+
+

यसरी सिर्जना भएको थियो बार्बी डल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १३:३७

काठमाडौं । ‘आहा, बार्बी डल जस्तो देखिएकी छौ ।’

कोही सुन्दर युवतीको प्रशंसा गर्दा धेरैले प्रयोग गर्ने वाक्यांश हो यो । बार्बी डल यस्तो खेलौना हो, जसलाई देख्दा धेरैलाई आफ्नो बाल्यकालमा फर्काएर नोस्टाल्जिक बनाउँछ ।

बार्बी नाममा सिर्जना गरिएको यो खेलौनासँग हरेक बालबालिका खेल्न चाहन्थे । विशेषगरी छोरी मान्छेको लागि सबैभन्दा मनपर्ने खेलौना हो । तर यो पुतली कसरी बन्यो भन्ने कथा धेरै कमलाई थाहा छ । विश्वभरका बालबालिकाको बाल्यकाललाई विशेष बनाएको ‘बार्बी डल’ अहिले वृद्धा भएकी छिन् ।

यद्यपि, अहिले पनि बार्बीकै नाम लिएर धेरैजसो व्यापार फस्टाएका छन् । बार्बीकै कथामा हालै हलिउड फिल्म ‘बार्बी’ रिलिज भयो । ग्रेटा जरविङ निर्देशित यो फिल्मले विश्वव्यापी रुपमै आक्रामक कमाइ गर्‍यो ।

कहिले आइन बार्बी ?

सन् १९५९ मा पहिलोपटक बार्बी डल बजारमा देखिइन् । उनले जेब्रा प्रिन्ट कपडा लगाएकी थिइन् । बजारमा आएको पहिलो बार्बी डल तीन डलरमा बिक्री भयो । सुरुकै वर्षमा नै तीन लाख ५० हजार बार्बी डल बिक्री भयो ।

बार्बी के हो ?

बार्बीको पूरा नाम बार्बरा मिलिसेन्ट रोबर्ट्स हो । उनको बुबाको नाम जर्ज रोबर्ट्स र आमाको नाम मार्गरेट हो । बार्बीले आफ्नो पढाइ न्युयोर्कमा गरिन् । जनावरप्रेमी उनीसँग जनावर मात्र ४० वटा थियो । जसमा बिरालो, कुकुर, घोडा, पान्डा र बाघ पनि समावेश छन् । उनको आफ्नै पिंक कलरको गाडी र जीप समेत थियो ।

कहाँबाट आयो ?

एक अमेरिकी बिजनेस वुमेन रुथ ह्याण्डलरले आफ्नी छोरी बार्बरालाई कागजबाट बनेको खेलौनासँग खेलेको देख्दा मानिस जस्तै देखिने खेलौना बनाउने जुक्ति आयो । त्यसपछि उनले त्यो कुरा श्रीमान् इलियटलाई बताइन् । इलियट एक खेलौना कम्पनीका संस्थापक थिए ।

उनले एक जर्मन डल विल्ड लीलीलाई देखेर एउटा नयाँ पुतली बनाए । जसको नाम उनले आफ्नो छोरी बार्बराको  नाम मिलाएर  बार्बी राखे ।  बार्बीको धेरै जना साथी र भाइबहिनी पनि छन् ।

रुथ ह्यान्डलर

बार्बीको करिअर

बार्बीले आफ्नो जीवनमा थुप्रै भूमिका निभाइन् । बार्बीलाई बनाउने उद्देश्य यो पनि एक थियो । रकस्टारदेखि लिएर जनावरको डाक्टरसम्म गरी ८० वटा विधामा उनले काम गरिन् । बार्बीको पहिलो करिअर टीनएज फेसन मोडलको रुपमा थियो ।

त्यसबेला केही एसियाली देशबाट बार्बीको ठाउँमा ‘फुल्ला’ नामको खेलौना आउँथ्यो । जसलाई मुस्लिम सभ्यताको हिसाबबाट डिजाइन गरिएको थियो । इरानमा बार्बी ड्रेसका कारण सारा र डारा नामको पुतली बनाइयो ।

बार्बीको नामबाट धेरै व्यापार

बार्बीको नाम यति चर्चित बन्यो कि एनिमेटेड फिल्म ‘टोय स्टोरी २’ र ‘टोय स्टोरी ३’ मा पनि बार्बीको भूमिका देखाइएको थियो । सन् २०१३ मा ताइवानमा बार्बीको थिममा पहिलो रेस्टुरेन्ट ’बार्बी क्याफे’ खोलियो ।

त्यस्तै सन् १९८० मा अफ्रिकी नागरिकलाई मध्यनजर गर्दै ब्ल्याक बार्बी लन्च गरियो । बार्बीसँगै उसको गहना, कपडा, कस्मेटिक्स, भिडियो गेम र किताब पनि बजारमा पाइन्छ ।

द इकोनोमिक टाइम्सका अनुसार विश्वभर फिल्म ‘बार्बी’ रिलिज भएसँगै रिटेलर पसलको बिक्री ह्वात्तै बढेको छ । यस्ता पसलहरुले उल्लेखनीय मात्रामा बार्बी हुप, झुम्का, अत्तर, जम्पसुट र लुगाहरु बिक्री गरिरहेका छन् ।

बार्बी संकलन सौ

अमेरिकामा स्ट्याम्प जम्मा गर्ने काम पछि डल संकलन दोस्रो सबैभन्दा बढी सौख हो । संसारमा एक लाखभन्दा बढी मानिसको बार्बी जम्मा गर्ने रुचि रहेको पाइएको छ । जर्मनीको बेटीना डोफमेनले १५ हजार बार्बी डल जम्मा गरेर सन् २०१३ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम समेत दर्ता गराएका छन् । बेटीनाले सन् १९९३ देखि बार्बी संकलन गर्दै आएकी छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?