+
+

भन्सारको आन्तरिक छानबिनको निष्कर्ष : हेलचेक्र्याइँले तस्करीको सुन छिर्‍यो

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ३२ गते १९:३८

३२ साउन, काठमाडौं । भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ ।

भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले पर्याप्त मात्रामा सावधानी नपुगेका कारण तस्कर समूहले ल्याएको सुनको जाँच पास गराएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको थियो ।

विभागले गोप्य राखेको उक्त प्रतिवेदनमा भन्सारबाट सुनको जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँले भएको दाबी गरिएको छ ।

‘भन्सारको प्रणालीबाट सुन सहितको ब्रेकशुको जाँच पास हुनु नियोजित नभई असाबधानी र हेलचेक्र्याइँ हो,’ विभाग स्रोतले भन्यो, ‘यस्तो भुल सुधारका लागि तत्काल भन्सार प्रशासनले विशेष साबधानी र सर्तकता अपनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।’

अनुुसन्धान प्रतिवेदनले देखाएको कमजोरी सुधार गर्न विभागले आवश्यक पहल थालेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले अनलाइनखबरलाई बताए ।

‘प्रतिवेदन पाएका छौं, सोही प्रतिवेदनका आधारमा विमानस्थल भन्सारको कमी कमजोरी सुधार गर्न १७ बुँदे निर्देशन पनि जारी भइसकेको छ,’ महानिर्देशक पौडेलले भने ।

प्रतिवेदनको निष्कर्ष

भन्सार विभागको प्रतिवेदनमा तस्करीको सुन भन्सार जाँच हुनुमा भन्सारको एक्सरे प्रणाली र त्यसको ह्याण्डलिङमा कमजोरी हुनु, भन्सार इन्टिलिजेन्स कमजोर रहनु, भन्सार जाँच पासमा संलग्न कर्मचारीको लापरबाही गर्नु र कार्यालय प्रमुखको अनुगमन तथा सक्रियता कमजोर भएको दाबी गरिएको छ ।

तस्करको संगठित सञ्जालमा भन्सार प्रणाली प्रयोग गरेर सुन नभित्रिएको दाबी गर्दै विभागले असावधानी र कमजोर नियमनलाई मुख्य समस्या भनेको छ ।

भन्सारको प्रतिवेदनमा सम्भावित सुन तस्करीमा विमानस्थल भन्सार कार्यालय आवश्यक मात्रामा चनाखो नभएको भनिएको छ । भन्सार हातामा अनावश्यक व्यक्तिको पहुँच र जाँच पासमा संलग्नदेखि प्रमुख भन्सार प्रशासकसम्मले हेलचेक्रयाइँ गरेको प्रतिवेदनमा भनिएको छ ।

विमानस्थल भन्सारमा सुधार गर्न निर्देशन

विभागको आन्तरिक छानबिनको प्रतिवेदनकै आधारमा भन्सार विभागले विमानस्थल भन्सारमा १७ वटा सुधार औंल्याएको छ । सोहीअनुसार सुधारका लागि भन्दै विभागका महानिर्देशक पौडेलले २८ साउनमा विमानस्थल भन्सारलाई सुधारको विषयवस्तु नै खुलाएर निर्देशन दिएका छन् ।

जसअनुसार विभागले विमानस्थल कार्गो कम्प्लेक्स परिसरमा अनधिकृत व्यक्तिहरुको प्रवेशलाई नियन्त्रण गर्न, ईन्टेलिजेन्स र जोखिम व्यवस्थापन कार्यका लागि दक्ष कर्मचारीको डेडिकेटेड टिम बनाई कार्यादेशसहित खटाउनु पर्ने छ ।

काममा खटाईएका कर्मचारीहरुलाई यात्रु जाँचपास तथा मालवस्तु जाँचपासको कार्यमा नलगाउने, याचु जाँचपास शाखामा डिपोजिट ब्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने, सीसी टिभी बाट गरिने अनुगमन विस्तार गरी एप्रोन र अध्यागमन क्षेत्रमा समेत यात्रुको निगरानी गर्ने व्यवस्था मिलाउने, एप्रोनबाट कार्गो गोदामसम्म मालवस्तु ओसार पसारमा सीसी टिभीबाट निगरानी गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, कार्गो कम्प्लेक्समा रहेका तीनवटा एक्सरे मेशिन पूर्ण रुपमा संचालन गरी मालवस्तुको एक्सरे गर्ने र शंकास्पद देखिएका मालवस्तुको विशेष प्राविधिक विश्लेषण गरेर मात्र जाँचपास गर्ने व्यबस्था मिलाउने, व्यक्तिगत प्रयोजनका वस्तु जाँचपास गर्ने छुट्टै ठाउमा जाँचपास गर्ने व्यवस्था मिलाउने, भन्सार एजेन्टको उपस्थितिमा मात्र मालवस्तुको चेकजाँच गर्ने व्यवस्था मिलाउने, यात्रुको प्रोफाइलिङका लागि एसओपी तयार गरी कायर्नन्वयन गर्ने सुधार निर्देशनमा उल्लेख छ ।

विभागले भन्सारको रेड च्यानल ट्र्याकिङ गर्न स्टीकर र अलर्ट गेटको व्यवस्था गर्नु र्ने पनि औंल्याएको छ । कार्गो कन्सोल समरी अनिवार्य लिएर मात्र मालवस्तु गोदाम दाखिला गर्ने र हाउस एयरवै बिलबाट सामान छुटाउने वस्तुको सघन निगरानी गर्ने व्यवस्था मिलाउन विभागको निर्देशनमा भनिएको छ ।

निर्देशनको १२ औ बुँदामा मास्टर एरवे बिल कन्सल समरी र घोषणामा भएको मालवस्तुको विवरण यकिन गरेर मात्र जाँचपास गर्न, एकै प्रज्ञापनपत्रमा एकभन्दा बढि मास्टर हाउस एयर बिल हुने अवस्थामा डिउटीमा रहेका भन्सार जाँच पास अधिकृतको आदेशमा मात्रै गोदामबाट मालवस्तु निकाल्न विभागले भनेको छ ।

नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले सञ्चालन गरेको गोदाममा मालवस्तु भण्डारण गर्नु भन्दा पहिले नै भन्सारको दक्ष जनशक्ति बाट एक्सरेबाट मालवस्तु जाँच गरी गोदाम दाखिला गर्ने व्यवस्था मिलाउन, भन्सार जाँचपास गर्न तोकिएको जाँचकी आफैले मालवस्तु गोदामबाट बुझेर गोदाम निकासा गर्ने व्यवस्था मिलाउन पनि विभागले भनेको छ ।

मालवस्तु जाँचपास गरिसकेपछि सम्बन्धित जाँचकीको रोहवरमा लोड गर्ने व्यवस्था मिलाउन, विमानस्थल भन्सार प्रमुखले नै अनिवार्य एक्सरेको अनुगमन गर्न र गोदामबाट वस्तुको यकिन विवरण लिएर अनुगमन गर्न विभागले विमानस्थल भन्सारलाई भनेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?