+
+

वडाध्यक्षमाथि आक्रमण गरेको आरोपमा कञ्चनपुरमा ७ जना एमालेबाट निष्काशित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १७:१७
लक्ष्मी बुढा

३० साउन, धनगढी । राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा आक्रमण गरेको भन्दै ७ जनालाई नेकपा एमालेले पार्टी सदस्य नरहने गरी निष्काशन गरेको छ ।

सोमबार बसेको एमालेको जिल्ला कमिटी सचिवालय बैठकले २७ गते भएको अधिवेशनमा पार्टीका जिल्ला सदस्य तथा भीमदत्त नगरपालिका–१८ का निर्वाचित वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि आक्रमण गरेको आरोपमा ७ जनालाई साधारण सदस्य समेत नरहेनीगरी निष्काशन गरेको हो ।

एमाले कञ्चनपुरकी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालय बैठकले निष्काशनको निर्णय गरेको जानकारी दिएकी छन् ।

बैठकले जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्काशित गरेको छ ।

बैठकले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानून बमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

अधिवेशनको बन्द सत्र चलिरहेका बेला निर्वाचन समितिको निर्णयअनुसार निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

अधिवेशनका लागि केन्द्रबाट आएका पार्टी पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेत, युवा संघका केन्द्रीय उपाध्यक्ष महाराजा गुरुङ लगायतले सम्झाइबुझाइ गर्दा समेत नमानी कुटपिट गरेर अराजकता, अनुशासनहीनता र गुण्डागर्दी गरेको भन्दै अध्यक्षमण्डलले संलग्नमाथि कारवाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।

कुटपिटपछि निर्वाचित कमिटी घोषणा गरेर बधाई तथा शुभकामना दिँदै इञ्चार्ज बस्नेतले गुण्डागर्दी गर्नेलाई कारवाही हुने प्रतिबद्धता जनाएका थिए । अधिवेशनबाट दिनेश विष्टको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको थियो ।

सचिवालय बैठकले कुटपिटमा संलग्न देखिएका र समानान्तर गतिविधिमा संलग्न अन्य पार्टी सदस्यलाई आवश्यक कारबाही गर्न कार्यवाहक अध्यक्ष लक्ष्मी बुढालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?