आखिर मान्छेले के चाहन्छ ? केका खातिर बाँच्छन् ? किन यत्तिका दौडधूप गर्छन् ? संभवत यसको एउटा लक्ष्य हुनसक्छ, पैसा ।
अर्थात मान्छे दिनरात पैसाको खोजीमा दौडन्छ । यो मान्छेको प्राथमिक आवश्यक्ता हुँदोरहेछ । जे–जसो गरेर भएपनि मान्छेले पैसा आर्जन गर्छन् । जब उसँग पैसा हुन्छ, तब अर्को आवश्यक्ता महसुष हुन थाल्छ । त्यो आवश्यक्ता हो, स्वास्थ्य ।
पैसा कमाउने चक्करमा मान्छे दिनरात यसरी घोटिएको हुन्छ कि उसले आफ्नो स्वास्थ्यको ख्याल नै राखेको हुँदैन । सुत्ने–उठ्ने, खाने–बस्ने तालिका गडबड भएको हुन्छ । योग, व्यायाम, ध्यान जस्ता विधि अपनाउने फुर्सद नै हुँदैन । आरमले खान पाउँदैनन् । मान्छेसँग पुग्दो धनदौलत त हुन्छ तर त्यसलाई भोग गर्ने शरीर भने कमजोर र शिथिल भइसकेको हुन्छ । त्यसैले मान्छेले पैसा कमाइसकेपछि बल्ल आफ्नो स्वास्थ्यप्रति हेक्का राख्न थाल्छन् ।
अनुशासित जीवनशैली, खानपानले मान्छेको स्वास्थ्य सुधार हुन्छ । स्वास्थ्य ठीक भएपछि फेरी मान्छेलाई तेस्रो आवश्यक्ता महसुष हुन थाल्छ, त्यो हो प्रतिष्ठा । मान्छेसँग धन छ, स्वास्थ्य ठीकठाक छ भने उसलाई प्रतिष्ठा, मान–सम्मानको भोक जाग्न थाल्छ ।
मान्छेलाई सामाजिक प्रतिष्ठा प्राप्त हुन्छ । के अब मान्छेले आफूलाई पूर्ण ठान्छन् ? सन्तुष्ट हुन्छन् ? पक्कै हुँदैनन् । किनभने यी सबैकुरा प्राप्त भइसकेपछि पनि मान्छेलाई चौथो आवश्यक्ता महसुष हुन्छ । त्यो आवश्यक्ता हो, आफ्नै जीवनको औचित्य ।
यो चरणमा पुगिसकेपछि मान्छेले आफैलाई बुझ्ने यत्न गर्छन् । म को हुँ ? यो रहस्य जान्न खोज्छन् । स्वयम्को उत्पति, उदेश्यबारे चासो राख्न थाल्छन् । आफ्नै जीवनको रहस्यबारे खोज, अध्ययन गरिसकेपछि मान्छे फेरी संसारतर्फ फर्कन्छ । उसले समाज, संसार र चराचर जगतको बारेमा सोच्न थाल्छ ।
आखिर मान्छे किन आफुलाई परिपूर्ण ठान्दैनन् ? किन एउटा आश्यक्ता पुरा भएपछि अर्को आवश्यक्ता देख्न थाल्छ । भनिन्छ, एउटा उचाईमा पुगेर हेर्दा अर्को क्षितिज देखिन्छ । मान्छे त्यो क्षितिजसम्म पुग्न चाहन्छ । जब त्यो क्षितिजमा पुग्छ, फेरी अर्को क्षितिज देखिन्छ । आकंक्षा र उदेश्य यसरी नै अग्लिदै र फैलिदै जाने हुन्छ । तब मान्छे एउटै कुरामा अडिएर बस्न सक्दैनन् ।
एउटा कुरा प्राप्त भएपछि फेरी अर्को कुराको चाह हुनुमा मान्छेको दोष छैन । यो त मान्छेको आफ्नो प्राकृतिक स्वभाव हो । तर, महत्वपूर्ण कुरा के छ भने एउटा चरणबाट अर्को चरणमा पुग्नका लागि ऊ पहिलो चरणमा सन्तुष्ट भएको हुनुपर्छ । यसलाई स्वभाविक र प्राकृतिक प्रक्रियाको रुपमा बुझ्न सकिन्छ ।
तर, कति मान्छे हुन्छ जो एउटै कुरामा जीवनभर मरिहत्ते गर्छन् । जस्तो कोही धनदौलत आर्जन गर्न चाहन्छन् भने बाँचुञ्जेल त्यसैको दौडधूपमा लाग्छन् । उसलाई कति धन भएपछि पुग्छ ? थाहा छैन । कति बैंक मौज्जात भएपछि पुग्छ ? थाहा छैन । कति घर–गाडी भएपछि पुग्छ ? थाहा छैन । उनीहरु आफ्नो जीवनको सम्पूर्ण उदेश्य नै पैसा कमाउने हो भनेर बुझ्छन् । यो असामान्य हो ।
त्यस्तै कोही स्वास्थ्यका लागि मात्र चासो दिइरहेका हुन्छन् । कस्तो खाने, के गर्ने, के नगर्ने आदिबारे सोचिरहन्छन् । त्यसभन्दा दायाँबायाँ केही सोच्दैनन् । स्वास्थ्यप्रति सजग हुनु राम्रो हो । तर, यो नै सबैथोक हो भनेर यसैमा मात्र तल्लिन हुनु राम्रो होइन ।
कति मान्छे भने मानप्रतिष्ठाको अधिक भोको हुन्छ र उसले जे-जसरी पनि त्यसैको प्राप्तिमा मात्र लागिरहन्छन् । जीवनमा मान, प्रतिष्ठा नै सबैथोक हो भनेर हत्ते गर्छन् । यो पनि असामान्य हो ।
एउटा चरणमा पुगेपछि मान्छे अर्को चरणमा उक्लन्छ, जसलाई प्राकृतिक मानिन्छ । यसको महत्वपूर्ण पक्ष के हो भने, मान्छे जति तह माथि उक्लदै जान्छ त्यती-त्यती जीवनको नजिक पुग्छ । जीवनको सारतत्व खोज्न, जीवनको बोध हुनथाल्छ । जीवन, जगत र प्राणीको अस्तित्वलाई महसुष गर्न थाल्छ ।
मान्छेले जब आफैलाई चिन्न सक्छ, तब उसले अरुलाई बुझ्न सक्छ । अरुको भावना, दुःख, सुख सबै बुझ्न सक्छ । जीवनको यो एउटा सर्वोत्तम चरण हो । किनभने यही चरणमा पुगेपछि मान्छे डर, भय, मोह, लोभ, आशक्ति, घृणाजस्तो विकारबाट मुक्त हुन्छन् । आफ्नो जीवनको मूल स्रोत पहिल्याउँछ र स्थायी आनन्द प्राप्त गर्छ । आफुलाई बुझ्छन्, जगतलाई बुझ्छन् । सार्थक जीवन बाँच्छन् ।
तर, दुःखको कुरा के छ भने अधिकांश मान्छे यो तहसम्म उक्लिन सक्दैनन् । उनीहरु कहिले धनको खोजीमा त कहिले प्रतिष्ठाको खोजीमा भौतारिन्छन् । अनि आफ्नै जीवनलाई बुझ्न नपाई यो लोकबाट विदा हुन्छन् ।
एउटा अहंम प्रश्न, के मान्छे धन, स्वास्थ जीवन र मान–प्रतिष्ठा आर्जन गरेपछि मात्र अर्को चरणमा उक्लिन्छन् । अर्थात यी सबैकुरा पुगिसरी भएपछि मात्र मान्छे आत्मिक चिन्तनमा लाग्छन् ?
कतिपयलाई आफ्नो दैनिकी गुजार्न पुग्ने धन पनि हुँदैन । कतिपय रोगी शरीर लिएर बाँचिरहेका हुन्छन् । कतिपयले मान–प्रतिष्ठा पाएकै हुँदैनन् । के यही स्थितीमा रहेर उनीहरु आत्मिक चिन्तनमा लाग्छन् ? जीवन र जगतको खोजमा लाग्छन् ?
संभवत कुनैपनि प्राप्तिले मात्र मान्छे अघाउँदैन । चाहे धन होस् वा प्रतिष्ठा । यी असीमित छन् र यसको कुनै अन्तिम विन्दु छैन । त्यसैले यस्ता आवश्यक्ता पुरा भएपछि मात्र मान्छे जीवनको सार्थकता पहिल्याउनतर्फ लाग्छ भन्ने हुँदैन सायद । किनभने प्राप्तिमा भन्दा त्यागमा मान्छेले जीवन सार भेट्न सक्छ । कुनैपनि स्तर वा चरणमा मान्छेले आफ्नो अस्तित्व बोध गर्न सक्छन् । चराचर जगतलाई बुझ्न सक्छन् । जीवनको सार भेट्न सक्छन् ।
प्रतिक्रिया 4