+
+

११ बैंकको ब्याजदर बढ्यो, ४ को घट्यो र ५ को यथावत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १५:०१

३२ साउन, काठमाडौं । भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले भने घटाएका छन् । निक्षेपमा भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोक्दै आएकोमा १ साउनबाट उक्त सहमति खारेज गर्दै वाणिज्य बैंकहरुले आफैं तोक्न सुरु गरेका थिए ।

गत असारको तुलनामा साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाएका र केही बैंकले बढाएका थिए भने केही बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका थिए ।

केही बैंकले भदौमा पनि सोही ब्याजदरलाई निरन्रता दिँदा अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा कायम गरेको भद्र सहमति खारेज गरेसँगै छोटो अवधिको निक्षेपको मुद्धति निक्षेपको ब्याजदर कम र लामो अवधिको मुद्धति निक्षेपको ब्याजदर बढी तोक्दै आएका छन् ।

भदौमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबीआई र कुमारी बैंकले मुद्धति निक्षेपको अधिकतम ब्याजदर साउनकैलाई निरन्तरता दिएका हुन् ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगालले बचतको ब्याजदर पनि परिवर्तन गरेका छैनन् । तर, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर घटाउँदा ११ वटा वाणिज्य बैंकले भने ब्याजदर बढाएका हुन् ।

भदौमा ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा अधिकत १०.८९६ प्रतिशत ब्याजदर दिने भएका छन् ।

कुमारी बैंकले १ साउनमा व्यक्तिगत मुद्धति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत प्रकाशित गरेकोमा ९ साउनमा आएर बढाउँदै १०.८९६ प्रतिशत पुर्‍याएको थियो । भदौमा ९ साउनमा प्रकाशित गरेको ब्याजदरलाई नै बैंकले निरन्तरता दिएको हो ।

राष्ट्र बैंकले नीतिगत दरलाई परिवर्तन गरेको अवस्थामा बैंकहरुले तत्कालै निक्षेपको ब्याजदर परिवर्तन गर्नसक्ने सुविधा उपयोग गर्दै कुमारी बैंकले ब्याजदर परिमार्जन गरेको थियो ।

साउनमा १० वर्ष भन्दा माथिको मुद्धति निक्षेपको लागि अधिकतम १०.९८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको एनएमबि बैंकले भदौमा व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर नै ९.९९ प्रतिशत कायम गरेको छ । यस्तै प्राइम कमर्सियल बैंकले पनि साउनमा १०.९३ प्रतिशत बनाएको निक्षेपको अधिकतम ब्याजदर भदौमा १०.५ प्रतिशतमा झारेको हो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले साउनको तुलनामा भदौमा घटाउन सक्ने सीमा ०.०३ प्रतिशतले घटाएको छ । साउनमा ८.९५ प्रतिशत रहेकोमा बैंकले भदौमा ८.९२ प्रतिशतमा झरेको हो । एनआईसी एशिया बैंकले १०.८९६ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने भए पनि साउनमा १०.९३६ रहेकोमा भदौमा ०.०४ प्रतिशतले घटाएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरुले मुद्धति निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत बिन्दुले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

सोही अनुसार साउनमा वाणिज्य बैंकले मुद्धति निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्दा अधिकतम १०.८९६ प्रतिशतसम्म जान सक्ने भएपछि सोही अनुसार ७ वटा वाणिज्य बैंकले अधिकतम ब्याजदर प्रकाशित गरेका हुन् । राष्ट्र बैंक्ले संस्थागत मुद्धति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर भन्दा २ प्रतिशत बिन्दुले कम गर्नुपर्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बचतमा पनि अधिकतम र न्युनतम ब्याजदर अन्तर २ प्रतिशत बिन्दु भन्दा बढी गर्न नपाईने व्यवस्था छ । तर, रेमिट्यान्स बचत तथा मुद्धतिमा भने व्यक्तिगत बचत र मुद्धतिको भन्दा न्युनतम १ प्रतिशत थप ब्याजदर दिनपर्ने हुन्छ । कल निक्षेपमा बचतको न्युनतम ब्याजदरको ५० प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने व्यवस्था छ ।

सोही आधारमा बैंकहरुले निक्षेपको ब्याजदर प्रकाशित गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?