+
+

सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गर्‍यो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १८:१०

२७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दु:ख दिएको बताएका हुन् ।

उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । … युवा हुँदा पढेको आईएस्सीको सर्टिफिकेट मामिला निकालेर… त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने ।

एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गरेको ओलीले बताए ।

‘मैले प्रधानमन्त्रीलाई भनें यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुँदैन, उहाँहरुले बुझ्नुपर्छ यो त सुरु मात्र भयो’ ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकार अधिनायकवादी भएर चल्ने होइन ।’

सुनिल शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने भन्दै ओलीले संसदमा सुनकाण्डको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका हुन् । ‘पार्लियामेन्टमा सुनकाण्डको विरोध गरेपछि अचानक हत्कडी लगाउन आयो । किन भन्दा उहिले तिमी विद्यार्थी हुँदा छेउको साथीको चिट चोरेका थियौं नि …!’ ओलीले भने ।

आफूहरुले सुन तस्करी प्रकरणको सत्यतथ्य छानबिनका लागि निष्पक्ष समिति बनाउन माग गर्दा सरकारले नमान्नु रहस्यपूर्ण भएको ओलीले बताए । ‘उहाँहरु निष्पक्ष छानबिन समिति बनाउन मान्नुहुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्नुहुन्छ, त्यसोभए एयरपोर्टमा किन छानबिन गर्नुभएन’ ओलीले भने ।

उनले अगाडि भने, ‘निष्पक्ष छानबिन समिति बनाऔं, आयोग बनाऔं, त्यसले नभएको कुरा त ल्याउँदैन होला । ’

सरकारले निष्पक्ष छानबिन गर्न नदिएको मात्र नभई अहिले त सुन तस्करी विरुद्ध संसदमा आवाज पनि उठाउन नदिएको ओलीले बताए । ‘प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष जर्‍याकजुरुक उठेर हाहुहाहु गर्न थाल्छ । सत्तापक्षले मात्र बोल्न पाउँछ, प्रतिपक्षले बोल्न पाउँदैन’, उनले भने ।

संसदको समय खेर फाल्नुहुन्न भन्नेमा आफूहरु सजग रहेको जिकिर गर्दै ओलीले भने, ‘तर चोर उम्काउन पनि भएन नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?