+
+

पर्वतारोहणबाट गण्डकीका बासिन्दाले लिन सकेनन् लाभ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १९:४७
अन्नपूर्ण आधार शिविर ।

३१ साउन, पोखरा । सरकारी तथ्यांकअनुसार कोभिडअघि सन् २०२१ मा नेपालमा १२ लाख पर्यटन भित्रिँदा ३०० जना पथप्रदर्शक (ट्रेकिङ गाइड) पोखरामा सक्रिय थिए । गण्डकी आउने बहुमत पर्यटक विश्वप्रशिद्ध अन्नपूर्ण फेरो लगायतमा पदयात्रामा जाने गरेका छन् ।

कोभिड यता पर्वतारोहण वा यदयात्रामा जानेको एकीन तथ्यांक छैन भने धेरै ट्रेकिङ गाइड पनि पलायन भइसकेको पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्माको भनाइ छ ।

गत साउनमा पोखरामा ३४० जना ट्रेकिङ गाइडले तालिम लिएका छन् । यसरी हेर्दा अहिलेसम्म पोखरामा मात्र २ हजार १०० जना ट्रेकिङ गाइड उत्पादन भइसकेका छन् तर अहिले ती कहाँ छन् भन्ने नै थाहा नभएको शर्माले बताए ।

‘नेपालमा १२ लाख पर्यटक आउँदा पनि पोखरामा ३ सय गाइड थिए । अहिलेसम्म २ हजार १०० पुगिसके तर ती कहाँ छन् ? जवाफ कसैसँग छैन,’ शर्माले भने, ‘कोभिडपछि गाह्रो सबैलाई भएको हो तर साहुजीहरुले मीठो मिष्ठान फेसबुकमा पोस्टाउँदा मजदुर एक बोरा चामल हानालुछी गर्ने स्थितिमा थिए ।’

पदमार्ग, पर्वतारोहण क्षेत्रका श्रमिक, मजदुर, भरियाप्रति अलि बढी अपमान भयो कि भनेर समीक्षा पनि गर्नुपर्ने शर्माको भनाइ थियो । यो क्षेत्रबाट ठूलो संख्यामा मजदुर बाहिरीको एउटा कारण यहाँको आरोहण जनजिविकासँग जोडिन नसक्नु रहेको शर्माको भनाइ छ ।

गण्डकी प्रदेशमा ८ हजार मिटरमाथिका ३ वटा हिमाल छन् । अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमालमात्र आफ्नै भूगोलभित्र भएर पनि नेपालले यसको महत्वलाई विश्व बजारमा पुर्‍याउन सकेको छैन । ८ हजार मिटरमाथिका १४ हिमालको आरोहण आरम्भ भएको अन्नपूर्ण प्रथमको वैभव नेपालले नै चिन्न र बेच्न नसकेको चिन्ता सरोकारवालासँग छ ।

अन्नपूर्णभन्दा ३ वर्षपछि आरोहण भएको सगरमाथा हिमाल चढ्नेको ओइरो लाग्दा अन्नपूर्णमा भने अहिलेसम्म ५०० पनि पुगेका छैनन् । ‘हामीले आरोहणसँग जनजीविकालाई जोड्नै सकेनौं । हिमाली क्षेत्रका स्थानीयलाई अपतन्व गराउनै सकेनौं,’ ढाइ दशकदेखि पदयात्रा र आरोहणको क्षेत्रमा काम गर्दै आइरहेका शर्मा भन्छन्, ‘आज पनि हाम्रा हिमाल आरोहणको प्याकेज बनाउने, सेल गर्ने जनशक्ति नै हामीसँग छैन ।’

सगरमाथा क्षेत्रमा आरोहण जनजीविकासँग जोडिएको, शेर्पा गाइड विश्वकै प्रख्यात बन्दा गण्डकी क्षेत्र पनि उतैबाट प्रभावित भएको शर्मा बताउँछन् । अहिले गोरखाको लाप्राकबाट भने आरोही गाइड बढिरहेको र कीर्तिमानीसमेत बनाउन थालेका छन् । तर, शेर्पाहरुबाटै यो क्षेत्रको ठूलो हिस्सा ओगटिएको अनुभव शर्मासँग छ । जनशक्ति नै नहुँदा पनि गण्डकी क्षेत्रमा पर्वतारोहण पछाडि परेकोे शर्माले बताए ।

अन्नपूर्ण हिमालको दक्षिणी बेसक्याम्प जानेले १ हजार डलरको प्याकेज बेच्छ भने अन्नपूर्ण आरोहण गर्दा १५ हजारको प्याकेज बेच्न सकिने शर्माको भनाइ छ । तर, यसतर्फ ध्यान पुर्‍याउनै नसकिएको शर्माले बताए । अहिले पनि धौलागिरि हिमाल जाने गाइडसमेत नपाइने शर्माले तितो पोखे ।

गण्डकी क्षेत्रका हिमालहरुको व्यवस्थापन गर्ने जिम्मेवारी पर्वतारोहण संघलाई भए पनि अधिकार र स्रोत, साधन नहुँदा खुम्चिएको शर्माले बताए । पर्वतारोहण संघ गण्डकीको अधिवेशनमा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले पर्वतीय गतिविधि पनि हुन नसक्ने, भइरहेका गाइड पनि धान्न नसक्ने र नयाँ सीप ग्रहण गर्न नसक्ने हुँदा पछि परेको सुनाए ।

‘गण्डकीको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र नै पर्वतारोहण हो । पर्वरोहणका जनशक्तिमा जोड दिनुप¥यो, दक्षता बढाउनुपर्‍यो,’ सापकोटाले भने, ‘हामीले हाम्रै अमूल्य सम्भावना चिन्न सकेका छैनौं ।’ पहिले २२ दिनभन्दा धेरै समयमा पूरा हुने अन्नपूर्ण फेरो अहिले सडक सञ्जालले अहिले ३÷४ दिनमै सकिने अवस्था सिर्जना भइसकेकोप्रति पनि सरोकारवालाको चिन्ता छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भइरहेका बेला पदयात्रा र पर्वतारोहणको विकास तथा व्यवस्थापनबिना हुन नसक्ने व्यवसायीहरुको भनाइ छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २०२३ अन्तिमसम्ममा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने बताए ।

‘प्रदेशले पनि निर्णय गरिसकेको छ, संघीय सरकारलाई भनिरहेका छौं । संघीय सरकारले नगरे २०२३ डिसेम्बर लास्टसम्म पोखरालाई प्रदेश र हामी मिलेर पर्यटकीय राजधानी घोषणा गर्छौं,’ मेयर आचार्यले भने, ‘पर्वतारोहणका क्षेत्रमा दक्ष जनशक्ति, हस्पिटालिटी, राइट इन्फरमेसन प्रोभाइड गर्ने सन्दर्भमा हामी पनि सहकार्य गर्छौं ।’

पर्वतारोहण संघ गण्डकीको ७ अधिवेशनले बुधबार विकास गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यससमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुरबहादुर गुरुङ, सचिवमा मनशान्त घिमिरे र कोषाध्यक्ष तुलसीप्रसाद सुवेदी छन् । सोही अवसरमा पर्वतारोहणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार दीपक परियारलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?