+
+

इन्डक्सन चुलोमा करेन्ट लाग्छ ? (भिडियो)

अभियान बुढाथोकी  अभियान बुढाथोकी 
२०८० साउन ३२ गते १८:५२

अहिले विद्युतिय चुलोको प्रयोग सहज र सुरक्षित मान्न थालिएको छ । परम्परागत ढंगले चुलोमा दाउरा बाल्दा सस्तो जस्तो लागेपनि त्यसका लागि लाग्ने खर्च, श्रमशक्ति आदि निकै महंगो हुन्छ । साथै दाउराको धुँवाले गृहणी एवं भान्सामा बस्नेलाई श्वासप्रश्वासको समस्या ल्याउँने चिकित्सकहरुको भनाई छ ।

दाउराको विकल्पमा अहिले धेरैले ग्यास चुलो प्रयोग गर्छन् । ग्यास आयतित मात्र होइन, खर्चिलो पनि छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा के छ भने ग्यासले हरेकको भान्सालाई असुरक्षित बनाएको छ । ग्यास चुहावट हुने, आगलागी हुने, ग्यास विस्फोट हुने जोखिम उच्च हुन्छ ।

यस्तो अवस्थामा विद्युतिय चुलो अहिले सुरक्षित, सहज र किफायती मान्न थालिएको छ । खासगरी इन्डक्सन र इन्फ्रारेड ।

यद्यपि यस्तो चुलो प्रयोग गर्दा पनि धेरैमा द्विविधा देखिएको छ । चुलो झन्झटिलो पो हुने हो कि ? धेरै विद्युत पो खपत गर्ने हो कि ? करेन्ट पो लाग्ने हो कि ?

ग्याँस भन्दा सजिलो कि अप्ठ्यारो ?

हामीले लामो समयदेखि ग्यास चुलो प्रयोग गरेकाले त्यो सहज लाग्न स्वभाविक हो । तर, तुलनात्मक रुपमा हेर्ने हो भने ग्यासभन्दा धेरै सजिलो छ इन्डक्सन ।

पावर सकेटमा जोडेपछि यसमा सांकेतिक रातो बत्ती बल्छ । त्यसपछि ‘अन’ गर्नुपर्छ । अन गरिसकेपछि यसको फङ्सनमा गएर के पकाउने हो सोही अनुसार वटन थिच्नुपर्छ । खानेकुरा पाकेपछि ‘अफ’ गरिदिए हुन्छ ।

यसलाई सजिलो किन भनिएको हो भने, घरमा बुढापाका, रोगी वा बालबच्चाले पनि सुरक्षित रुपमा प्रयोग गर्न सक्छन् । ग्यास चुलोमा जस्तो जोखिम हुँदैन ।

करेन्ट लाग्न सक्छ ?

इन्डक्सन चुलोमा करेन्ट लाग्दैन । अपवादबाहेक यसमा करेन्ट लाग्ने कुनै जोखिम नै हुँदैन । किनभने इन्डक्सनलाई पूर्ण सुरक्षित मापदण्ड अपनाएर नै तयार गरिएको हुन्छ । दैनिक प्रयोग हुने उपकरण भएकाले यसलाई सुरक्षित बनाइएको छ । साथै यसभित्र यस्तो सेन्सर हुन्छ, जसले कुनै गडबड हुनसाथ स्वत पावर अफ हुन्छ ।

इन्डक्सन चुलो फुट्न सक्छ ?

सामान्य वा दैनिक प्रयोग गर्दा यो फुट्दैन । हामीले भान्सामा त्यस्ता भाँडावर्तन पनि राखेका हुन्छौं, जो अग्लो ठाउँबाट खस्यो भने फुट्न सक्छ । वा कुनै गह्रौं बस्तुले ठक्कर दियो भने फुट्छ । त्यसैगरी इन्डक्सनमा पनि कुनै गल्तीले भुँइमा बजारियो भने टुटफुट हुन सक्छ । तर, हामीले भात पकाउँदा, सफा गर्दा यो फुट्दैन ।

इन्डक्सनमा पानी, दूध वा दाल पोखिए आगो लाग्छ ?

इन्डक्सनमा पानी उमाल्दा, दूध उमाल्दा वा दाल पकाउँदा पोखिन सक्छ । इन्डक्सनको सतहमा यसरी पोखिदा आगो लाग्ने, करेन्ट लाग्ने वा फुट्ने भय हुँदैन । किनभने यसको सतहभन्दा भित्री भाग लेमिनेटेड हुन्छ, जसले गर्दा बाहिर पोखिएको कुनै तरल चिज भित्रसम्म पुग्न सक्दैन ।

इन्डक्सन चुलोले पोल्छ ?

इन्डक्सन चुलोले पोल्दैन । इन्डक्सन चुलो इलेक्ट्रिक म्यागनेटिक रेडिएसनमा आधारित हुन्छ । त्यसैले यसमा बाहिर रापहरु देखिदैन । यसमा खानाका लागि प्रयोग गरिएको भाडा चुलोको सतहमा भएको चुम्बकसँग मिल्ने हो । त्यसैले यसमा राप बाहिर आउँदैन ।

यो ग्यासभन्दा सस्तो कि महंगो ?

सामान्यत इन्डक्सन चुलो ग्याँस भन्दा ६५ प्रतिशत नै सस्तो हुन्छ । मानौं दुई हजार वाटको चुलो छ । बिहान एक घण्टा र बेलुका एक घण्टा प्रयोग गर्ने हो भने दिनमा १ दशमलव ४ युनिट विद्युत खपत हुन्छ । जुन मासिक हिसाब गर्दा ४२ युनिट हो । अहिलेको चलनचल्ती अनुसार धेरैमा प्रति युनिट १२ रुपैयाँ राख्ने हो भने पनि जम्मा ५ सय ४ रुपैयाँ जति आउँछ ।

इन्डक्सन बिग्रिए मर्मत गर्न सकिन्छ ?

यो चुलो बिग्रिएमा त्यसै मिल्काउनु पर्दैन । मर्मत गर्न, बनाउन सकिन्छ ।

कसरी यसलाई जतन गर्ने ?

इन्डक्सनको बिग्रिने भनेको पंखा हो । त्यसमा धुलो जम्यो वा अरु केही पस्यो भने बिग्रिन सक्छ । त्यसैले पंख राम्ररी चल्न सक्ने ठाउँमा राख्नुपर्छ र यसमा फोहोर जम्न दिनु हुँदैन ।

किन्नुअघि के कुरामा ध्यान दिने ?

इन्डक्सन किन्नुअघि त्यो कुन ब्रान्डको हो, कस्तो सुरक्षा विधि अपनाएको छ, गुणस्तर मापदण्ड के हो ? आदि हेर्नुपर्छ । बजारमा दुई हजारदेखि १०–१२ हजार रुपैयाँसम्मको इन्डक्सन चुलो छ । मूल्यले पनि यसको गुणस्तर फरक पार्छ ।

अभियान बुढाथोकी विद्युतिय चुलो ‘अगेनो’का प्रवन्ध निर्देशक हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?