+

महिलामा थाइराइड भए सन्तान जन्माउन सक्दैनन् ?

२०८० साउन  ३० गते १४:२४ २०८० साउन ३० गते १४:२४
महिलामा थाइराइड भए सन्तान जन्माउन सक्दैनन् ?

नि:सन्तानपनको एक कारण थाइराइड पनि हो । तर यसो भन्दैमा थाइराइड भएका महिलामा गर्भ बस्दैन वा सन्तान जन्माउनै सक्दैनन् भन्ने होइन । थाइराइड भएमा जीवनभर निःसन्तान हुन्छ भन्ने धारणा पनि समाजमा देखिन्छ ।

थाइराइड भएमा गर्भमा बच्चा बस्न केही हदसम्म गाह्रो हुन सक्छ । यद्यपि समयमा उपचार गरेमा निको हुन्छ । बच्चा जन्माउन सकिन्छ । त्यसैले यदि कसैलाई थाइराइड भने समयमा उपचार गर्नुपर्छ ।

थाइराइड दुई प्रकारको हुन्छ हाइपो र हाइपर । शरीरमा आवश्यकभन्दा बढी उत्पादन भएमा हाइपर थाइरोइडिजम र कम हार्मोन उत्पादन हुनुलाई हाइपो थाइरोइडिजम भनिन्छ ।

थाइराइड भएका महिलाले कस्तो अवस्थामा सन्तान जन्माउन सक्दैनन् ?

थाइराइड बढी वा कम भएमा महिलाको महिनावारी गडबडी हुने, प्रजनन् क्षमता घट्ने वा कमजोर हुने र गर्भाशयमा अण्डा उत्पादन कम हुन्छ । यसले गर्भमा बच्चा बस्न गाह्रो हुन्छ । त्यसैले थाइराइड भएको शंका लागेमा जाँच गराई उपचार गर्नुपर्छ । समयमा उपचार नभएमा अवस्थामा गर्भ नरहने वा गर्भ रहे पनि गर्भ तुहिने जोखिम बढी हुन्छ ।

थाइराइड भए पनि गर्भ बस्न सक्छ तर थाइराइड भएका बेलामा गर्भ रहेर जन्मेको बच्चामा विभिन्न समस्या हुन सक्छ । बच्चाको मुटुको धड्कन नदेखिने वा नबढ्ने, बच्चाको पूर्ण मानसिक र शारीरिक विकास नहुने, बच्चामा श्वासप्रश्वाससम्बन्धी समस्या हुने, जन्मनुअगावै मृत्यु हुने वा मृत बच्चा जन्मिने, बच्चाको अंगको विकास नभई अपांगता भएका बच्चा जन्मिने, समय अगावै बच्चा जन्मिने जोखिम हुन्छ ।

थाइराइड भएको अवस्थामा गर्भ रह्यो भने के गर्ने ?

यदि हाइपो थाइरोडिजम भएको अवस्थामा गर्भ रहेमा चिकित्सकलाई जाँच गराई त्यसको निगरानीमा औषधि खानुपर्छ । त्यस्तै यदि हाइपर थाइरोडिजम पहिल्यै छ भने चिकित्सकलाई जाँच गराएर औषधि परिवर्तन गर्नुपर्ने हुन्छ । किनकि हाइपर थाइराइडको औषधिले बच्चालाई अपांगता गराउन सक्छ । त्यसैले हाइपर थाइराइडिजम भएका बिरामीले चिकित्सकको सल्लाह लिएर मात्र ‘बेबी प्लानिङ’ गर्नुपर्छ ।

थाइराइड भए पनि नभए पनि बच्चा जन्माउने योजना बनाउनुअघि थाइराइडको जाँच अनिवार्य गर्नुपर्छ । त्यस्तै गर्भ रहेको तीन-तीन महिनामा पनि थाइराइडको चेकअप नियमित गराउनुपर्छ । किनकि गर्भ रहेपछि पनि थाइराइड हुने सम्भावना हुन्छ ।

कुन थाइराइडको जोखिम बढी ?

दुवै प्रकारको थाइराइडमा बच्चा नबस्ने जोखिम उत्तिकै हुन्छ । तर हाइपरभन्दा हाइपो थाइरोडिजममा हार्मोनको कमी हुने भएकाले बच्चा नबस्ने समस्या अझ बढी हुन्छ । हाइपरमा पनि गर्भ बस्न केही हदसम्म गाह्रो हुन्छ, यदि गर्भ बसिहाले पनि तुहिने जोखिम बढी हुन्छ ।

गर्भावस्थामा थाइराइड भएका महिलाले बच्चा जन्माउँदा कस्तो जोखिम हुन्छ ?

यसबेला गर्भ तुहिने, प्रजनन् क्षमता कमजोर हुने जोखिम हुन्छ । साथै बच्चा समयअगावै जन्मिएर आमालाई अत्यधिक रक्तश्राव हुने र उच्च रक्तचापको जोखिम हुन्छ । यस्तो भएमा प्रसवोत्तर रक्तस्राव (पीपीएच) र प्रिक्लाम्पसिया गर्भावस्थामा हुने जटिल समस्या हुन सक्ने सम्भावना बढी हुन्छ ।

गर्भ रहेपछि थाइराइड भए के गर्ने ?

सुरुमा त कुन थाइराइड भएको हो भनेर थाहा पाउन जाँच गराउनुपर्छ । यदि हाइपो थाइरोडिजम भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्न सकिन्छ भने हाइपर थाइरोडिजम भएमा त्यसको कारण छुट्याएर मात्र औषधिको प्रयोग गर्न गर्नुपर्ने हुन्छ । किनकि यसको धेरै कारण हुन्छन् ।

त्यसैले यसबेला जथाभावी औषधिको सेवन गर्नुहुँदैन । चिकित्सकको सल्लाहअनुसार निगरानी रहेर औषधि सेवन गर्नुपर्छ ।  गर्भावस्थामा हार्मोनको आवश्यकता बढी हुन सक्छ, त्यसैले औषधिको डोज मिलाएर खानुपर्ने हुन्छ ।

पहिलो त थाइराइड हुँदैमा जीवनभर निःसन्तान हुन्छ भन्ने छैन । यसको परीक्षण गरेर औषधि सेवन गरेर निको पार्न सकिन्छ । यदि थाइराइडको समस्या छ भने नियमित औषधि सेवन गरेर स्वस्थ बच्चा जन्माउन सकिन्छ । थाइराइडमा औषधि सेवन गर्नुबाहेक अन्य कुनै उपाय छैन ।

(मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ डा. कोइराला पोखरास्थित पोखरा सुपर स्पेसियालिटी हेल्थ क्लिनिकमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

थाइराइड महिला सन्तान
डा. तारा कोइराला
लेखक
डा. तारा कोइराला
मधुमेह, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६२२९ एमबीबीएस, एमडी, एफडीईएम, एमआरसीपी–एससीई (एन्डोक्राइनोलोजी) पोखरास्थित पोखरा सुपर स्पेसियालिटी हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय