न ध्यानाकर्षण गरे ।
‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीय ज्वालाकुमारी साहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहरूको कुरा के हो त्यो म सुनाउने छु’, सभामुख घिमिरेले भने ।
तर, सत्तारुढ दलका सांसदहरूले मानेनन् । उल्टै ‘सदनमा सबैको कुरा सुन्नुपर्ने’ भन्दै सभामुखमाथि नै प्रश्न उठाए । त्यसपछि सभामुख घिमिरेले सभा आफ्नो नियन्त्रणमा चल्ने जवाफ फर्काए- ‘माननीय सदस्यहरू आलोपालो, मैले नियन्त्रण गरेको हुनुपर्नेछ । मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नुपर्नेछ ।’
होहल्ला बीच एमाले सांसद साहले नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेकोमा आपत्ति जनाइन् । म्याद सकिइसकेको विषयमा बखेडा झिकेर डा. शर्मालाई पक्राउ गरिएको उनको आरोप थियो ।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद शर्मा बिहीबार पक्राउ परेका थिए । बिहीबार अपराह्न शर्मालाई अदालतले तारेखमा राख्न आदेश दिएको छ ।
सत्तापक्षका सांसदहरूको होहल्लाले ‘कुरा नसुनिएको’ भन्दै सभामुख घिमिरेले एमाले सांसद साहलाई बस्न आग्रह गरे । लगत्तै एमाले सांसदहरूले वेल घेरे र नाराबाजी सुरु गरे । वेलमा प्रमुख प्रतिपक्षका सांसदहरूले नाराबाजी गरिरहँदा आफ्नै सिटबाट सत्तारुढ दलका सांसदहरू सभामुखसँग बोल्नका लागि समय मागिरहेका थिए ।
संसदमा यस्तो दृश्य १५ मिनेटसम्म देखियो । त्यसपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेको सबै विषय हटाइदिए र बैठक स्थगित गरिदिए ।
नेतृत्वको पहल निष्फल
३१ असार २०८० पछि प्रतिनिधिसभाको कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । ४ साउन २०८० यता बसेको राष्ट्रिय सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदलाई झण्डै एक महिनादेखि कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।
एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । सत्तारुढ दलहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकाले त्यो नटुंगिएसम्म अर्को प्रकारको छानबिन समिति बनाउन नसकिने अडान राख्दै आएका छन् । तर प्रमुख विपक्षी र सत्तापक्षका सांसदहरूको भने आ–आफ्नै तर्क र जिकिर छन् ।
प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गर्ने नयाँ शैली अपनाएको टिप्पणी गर्छन् एमाले सांसद रघुजी पन्त । ‘प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको हो’ उनी भन्छन्, ‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरीत पनि छ ।’
तर, सरकारले सुन काण्डमा अनुसन्धान सुरु गर्ने वित्तिकै अर्को छानबिन समिति गठनको माग राखेर संसदलाई बन्धक बनाउने काम एमालेबाट भएको कांग्रेस सांसद राजेन्द्र केसीको आरोप छ ।
निरन्तरको प्रयासका बाबजुद संसद चल्न नदिने र संसदमा एकपक्षीय कुरा मात्रै सुनिने अवस्था तोड्न संसदमा उभिएरै विरोध गर्नुपरेको उनी बताउँछन् ।
उनी प्रश्न गर्छन्, ‘सुरुमै एमालेले अवरोध गर्ने, एमालेका सांसदलाई बोल्न दिने र त्यसपछि एमालेले संसदमा नाराबाजी गर्ने । प्रमुख प्रतिपक्षको यो दृश्य टुलुटुलु हेरेर सत्तापक्ष कहिलेसम्म बस्ने ?’ कांग्रेसकै अर्का सांसद प्रदीप पौडेल संसद अवरोध खुलाउन सबै जिम्मेवार हुनुपर्ने बताउँछन् । उनको छोटो टिप्पणी छ, ‘संसद अवरुद्ध गरेर गाईजात्रा देखाइएको छ ।’
संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने उनको भनाइ छ । ‘संसदको अवरोध खुलाउनु मुख्य रूपमा तीन शीर्ष नेताहरूको जिम्मेवारी हो’, उनले भने ।
सदनको अवरोध खुलाउने प्रयासका लागि शीर्ष नेताहरू पटक-पटक छलफलमा बसेका छन् । २२ साउनमा सभामुख घिमिरेको पहलमा सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता र सभामुखका बीचमा छलफल भएको थियो ।
सभामुख सहितका शीर्ष नेताहरू २३ साउनमा प्रधनमन्त्री निवास बालुवाटारमा पनि बसे । शुक्रबार मात्रै सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटे । तर, निकास निस्किएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारका अनुसार सत्तापक्षको अडान र प्रमुख प्रतिपक्षको हठका कारण संसद बन्धक भएको छ ।
यसबीचमा सभामुख सहित शीर्ष नेतृत्वले गरेका प्रयास असफल हुँदा संसद मुठभेडतर्फ उन्मुख भएको उनलाई लाग्छ । परिणाममा जनजीविकाका कुनै पनि विषय संसदमा उठाउन नपाइएको उनको गुनासो छ ।
‘यो वा त्यो बहानामा संसद बन्धक भयो । विस्तारै मुठभेडतर्फ गए जस्तो भएको छ । यसको मार जनतामा परेको छ । जनताका विषय सदनमा उठाउन पाइएको छैन’, प्रमुख सचेतक परियारले अनलाइनखबरसँग भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4