+
+

नेपाली महिला क्रिकेट टिमको व्यस्त तालिका, क्वालिफायर्सअघिको सिरिज सिक्ने अवसर

नमिता दाहाल नमिता दाहाल
२०८० साउन ३२ गते १९:२८

३२ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिम बिहीबार मलेसिया प्रस्थान गरेको छ ।

मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट र त्यसभन्दा अघि चार देशीय सिरिजका लागि महिला टिम मलेसिया गएको हो ।

महिला टिमले २२ अगष्टमा सुरु हुने चार देशीय सिरिज खेल्ने छ । नेपालका लागि यो सिरिज विश्वकप एसिया क्षेत्र छनोटका लागि निकै महत्वपूर्ण हुनेछ ।

नेपालका लागि यस पटक टिममा नयाँ र पुराना खेलाडीको समिश्रण छ ।

पहिलो पुस्ताकी सीता रानामगरदेखि पहिलो पटक टिममा परेका खुसी ढंगोल, पूजा महतो र रुवी पोदारसमेत टिममा छन् ।

पहिलो पटक नेपाली टिमसँग भ्रमणमा रहेका तीन नयाँ खेलाडीका लागि म्याचको माहोल बुझ्ने मौका हुनेछ ।

यो शृंखला खेल्ने चारै टोलीले एसिया क्षेत्र छनोट खेल्ने भएकाले विपक्षीको बलियो र कमजोर पक्ष राम्रोसँग बुझ्ने मौका पनि हुनेछ ।

नेपाल एसिया क्षेत्र छनोटको समुह ए मा छ । समुह एबाट चार देशीय सिरिजमा मलेसिया र नेपाल छन् । कुवेत र हङकङ भने समुह बी मा छन् ।

नेपालले गत जेठमा दुई वटा महत्वपूर्ण सिरिज खेल्यो । आयोजक मलेसियासँग पाँच खेल सम्मेलित टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको नेपालको आत्मविश्वास यस पटक निकै उच्च छ ।

त्यसयता हङकङमा भएको इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पनि नेपालले भाग लिई पाकिस्तान ए लाई ८७ रनमा अलआउट गारेको थियो । जसका कारण नेपालको आत्मबल निकै बलियो रहेको कप्तान रुबिना क्षेत्रीले बताइन् ।

उनले भनिन्, ‘हामीले मलेसिया सिरिज र इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा हामीले गरेको प्रदर्शनल् हामी बलियो छौं भन्ने भइसकेको छ । सबैभन्दा महत्वपूर्ण भनेको हरेक खेलाडीमा हामीले यस पटक गर्नै पर्छ भन्ने भावना आएकाले पनि राम्रो नतिजाको अपेक्षा गरेका छौं ।’

नेपालले चार देशीय सिरिजमा गरेको प्रदर्शनले नेपालले क्वालिफार्यसमा कस्तो प्रदर्शन गर्ला भन्ने अनुमान पनि लगाउन सकिन्छ ।

नेपाली महिला क्रिकेट टिममा अहिले उत्साह भरिनुको अर्को कारण राष्ट्रिय टिममा पहिलो पटक विदेशी ब्याटिङ प्रशिक्षक आएकी छिन् । उनको आगमनले टिम थप बलियो बनेको छ ।

‘पहिलो पटक हामीले ब्याटिङ कन्सल्टेन्ट पाएका छौं । उहाँसँग मिलेर योजना बनाइ रहेको छु । हामीले अहिले सबैकुरा मिलाएर प्रशिक्षण गरिरहेका छौं । आशा छ, हामीले केही सकरात्मक नतिजा ल्याउनेृछौं’, प्रशिक्षक सामसन जंग थापाले भने ।

नेपाली टिम पछिल्लो समय निकै व्यस्त छ । जेठमा भएका दुई प्रतियोगिता सकेयता खेलाडी आफैं पनि फिटनेसदेखि आफ्नो स्किल र प्रोसेसमा काम गरिरहेका थिए ।

यस पटक नेपालको सधैंको पिरलो फिटनेसमा भने समस्या नआउने विश्वास कप्तान र प्रशिक्षकको रहेको छ ।

नेपालको खेल

नेपालले अगष्ट २२ मा चार देशीय सिरिजको पहिलो खेल हङकङ विरुद्ध खेल्नेछ । २३ मा कुवेतसँग र २५ मा घरेलु टिम मलेसियासँगको तालिका छ ।

अगष्ट २६ मा फाइनल हुने यस सिरिजपश्चात ४ दिनको आरामपछि एसिया कप छनोट खेल्नेछ ।जसमा नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ । समूहका शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य छ । हरेक समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् ।

नेपालका लागि समुह ए मा प्रतिस्पर्धी घरेलु टिम मलेसिया नै हो । ६ महिनायता निकै व्यस्त रहेको मलेसियाले पछिल्लो समय राम्रो एक्सपोजर पाएको छ । तर नेपाल भने सबै प्रतिस्पर्धीलाई कमजोर नआँक्ने र हरेक खेललाई उत्तिकै महत्वका साथ खेल्ने योजनामा छ ।

‘हाम्रो लागि कोही पनि प्रतिस्पर्धी कमजोर हुने छैनन् । सबैलाई हामी सम्मान गर्दै हामी पनि कमजोर छैनौं र हामी कसैलाई कमजोर पनि ठान्दैनौं’, प्रशिक्षक थापाले भने ।

नेपालको खेल तालिका

चार देशीय सिरिज :
२२ अगष्टः नेपाल भर्सेस हङकङ
२३ अगष्टः नेपाल भर्सेस कुवेत
२५ अगष्टः नेपाल भर्सेस मलेसिया

आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट :

३१ अगष्टः नेपाल भर्सेस मलेसिया
१ सेप्टेम्बरः नेपाल भर्सेस बहराइन
३ सेप्टेम्बरः नेपाल भर्सेस भुटान
४ सेप्टेम्बरः नेपाल भर्सेस कतार
६ सेप्टेम्बरः नेपाल भर्सेस यूएई

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?