+
+

‘जुलेबी’को भूमिका निर्वाह गर्नु अहिलेसम्मकै गाह्रो काम : सुरक्षा पन्त

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १३:१५
फाइल तस्वीर

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘जुलेबी’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सुरक्षाले यौनकर्मी पात्रको भूमिका निर्वाह गरेकी छन्, जसको कथा रत्नपार्कसँग जोडिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सुरक्षाले ‘जुलेबी’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो लागेको बताएकी छन् । ‘यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो,’ उनले भनिन्, ‘त्यसका लागि केही पूर्व तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगें । तर त्यसरी जाँदा पात्रसँग भेट्न पाइनँ । फिल्मकै सदस्यमार्फत एक जना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो ।’

सुरक्षाले अगाडि भनिन्, ‘उहाँले एउटा कलाकारका रुपमा मलाई चिन्नु हुँदोरहेछ । तपाईंको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरि नै खुसी हुनुभयो । उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने सुरक्षालाई गाह्रो लाग्यो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाए पनि उनीहरुको ‘बडिल्याङवेज’ नियालेर काम गरेको उनले सुनाइन् ।

‘मेरो पात्र हेर्दाखेरि एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंगित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशीलता मेन्टेन गर्छ,’ सुरक्षाले भनिन्, ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्युजन गरेर तयार गरेको हो ।’

गणेशदेव पाण्डेले निर्देशन गरेको ‘जुलेबी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् भने कार्यकारी निर्माता नवीन भट्ट हुन् । फिल्ममा सुरक्षाका साथै उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापालगायत कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?