+
+
ज्ञानयोग :

मान्छे कसरी ज्ञानी हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १३:१७

शाब्दिक रुपमा ज्ञानयोग दुई वटा शब्द मिलेर बनेको छ, ज्ञान र योग ।

ज्ञान एक शब्द ज्ञ धातुले बनेको हो यसको अर्थ हो थाहा पाउनु र योगको अर्थ जोड्नु हो । यसप्रकार ज्ञानयोगको शाब्दिक अर्थ थाहा पाउने प्रक्रिया हो । गहन रुपमा विचार गर्ने हो भने यसको अर्थ वृहत हुने गर्छ ।

आफैको थाहा पाउन वा बुझ्नको लागि आफैले आफैलाई मिलाउने ज्ञानयोग हो ।

ज्ञानको आयम

ज्ञानयोगको आशय बुझ्नको लागि पहिला ज्ञानलाई जान्न जरुरी हुन्छ । सामान्यत कुनै पनि विषय अथवा बस्तुको सम्बन्ध जानकारी प्राप्त गर्नुलाई ज्ञान भनेर बुझिन्छ । यहि विचार र शक्तिको आधारमा हामी सबै काम गर्ने गर्दछौं ।

ज्ञान कुनैपनि विषय-वस्तुको तहसम्म जाने एक सशक्त साधन हो । यसलाई प्राप्त गर्ने विभिन्न मार्ग र स्रोत हुन्छन्  । इन्द्रियद्वारा उत्पन्न अनुभव ज्ञानको स्रोत हो । संसारमा हरेक विषयमा पुस्तक उपलब्ध हुन्छ, जसको अध्ययन गरेर जानकरी प्राप्त गर्ने गरिन्छ । यो अरुको अनुभवमा पनि आधारित हुने गर्दछ । यो अरुसँग कुराकानी गरेर वा अरूको नक्कल गरेर पनि आउँछ ।

ज्ञान शब्दसँग धेरै अर्थ जोडिने गर्दछन् । जस्तै लौकिक र अलौकिक ज्ञान, साधारण र असाधारण ज्ञान, प्रत्यक्ष र अप्रत्यक्ष ज्ञान आदि ।

ब्रम्हाण्ड, सामान्य र प्रत्यक्ष ज्ञान बाह्य संसारसँग सम्बन्धित हुन्छ । तर ज्ञान अन्तर्गत केवल बाह्य जगतबाट प्राप्त ज्ञान वा जानकारी मात्र हुँदैन । यस अन्तर्गत वस्तुहरूको आकार र प्रकारको बारेमा मात्र जानकारी समावेश गरिएको हुँदैन । यसमा संसारमा रहेका सबै वस्तुको मूल रूप जान्नु पनि ज्ञानमा समावेश गरिएको छ ।

अनुभववाद सिद्धान्तका अनुसार ज्ञानको स्रोत बाह्य जगत हुनेगर्छ । बाहिरी बातावरणबाट प्राप्त अनुभवबाट आउने गर्दछ । जन्मको बेला बच्चाको मन सफा र सादा कागज जस्तै हुन्छ । जसमा जे पनि लेख्न सकिन्छ । तर जब विस्तारै बाहिरी बातावरणको सम्पर्कमा आउँदै जान्छ तब विचारको चिन्ह मस्तिष्कमा बाहिर आउन थाल्छ ।

जबकि बुद्धिवाद सिद्धान्तका अनुसार ज्ञानको उत्पत्ति बुद्धिबाट हुने गर्दछ । ज्ञान एउटा अनुभवमा मात्र सिमित हुँदैन । यो सत्यसम्म जाने साधन हो । भावनामा उत्पन्न गलत र अस्थायी हुने गर्दछ ।

ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ र त्यसमा विवेक जगाउँछ । विवेक सोचको जरा हो । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो । चाहे त्यो अनुभवबाट प्राप्त भएको होस् वा बुद्धिबाट प्राप्त भएको होस्, ज्ञानको अर्थ यसको सार्थक प्रयोगमा हुन्छ ।

सन्त कबीरले सामान्य मानिसका लागि बुद्धिलाई पनि महत्व दिएका छन् । राम्ररी विचार गरेर बाटो निर्धारण गर्नु बुद्धिमानको लक्षण हो । म को हुँ र मैले के गर्नुपर्छ भन्ने सोचले ज्ञानको निर्धारण गर्छ । बुद्धि शब्दलाई मानिसको तेस्रो आँखाको संज्ञा दिइएको छ । जहाँ ज्ञानले ब्रह्माण्डको रहस्य पत्ता लगाउन सक्षम छ, यो आफैलाई जान्ने माध्यम पनि हो ।

ज्ञानको उदय

जब मन परिष्कृत हुन्छ, तब ज्ञानको उदय हुन्छ । ज्ञानमार्गको यात्राले अन्धकारबाट उज्यालोमा लैजान मद्दत गर्दछ । गहिरो अर्थमा यो एउटा तत्व हो, जुन अन्तरदृष्टि द्वारा प्राप्त हुने गर्छ र यो भित्री दर्शन आध्यात्मिक अभ्यास वा साधनाबाट आउने गर्छ । यस अन्तरदृष्टिलाई जगाउने अभ्यास नै ज्ञानयोग हो ।

ज्ञान एक साधना हो । जसले ईश्वरको स्वरुप, आत्मा र परमात्माको बारेमा जान्ने माध्यमको रुपमा काम गर्छ । यो तत्व प्राप्त गर्न मानिससँग जिज्ञासा हुनुपर्छ । जुन कुनै पनि विषयवस्तु जान्न वा आफैलाई जान्न पनि चाहिन्छ । ज्ञानद्वारा मानिसले भौतिक र आध्यात्मिक संसारलाई बुझ्न सक्छन् । तर यसका लागि मनमा जिज्ञासा हुनुको साथै जिज्ञासालाई फलदायी बनाउने प्रयास पनि आवश्यक हुन्छ । यो ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो । तर यो साधना सजिलो भने छैन । यो बाटो निकै कठिन छ ।

पश्चिमी चिन्तक प्लुटोले पनि विचारको ईश्वरीय क्रम र आत्मा अर्थात् परमात्माको प्रकृति जान्नु नै वास्तविक ज्ञान हो भनेका छन् । पूर्विय विचार परम्परामा ज्ञान एक महत्वपूर्ण तत्व हो ।

सत्यम् शिवम् सुन्दरम् अर्थात् सत्य नै शिव हो, शिव नै सुन्दर हो । यो सम्पूर्ण सृष्टि नै शिवमा समाहित हुन्छ । पूर्विय विचारधारामा ‘बसुधैव कुटुम्बकम’ भन्ने अर्को एउटा कुरा पनि प्रमुख रूपमा भनिएको छ !

महर्षि अरविन्दले पनि यो तथ्य वा कुरालाई स्वीकार गरेका छन् । उनका अनुसार संसारका सबै मानव एउटै विशाल चेतनाको अंश भएकाले उनीहरुसँग एउटै चेतना छ । उनीहरु सबै एकै परिवारका सदस्य हुन् । यी तथ्यहरू, र तिनीहरूमा निहित सत्यलाई जान्नु नै ज्ञानयोगको लक्ष्य हो ।

श्रीमद्भागवत गीतालाई उपनिषदको श्रेणीमा राखिएको छ । गीतालाई योगशास्त्र पनि भन्ने गरिन्छ । मानव मनलाई तीन आयाममा विभाजन गरिएर हेर्ने गरिन्छ । संज्ञानात्मक, भावनात्मक र कार्यात्मक हुन् । गीतामा यी तीनै आयामका अनुसार ज्ञानयोग, भक्तियोग र कर्मयोगमा प्रकाश पारिएको छ ।

श्रीमद्भागवत गीतामा दुई प्रकारका ज्ञानको वर्णन गरिएको छ- तार्किक र आध्यात्मिक ज्ञान । तार्किक ज्ञानमा बुद्धिको प्रधानता हुन्छ । यो प्रमाण र प्रयोगमा आधारित छ । यसमा जानेर जानेको द्धिविधा हुन्छ । जबकि अध्यात्म ज्ञानमा ज्ञाता र ज्ञाता बीच द्धिविधा हुँदैन । यो ज्ञान असाधारण, अलौकिक र अप्रत्यक्ष छ । यसको अनुभव गर्नको लागि आकांक्षीले अभ्यास र साधना गर्नुपर्छ ।

विवेकानन्दको ज्ञान योग..!

आधुनिक युगमा स्वामी विवेकानन्दका विचार पनि ज्ञानयोग अन्तर्गत समावेश छन् । उनले ज्ञान सम्बन्धी दिएको प्रवचनलाई ‘ज्ञानयोग’ नामक पुस्तकमा संकलित गरिएको छ । उनको ‘ज्ञान योग’ वेदान्त दर्शनमा आधारित छ । उनकाअनुसार यस विधिको उद्देश्य बाह्य संसारका अवास्तविक बस्तुहरुबाट ध्यान हटाउनु हो, जुन असत्य र अवास्तविक हुन्छन् । त्यसपछि मानिस ध्यान तत्वमा केन्द्रित हुनुपर्छ, जुन सत्य र वास्तविक हो ।

स्वामी विवेकानन्दका अनुसार  धर्मको वास्तविक बीउ इन्द्रियको सीमा पार गर्ने संघर्ष हो । मानिसलाई तबसम्म मानिस भन्न सकिन्छ जबसम्म उनीहरुले प्रकृतिभन्दा माथि उठ्न निरन्तर संघर्ष गर्छ । यो प्रकृति बाह्य र आन्तरिक दुवै हुन्छ । यस प्रकृति भित्र, हाम्रो शरीर र बाहिरका अवयवहरूलाई नियन्त्रण गर्ने नियमहरू मात्र छैनन्, तर त्यस्ता सूक्ष्म नियमहरू पनि छन्, जसले वास्तवमा बाह्य प्रकृतिलाई नियन्त्रण गर्ने आन्तरिक प्रकृतिलाई नियमन गर्दछ । बाह्य प्रकृतिलाई जित्नु भन्दा पनि भित्री प्रकृतिलाई जित्नु सयौं गुणा राम्रो हो । जसले मानिसको आवेग, भावना र इच्छाहरू नियन्त्रण गर्ने नियम सिकाउँछ ।

साधारण मानिसको स्वभाव भौतिकवादी हुन्छ । इन्द्रिय आनन्द तिनीहरूको लागि सर्वोपरी हुन्छ । उनीहरु प्राय बाहिरी दुनियाँमा व्यस्त हुन्छन् र उनीहरु बाहिरी दुनियाँमा मात्र सुख खोजिरहेका हुन्छन । यद्यपि, यो पनि सत्य हो कि यी गतिविधिहरूबाट कसैले आनन्द प्राप्त हुँदैन । जसले केही समयको लागि मात्र सुख प्राप्त मिल्छ । यस्ता मानिस विरलै हुन्छन्, जसलाई यो कामबाट सन्तुष्टि मिल्दैन, त्यसबाट छुटकारा पाउन खोज्छन् ।

विवेकानन्दले भनेका छन्, ‘इन्द्रियहरूको सीमाभन्दा पर गएर एक आध्यात्मिक मानिसको विकास हुन्छ । यी सबै चीजहरूको लागि दिनरातको प्रयास आफैमा सबै मानवीय प्रयासहरूमध्ये सबैभन्दा उदात्त र महित्वपूर्ण छ । तल्लो तहका मानिसले इन्द्रियजन्य सुखमा मात्र आनन्द पाउँछन् । तर जो सुसंस्कृत र शिक्षित हुन्छन््, उनीहरूले चिन्तन, दर्शन, कला र विज्ञानमा आनन्द पाउँछन् । यो भन्दा पनि उच्चस्तरको हो अध्यात्म । विशुद्ध उपयोगितावादी दृष्टिकोणबाट सुख प्राप्ति नै मानिसको लक्ष्य हो भने पनि धार्मिक चिन्तन गर्नुपर्छ, किनकि त्यसैमा परम सुख हुन्छ ।’

ज्ञानीहरूका अनुसार वास्तविक ज्ञान भनेको आत्मबोध हो । यो अनुभवमा लैजाने मार्ग हो अध्यात्मिकता । यहि अध्यात्मतर्फ लैजाने संघर्ष नै ज्ञानयोग हो । यहि संघर्ष  मानिसलाई अज्ञानताभन्दा पर लैजाने मद्दत गर्छ ।

यो सङ्घर्षको बीउ फुल्छ र ज्ञानको रुखमा परिणत हुन थाल्छ । ज्ञानयोगको अर्थ शुद्ध आत्माको साक्षात्कार गर्नु पनि हो । उपनिषदमा यसलाई ब्रह्म प्राप्तिको संज्ञा दिइएको छ । साथै आफूलाई आफूसँग जोड्ने अभ्यास नै ज्ञानयोग हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?