+
+

दोलखाका तत्कालीन सिडिओ रिजाल पाँच भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १८:०७

३० साउन, काठमाडौं । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ विगो र त्यति नै जरिवाना हुने आदेश भएको छ ।

अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा लगाएको थियो । अनि नक्कली बील बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौं मुद्दा दायर भएको थियो । यी सबै मुद्दा एकै दिन दायर भएका थिए ।

महिला सम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीबाट घुस लिएको अख्तियारको आरोप थियो । चारमध्ये पहिलोमा ३५ हजार, दोस्रोमा ९० हजार विगो माग दाबी थियो ।

डेढ लाख मागेर ५० हजार रुपैयाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको थियो ।

चौथो मुद्दामा चार लाख विगो माग दाबी छ । चार लाखमध्ये माछापुछ्रे बैंकमा नै राखेको २ लाख जफत गर्न र बाँकी २ लाख असुल्न पनि अख्तियारले माग गरेको थियो ।

दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता लिएका थिए । उनले लिएको ७७ हजार ६०० रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमन खटिएको भनी भ्रमणभत्ता बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?