+
+

‘गगन-विश्व’ सपनाका चुनौती

पार्टी सञ्चालनका सम्बन्धमा ‘क्यालेण्डर’ नै बनाएर प्रस्तुत महामन्त्रीद्वय ‘गगन-विश्व’को पार्टी ‘रूपान्तरण सहित पुस्तान्तरण’को सपना कार्यान्वयनका सन्दर्भमा भने चुनौती देखिएको छ ।

सुुदर्शन आचार्य सुुदर्शन आचार्य
२०८० साउन ३१ गते ११:५२

संघीय संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सातमध्ये चार प्रदेशमा नेतृत्वदायी भूमिकामा छ । तीन प्रदेश सरकारमा सहभागी छ भने ७५३ स्थानीय तहमध्ये ३३२ मा निर्वाचित जनप्रतिनिधि छन् ।

तर, कांग्रेसमा यतिबेला नैतिकता र अनैतिकताको लक्ष्मणरेखा नै मेटिएको अनुभूति हुने अवस्थामा छ । कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण मानिएको तर पार्टी संस्थापन पक्षले ‘फेस’ गर्नै डराइराखेको केन्द्रीय समितिको बैठक केही साताअघि सकिएको छ । संस्थापन इतरको प्रचण्ड दबाबपछि बोलाइएको उक्त बैठकले महत्वपूर्ण निर्णयका बाबजुद पनि आम नागरिकमा कांग्रेसको पक्षमा उत्साह थप्न सकेन ।

लाइभ गरिएको बैठकको परिदृश्य, केन्द्रीय समितिका सदस्यहरूको प्रस्तुति र संस्थापन पक्षका नेताको स्तुतिगान देख्दा आफूलाई लोकतन्त्रकै पर्याय मान्ने कांग्रेस जस्तो पार्टीको बैठक पनि किन यति ज्यादा भक्तिगान भन्ने प्रश्न सतहमै पोखियो ।

इतर पक्षको कटाक्षबाट जोगिन लाइभ गरिएको बैठकबाट संस्थापन पक्षलाई केन्द्रीय समितिको बैठक ‘फेस’ गर्न त सहज भयो नै होला तर भोलि जनता र कार्यकर्तामाझमा जान भने संस्थापन पक्षको आफ्नै स्तुतियुक्त प्रस्तुतिले थुप्रै प्रश्नको सामना पक्कै गर्नुपर्नेछ । त्यतिबेला अहिले स्तुतिगान गाउनेहरूलाई प्रश्नको सामना गर्न हम्मे-हम्मे पर्ने देखिन्छ ।

अर्कातिर, यतिबेला संसद सुचारु हुनसकेको छैन । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणको विषय उठाएर गरिएको संसद अवरुद्धमा कांग्रेस जस्तो पार्टी निरीह देखिन पुगेको छ । कांग्रेसले यतिबेला आफ्नै पहलकदमीमा अवरुद्ध संसद खोल्ने तदारुकता देखाउन सक्नुपर्दथ्यो । दुर्भाग्य उसको संसदीय दलको बैठकले समेत उच्चस्तरीय संसदीय समिति आवश्यक नरहेको ठहरबाट कांग्रेस स्वयम् सुन प्रकरणमा लत्रिएको देखिन पुग्यो ।

उता, कांग्रेस केन्द्रीय समितिको बैठकको दृश्यले निराशा मात्र छाएको छैन यथास्थितिमा रमाइराखेको कांग्रेस संस्थापन पक्षको तुलनामा अंकगणितको हिसाबले सानै किन नहोस्, जनताको सपना बोक्ने एउटा ‘आशा’ लाग्दो धार पनि वामे सर्दै गरेको अनुभूति धेरैले गरेका छन् ।

खासमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वदायी भूमिका रहेको उक्त समूह नैतिकता र अनैतिकताको लक्ष्मणरेखा मेटिएको कांग्रेसमा नैतिकताको खोजीमा उद्यत रहेको देखिन्छ । जुन समूह कांग्रेसलाई सत्तामुखी भन्दा पनि समाजमुखी बनाउने कार्ययोजना सहित केन्द्रीय समितिमा प्रस्तुत भयो ।

समाजतिर फर्किएको कांग्रेस निर्माणको मार्गचित्रलाई केही सम्भ्रान्त कांग्रेसले बैठकमै उडाए पनि संस्थापन इतर गगन पक्ष सामाजिक लोकतन्त्र, समुन्नत नेपालको मार्गचित्र, विकासको परिभाषा, सबल र सक्षम नागरिक, वैयक्तिक स्वतन्त्रता र समानता सहित सार्वभौमिक समानता जस्ता विषयवस्तु समेटेर प्रस्तुत भयो । जसले कांग्रेसलाई जनतासँग जोड्ने मात्र नभई पार्टीले कस्तो खाले अन्तर्राष्ट्रिय सम्बन्ध चाहन्छ भन्ने विषयलाई समेत दस्तावेज मार्फत प्रष्ट्याइएको छ ।

केन्द्रीय समिति बैठकमा महामन्त्री लक्षित कटाक्ष संस्थापन पक्षबाट हुनु र इतर पक्षमा पनि गणितीय हिसाबले गगन धारको आकार सानो देखिंदा कांग्रेस रूपान्तरणको एजेण्डामा अलमल नै देखिन्छ

नक्कली भूटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका कांग्रेस नेताकै विषयमा केन्दि्रत वाद-विवाद प्रतियोगिता झैं देखिएको बैठकमा प्रस्तुत राष्ट्रिय-अन्तर्राष्ट्रिय मुद्दाले भने प्राथमिकता कम पायो । बैठकमा महामन्त्री थापाले पेश गरेको र केन्द्रीय समितिले पास गरेको प्रस्तावमा समृद्ध नेपालको अवधारणा भनेकै अग्ला भ्यूटावर तथा हिमालमा रेलसँगै भीमकाय एअरपोर्टको आश्वासन दिएर सपनाको व्यापार गरिएको भन्दै कटाक्ष गरिएको छ ।

भनिएको छ- ‘देशले धान्नै नसक्ने खर्चिलो भौतिक विकासले जनतालाई ऋणको भार बोकाउने र अवैज्ञानिक रूपले प्राकृतिक दोहन गर्ने बाहेक केही गर्दैन । समुन्नत नेपालको सपना भनेको सडक, अस्पताल, स्कुल लगायतको व्यवस्थापन मार्फत अभावरहित समाज निर्माणसँगै जनउत्तरदायी शासन व्यवस्था निर्माण हो ।’

आर्थिक विकास र पूँजी संग्रह विकासका महत्वपूर्ण साधन भए पनि विकासको साध्य भनेकै नागरिकको स्वतन्त्रता र सक्षमताको विस्तार र सबलीकरण भएको विचार अघि सारिएको छ ।

संवैधानिक उदारवादको मान्यता बोकेको सामाजिक लोकतन्त्रका बारे समेत कांग्रेस बैठकले उतिसारो चासोपूर्वक बहस गर्न आवश्यक ठानेन । तर, बैठकमा पेश गरेको उक्त दस्तावेजमा नागरिकको सुसूचित हुने अधिकार, राज्यका अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति-सन्तुलन र पृथकीकरणको विषय, कानुनी शासन, लोकतान्त्रिक प्रणालीको पैरवी आदिमा बैठक केन्दि्रत हुनुपर्दथ्यो । तर, बैठक उल्लिखित विषयमा निरपेक्ष रहे पनि महामन्त्री थापाद्वारा प्रस्तुत धारणा भने पारित गरेर कांग्रेस बैठकले आफूलाई परिष्कृत गर्दै लैजाने पक्षमा उभ्याएको छ ।

आर्थिक प्रणालीका सन्दर्भमा भने पूँजीवादी अर्थतन्त्रमा विपन्न र निम्नवर्गीय परिवारको श्रमले सिर्जना गरेको अतिरिक्त लाभको अधिक हिस्सा उच्चवर्गले ज्यादा प्राप्त गर्ने गर्दछ । तर, सामाजिक लोकतन्त्रमा सार्वजनिक खर्चका नीति र प्रभावकारी कर मार्फत लाभ र अवसरलाई न्यायपूर्ण वितरण सुनिश्चित गरिने बताएर कांग्रेसले आफूलाई तल्लो वर्गको नागरिकसँग जोड्ने प्रयत्न गरेको छ ।

वैयक्तिक स्वतन्त्रताको पक्षपाती कांग्रेसले कानुनको समान संरक्षणको सैद्धान्तिक जगमा मात्र ‘समानता’ सम्भव देखेको छ । सँगै, समावेशिताका सम्बन्धमा कांग्रेस भन्छ- ‘सामूहिक अधिकार र समावेशिता भएन भने अन्ततः व्यक्तिको कानुनी रूपमा प्राप्त वैयक्तिक स्वतन्त्रता समेत खण्डित हुन पुग्दछ । नागरिकको क्षमतामा वृद्धिले राष्ट्र निर्माणमा उत्प्रेरकको काम गर्दछ ।’

त्यसको अलावा उक्त दस्तावेजले सामाजिक लोकतन्त्रले नै नागरिकको राजनीतिक अधिकारको उपयोगसँगै सत्ताको निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्रको भविष्य नै जोखिममा पर्ने खतरा भएकैले ‘पार्टी वा मुलुक’को सत्तालाई प्रश्न गर्ने नागरिक अधिकार समेत महत्वपूर्ण मानेको छ । विकासका सन्दर्भमा समेत भीमकाय भवन, सडक र रेलको सपनालाई सम्पन्नताको मानक मान्ने प्रचलनलाई चिर्दै ‘आवश्यकताको सिद्धान्त’मा जोड दिइएको छ ।

महामन्त्रीद्वारा प्रस्तुत तथा कांग्रेस बैठकको महत्वपूर्ण पाटोको रूपमा लिन सकिने विषय हो- अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने ‘सार्वभौमिक समानता’ को विषय । कांग्रेसले आम निर्वाचनपूर्व पनि केन्द्रीय समितिमा उठाएको तर, भरपर्दाे ढंगले अन्तरपार्टी बैठकमा लैजान नसकेको पाटो हो, अन्तर्राष्ट्रिय सम्बन्धको विषय । यो दस्तावेजमा सार्वभौमिकताका दृष्टिले सबै देश समान हुने भएकाले सार्वभौमिक समानताको सिद्धान्तका आधारमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनुपर्ने विषयमा जोड दिइएको छ ।

राजनीतिक पार्टी र राज्यका संरचनासँग नागरिक उदेकलाग्दो ढंगले असन्तुष्ट रहेकै समय आशालाग्दा युवापुस्ता गगन, विश्व, प्रदीप माथि समेत संगठित तथा असंगठित रूपमा गरिने कटाक्षले परिवर्तन तथा परिवर्तनको संस्थागत विकास सम्भव छैन

बैठकमा खासै प्राथमिकतामा नपरेको यो विषय अन्तरपार्टी छलफल सहित निष्कर्षमा लैजाँदा नै सरकारको ‘अदली-बदली’का बावजुद पनि नेपालले लिने विदेश नीतिमा एकरूपता हुने बताइएको छ । त्यसैगरी ‘देशको समुन्नति र आर्थिक विकास’का लागि सम्बन्ध विविधीकरण गर्दै अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सम्बन्धमा घनिष्ठता ल्याउने कुरामा समेत जोड दिइएको छ ।

गठबन्धन टिकाउने नाममा लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा चुनौती खडा गरिए निसंकोच प्रतिवाद गरिने बाटो कांग्रेसले तय गरेको छ । संविधान कार्यान्वयन, शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका सन्दर्भमा समेत कांग्रेसले आफूलाई प्रष्ट रूपमा जनताको पक्षमा उभ्याएको छ । सुशासनको ‘नीतिगत पक्ष’मा सिंगै कांग्रेस एउटै एजेण्डामा उभिए पनि विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा भने महामन्त्री थापाले ‘फरकमत’ सहित कांग्रेसका जो-कोही र जुनसुकै भ्रष्टाचारका घटनामा मुछिए पनि पार्टीले ‘पक्षपोषण’ गर्न नहुने पक्षमा दृढतापूर्वक उभ्याएका छन् ।

सरकारको प्रभावकारिता, मुलुकको शिथिल अर्थतन्त्र जस्ता विषयले खासै प्रवेश पाएको देखिएन कांग्रेस बैठकमा । तथापि, महँगो निर्वाचन प्रणाली, राजनीतिक स्थिरता, निर्वाचनपूर्व गरिने गठबन्धन र त्यसको क्षति जस्ता विषय केन्द्रीय समितिमा सामान्य ढंगले मात्र उठे ।

पार्टी सञ्चालनका सम्बन्धमा ‘क्यालेण्डर’ नै बनाएर प्रस्तुत महामन्त्रीद्वय ‘गगन-विश्व’को पार्टी ‘रूपान्तरण सहित पुस्तान्तरण’को सपना कार्यान्वयनका सन्दर्भमा भने चुनौती देखिएको छ ।

बालकोट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फिर्ता ल्याउने सन्दर्भसँगै जनताका बीच कांग्रेस स्थापित गर्न ‘फेस भ्याल्यू’का सन्दर्भमा सभापति शेरबहादुर देउवाले ‘कार्ड’का रूपमा प्रयोग गरेका महामन्त्री थापालाई आज एक्लो बनाउने प्रयत्न गरेको देखिन्छ ।

केन्द्रीय समिति बैठकमा महामन्त्री लक्षित कटाक्ष संस्थापन पक्षबाट हुनु र इतर पक्षमा पनि गणितीय हिसाबले गगन धारको आकार सानो देखिंदा कांग्रेस रूपान्तरणको एजेण्डामा अलमल नै देखिन्छ । पार्टीका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि झैं पार्टी नेता डा. शेखर कोइरालाले पनि परिवर्तनको पक्षमा सतिसाल भएर उभिन सकेनन् ।

यस्तो अवस्थामा पार्टी र सरकारको सोच, संस्कार र शैलीलाई नै परिवर्तन गरेर जनपक्षीय बनाउने कांग्रेसको परिवर्तनकारी युवा शक्तिको सपनामा गम्भीर चुनौती थपिएका छन् । राजनीतिक पार्टी र राज्यका संरचनासँग नागरिक उदेकलाग्दो ढंगले असन्तुष्ट रहेकै समय आशालाग्दा युवापुस्ता गगन, विश्व, प्रदीप माथि समेत संगठित तथा असंगठित रूपमा गरिने कटाक्षले परिवर्तन तथा परिवर्तनको संस्थागत विकास सम्भव छैन । तसर्थ, कटाक्ष र अपमानका बावजुद पार्टी कार्यकर्ता र आम नागरिकको तहमा भरोसाको दियो जगाउन कांग्रेसका युवापुस्ताले सक्दा मात्र कांग्रेसले भरोसायोग्य तरिकाले मुलुकलाई नेतृत्व दिन सम्भव छ । अन्यथा, अवरुद्ध संसदसँगै मुलुकको राजनीतिमा देखिएको अविश्वासले भोलिको राजनीति धमिलिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?